काठमाडाैं । नेपाल मेडिकल काउन्सिलको भूमिकालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालको अध्यक्षतामा आज आयोजित छलफलमा काउन्सिलका पदाधिकारी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
छलफलका क्रममा डा. अग्रवालले काउन्सिल डाक्टरको परीक्षा लिई अनुमतिपत्र वितरण गर्ने निकाय मात्र नभई योग्य र दक्ष चिकित्सक उत्पादन गरी स्वास्थ्य क्षेत्रमा पठाउने मुलुकको स्वास्थ्य व्यवस्थाको संरक्षकसमेत भएको थियाे। कार्यक्रममा काउन्सिलका प्रतिनिधिहरूले गुणस्तरीय चिकित्सक उत्पादनका लागि ज्ञानमा आधारित परीक्षासँगै सीपमा आधारित परीक्षा प्रणालीसमेत लागू गर्नुपर्नेमा जोड दिए। उनीहरूले परीक्षाको विकेन्द्रीकरण, पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन तथा सूचना प्रविधिको सुदृढीकरण गर्नुपर्ने आवश्यकताबारे जानकारी गराए।
त्यसैगरी, चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण हुनेको प्रतिशत कम हुनुका कारण विद्यार्थी छनोट प्रक्रिया र चिकित्सा शिक्षाको गुणस्तरमा सुधार आवश्यक रहेको विषय पनि उठाइएको थियो। छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अन्य सहभागीहरूले समेत आ–आफ्ना धारणा राखेका थिए।

जवाफमा स्वास्थ्य सल्लाहकार डा. अग्रवालले जनताका गुनासाहरू छिटो–छरितो रूपमा सम्बोधन गर्दै मर्यादित स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सकको सुनिश्चितता गर्न काउन्सिललाई आग्रह गरे । काउन्सिलका जायज आवश्यकताहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले प्रविधि तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउने आश्वासन दिए ।





