ट्रम्प–सी भेटअघि ३ देशको शक्ति प्रदर्शन, चीनतर्फ बढ्यो नजर

६ असोज ८३, मंगलबार
Share this
695shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

अमेरिकाको न्युयोर्कबाट विश्व राजनीतिमा अर्थपूर्ण सन्देश बाहिरिएको छ । अमेरिका, जापान र दक्षिण कोरियाले एसियाली क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीबीच आफ्नो सहकार्य अझ कसिलो बनाउने प्रतिबद्धता दोहो¥याएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा बैठकका क्रममा सोमबार न्युयोर्कमा भएको त्रिपक्षीय भेटवार्तामा तीनै देशका विदेशमन्त्रीले क्षेत्रीय सुरक्षा, उत्तर कोरियाको आणविक कार्यक्रम, ताइवान जलडमरूमध्य र आर्थिक सुरक्षासहितका विषयमा छलफल गरेका हुन् ।

Advertisement

बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन सहभागी थिए । बैठकपछि जारी संयुक्त वक्तव्यमा अमेरिकाले जापान र दक्षिण कोरियाको सुरक्षाप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

अमेरिकाले जापान र दक्षिण कोरियाको रक्षा आफ्नो सैन्य शक्तिको बलमा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको हो । त्यसमा अमेरिकी आणविक क्षमतासहितको विस्तारित प्रतिरोध क्षमता पनि समेटिएको छ । पूर्वी एसियामा सुरक्षा चुनौती बढिरहेका बेला वासिङ्टनले आफ्ना प्रमुख एसियाली साझेदारलाई सुरक्षा प्रत्याभूति दिने आफ्नो नीति कायमै रहेको स्पष्ट पारेको छ ।

Advertisement

त्रिपक्षीय बैठकमा ताइवान जलडमरूमध्यको शान्ति र स्थायित्वलाई पनि विशेष महत्व दिइएको छ । तीन देशले जलडमरूमध्यमा कुनै पनि किसिमको अस्थिरता आउन नदिन शान्ति र स्थायित्व कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, ताइवानलाई उपयुक्त अन्तर्राष्ट्रिय संस्थाहरूमा अर्थपूर्ण सहभागिता जनाउन समर्थन गर्ने धारणा पनि उनीहरूले सार्वजनिक गरेका छन् । ताइवानलाई चीनले आफ्नो भूभागको हिस्सा मान्दै आएको छ । तर ताइवानले आफ्नै सरकार र प्रशासनमार्फत व्यवहारमा स्वशासित रूपमा काम गर्दै आएको छ ।

यही कारण ताइवानको विषय लामो समयदेखि अमेरिका र चीनबीचको सबैभन्दा संवेदनशील रणनीतिक मुद्दामध्ये एक रहँदै आएको छ । बैठकमा उत्तर कोरियाको आणविक कार्यक्रम पनि प्रमुख एजेन्डा बन्यो । अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहो¥याएका छन् ।

तीन देशले प्योङयाङलाई वार्तामा फर्कनसमेत आग्रह गरेका छन्। उत्तर कोरियाले आणविक हतियार तथा ब्यालिस्टिक क्षेप्यास्त्र विकासलाई निरन्तरता दिँदै आएको छ । यसले जापान र दक्षिण कोरियाको सुरक्षा चिन्ता बढाउँदै आएको छ भने अमेरिकाले पनि यसलाई पूर्वी एसियाको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ ।

त्यसैले उत्तर कोरियालाई लिएर वासिङ्टन, टोकियो र सोलबीच सुरक्षा समन्वय पछिल्लो समय अझ घनिभूत हुँदै गएको छ । सुरक्षा मात्र होइन, आर्थिक मोर्चामा पनि तीन देशबीच सहकार्य विस्तार गर्ने संकेत बैठकबाट आएको छ।

तीन देशले आर्थिक दबाब, गैर–बजारमुखी नीति तथा आपूर्ति शृंखलामा अवरोध सिर्जना गर्ने निर्यात प्रतिबन्धप्रति चासो व्यक्त गरेका छन् । महत्वपूर्ण प्रविधि र रणनीतिक सामग्रीको आपूर्ति सुरक्षित राख्न आपसी समन्वय बढाउने उनीहरूको भनाइ छ ।

यसैका लागि तीन देशबीच आर्थिक सुरक्षासम्बन्धी नयाँ त्रिपक्षीय परामर्श संयन्त्र सुरु गर्ने विषयलाई पनि स्वागत गरिएको छ । अमेरिका, जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीचको यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने आगामी शिखर वार्ताको ठीकअघि भएको हो ।

ट्रम्प र सीबीचको भेटमा व्यापार र आर्थिक सम्बन्धसँगै ताइवान तथा क्षेत्रीय सुरक्षाका विषयले पनि स्थान पाउने अपेक्षा गरिएको छ । त्यसैले न्युयोर्कमा भएको तीन देशको बैठकलाई अमेरिका–चीन सम्बन्धमा आउन सक्ने सम्भावित परिवर्तनप्रति आफ्ना साझेदारसँग समन्वय गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

यसैबीच, जापानी विदेशमन्त्री मोतेगी र अमेरिकी विदेशमन्त्री रुबियोबीच छुट्टै भेटवार्ता पनि भएको छ । दुई मन्त्रीले चीनसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्दै जापान–अमेरिका गठबन्धनलाई थप मजबुत बनाउने गरी नजिकबाट सहकार्य गर्ने सहमति गरेका छन् ।

यसरी, न्युयोर्कमा भएको तीन देशका विदेशमन्त्रीहरूको भेटले चीनको ताइवानमाथिको नजर, उत्तर कोरियाको आणविक चुनौतीदेखि ताइवान जलडमरूमध्यको स्थायित्व र आर्थिक सुरक्षासम्म साझा चासोका विषयमा सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ ।

अब भने अन्तर्राष्ट्रिय समुदायको ध्यान ट्रम्प–सी शिखर वार्ताबाट निस्कने सम्भावित सन्देश र त्यसले पूर्वी एसियाको सुरक्षा तथा आर्थिक सम्बन्धमा पार्न सक्ने प्रभावतर्फ केन्द्रित भएको छ । उता चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिकाको भ्रमणलाई लिएर ट्रम्प भने उत्साहित छन् ।

ट्रम्पले विमानस्थलमै गएर सीलाई स्वागत गर्ने भएका छन् । अर्को साता ह्वाइट हाउसको राजकीय भ्रमणमा जान लागेका चिनियाँ राष्ट्रपति सीलाई वासिङ्टन डीसीबाहिर रहेको विमानस्थल जोइन्ट बेस एन्ड्रयुजमै पुगेर ट्रम्पले स्वागत गर्ने योजना बनाएको एक वरिष्ठ अमेरिकी अधिकारीले पत्रकारहरूलाई जानकारी दिएको रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले भ्रमणमा आउने विदेशी नेताहरूलाई विमानस्थलमै पुगेर स्वागत गर्नु दुर्लभ मानिन्छ । वरिष्ठ अमेरिकी अधिकारीहरूका अनुसार, सीको भ्रमणका क्रममा ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, रोज गार्डनमा सैन्य समीक्षा तथा साँझ राजकीय भोज आयोजना गरिने बताइएको छ ।

राजकीय भोजमा अमेजनका जेफ बेजोस, अल्फाबेटका सुन्दर पिचाई, ओपनएआईका स्याम अल्टम्यान, एप्पलका टिम कुक, टेस्लाका एलन मस्क, एनभिडियाका जेन्सेन ह्वाङ र डेल टेक्नोलोजिजका माइकल डेलसहित प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

अधिकारीहरूका अनुसार, भ्रमणका क्रममा व्यापार, विश्व अर्थतन्त्रमा दुर्लभ खनिजको प्रवाह तथा एआई लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top