२ असोज , काठमाण्डौ ।
सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पी२ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ। नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी२ केवल सहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन।


उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा राख्दै पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ। पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ्ग तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्नेछन्।

पी२को मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ्ग अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको छ। यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ । साथै, एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ।
पी२मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ । डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीको दाबी छ।

पी२मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्। जसअनुसार ३.० केडब्लुएच ब्याट्रीले सहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। त्यस्तै ३.७ केडब्लुएच ब्याट्रीले सहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्मको रेन्ज दिनेछ भने ५.२ केडब्लुएच ब्याट्रीले सहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिने सुविधा पनि दिइएको छ। पी२ का ब्याट्री सिस्टमहरू विशेष रूपमा यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको छ।
पी२ मा उद्योगकै अग्रणीमध्ये एक मानिने ८ वर्ष वा ८० हजार किमिसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ, जसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वासलाई थप मजबुत बनाउने यात्रीको उद्देश्यलाई प्रतिविम्बित गर्छ। पी२मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ, जसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनुपर्दैन।
ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ।लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पी२ ले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ। तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ। सहरबाहिर यात्रा गर्ने पी२ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ्ग नेटवर्क विस्तार गर्दै छ।
पी२ले प्रविधिमा केन्द्रित राइडिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले ७–इन्च टीएफटी डिस्प्ले उपलब्ध गराएको छ, जसमा वायरलेस एप्पल कारप्ले÷एन्ड्रोइड अटोको सुविधा पनि समावेश छ । डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङ्ग सम्बन्धी जानकारी हेर्न सकिन्छ।
साथै, इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा उपलब्ध गराउँछन्। पी२को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटरमा फोरजी कनेक्टिभिटी प्रयोग गरी यात्रीको नेटवर्कसँग जोडिइरहन्छ। यसको मोबाइल एपमार्फत ग्राहकले लाइभ भेहिकल ट्रयाकिङ्ग, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ्ग र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्छन्।
स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधि पनि रहेको छ, जसले चाबीबिना स्कुटर चलाउने सुविधा प्रदान गर्छ। पी२मा विभिन्न सडक तथा राइडिङ्ग अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ्ग मोड, स्मार्ट चार्जिङ्ग मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन् ।
बारम्बार रोकिनुपर्ने सहरको ट्राफिक तथा लामो यात्राका क्रममा यसमा रहेको हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधाले दैनिक यात्रा अझ सहज बनाउन सहयोग गर्छन्। रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा स्कुटरको केही ऊर्जालाई पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्छ।
पी२मा क्लास डी हेडलाम्प जस्ता सुविधाहरू छन्, जसले अझ प्रभावकारी प्रकाश प्रदान गर्न डिजाइन गरिएको छ। त्यस्तै, रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिन्छ। कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध छन्, जसले स्कुटर पार्क गरेर राखिएको अवस्थामा थप सुरक्षा प्रदान गर्छ।
पी२ लाई ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार आफूअनुकूल बनाउन सक्ने गरी डिजाइन गरिएको छ । अनलाइन कन्फिगुरेटर मार्फत ग्राहकले स्कुटरको रङ्ग, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्छन् । कन्फिगुरेटरमार्फत ग्राहकले आफूलाई मनपर्ने पी२ को कन्फिगरेसन तयार गरी अर्डर गर्नुअघि नै त्यसको अनुभव र विकल्पहरू हेर्न सक्छन्।
काठमाडौंको टेकुमा रहेका सिप्रदी यात्रीको नयाँ एक्सपिरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउने तयारीमा छ। यहाँ ग्राहकले पी२ लाई प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन्। नाडा अटो शोका क्रममा पी२ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
३.७ केडब्लुएच र ५.२ केडब्लुएच भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तय गरिएको छ भने अरु सबै भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने तालिका रहेको छ। पी२ सिप्रदी यात्री कम्पनीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम हो। यसमा भेहिकल इन्जिनियरिङ्ग, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ।
पी२मार्फत नेपालमै विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ्ग गर्न सकिन्छ भन्ने देखाउँदै, विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमतासमेत समेट्न सकिने सिप्रदी यात्रीको उद्देश्य रहेको कम्पनीले जनाएको छ। नेपालमै डिजाइन र निर्माण भएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटु’ लाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढाउन बालेन सरकारले पनि सहयोग गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताइसकेका छन् । अर्थमन्त्री वाग्ले नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न गएको साउन ३१ मा काठमाडौंको बूढानीलकण्ठस्थित कारखानामा पुगेका थिए ।
सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ’यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन्।’तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री वाग्लेले भने, ’गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।’
नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए। यात्रीको स्थापना सन् २०१७ मा नेपालमै विश्वस्तरीय विद्युतीय सवारीसाधनहरू सुरुदेखि नै डिजाइन, इन्जिनियरिङ र निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गर्न गरिएको थियो ।
यात्रीले भनेको छ, सहरी यातायातको परिदृश्यलाई पुनःपरिकल्पना गर्ने यात्रीको दृष्टिकोण भनेको सम्पूर्ण दिगो उत्पादन तथा सेवाहरूको इकोसिस्टम सिर्जना गर्नु हो। विद्युतीय सवारीसाधनबाहेक, यात्रीले चार्जिङ वाल मोड्युल, फास्ट चार्जरहरू र यी सबैलाई यात्रि हबमा जोड्ने सहज सेवा संरचना पनि निर्माण गर्छ।



