काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका पालिकामा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।समितिका सदस्यसचिव राज कटुवालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचन कार्यतालिकाअनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन सत्रसहित बन्द सत्र सुरु भई निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
बाँकी २४१ पालिकामा भने असोज ८ र ९ गते पनि अधिवेशन जारी रहने समितिले जनाएको छ। सम्बन्धित पालिकामा अधिवेशनको प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढाउन निर्वाचन समितिले जनाएको छ। यसैबीच, अधिवेशन चलिरहेको समयमा जल तथा मौसम विभागबाट प्राप्त मौसमसम्बन्धी जानकारीलाई ध्यानमा राख्दै निर्वाचन अधिकृतहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको छ।
विभागको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन गर्दा मौसमको अवस्थालाई ध्यानमा राखी अनुकूल समयमा मिलाउन निर्देशन दिइएको समितिले जनाएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत निर्धारित कार्यक्रमअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।







