रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग माग

९ असोज ८३, शुक्रबार
Share this
661shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग मागेका छन्। नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा मन्त्री लम्सालले रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन अस्थायी सडक तथा यातायातको व्यवस्था गर्न चीनको सहयोग आवश्यक रहेको बताएका हुन्।

Advertisement

भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै उनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन सरकारले दिनरात काम गरिरहेको जानकारी दिए। करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क र सहज आवतजावतका लागि पनि नाका सञ्चालन आवश्यक रहेको उनले बताए।

मन्त्री लम्सालले काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्र्याक खोल्ने काम अघि बढाइएको जानकारी पनि राजदूत वाङलाई दिए। उक्त कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि उनले आग्रह गरे। भेटमा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनका विषयमा समेत छलफल भएको थियो।

Advertisement

चिनियाँ राजदूत वाङले चीन नेपाललाई असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन्। उनले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे। राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी विशेष प्रस्ताव नेपाल सरकारले पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top