८ असोज , काठमाण्डौ ।
अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।
महासङ्घले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो ।


महासङ्घले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासङ्घका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव र सक्रियताबाट योगदान पुग्ने जनाएको छ ।

पौडेल हाल नाडाका सचिव तथा अल्फा अटोमोटिभ का निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन् ।
उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन्।
नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन् ।
नाडा मार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पाट्र्सको प्रयोगलगायतका विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन् ।

नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पाट्र्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पौडेलले जोड दिँदै आएका छन् ।
महासङ्घको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ ।
समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको अनुभवले आगामी छलफल तथा पहलमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।



