९ असोज , काठमाण्डौ।
बाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि अविरल वर्षा जारी छ । निरन्तरको वर्षाका कारण काठमाडौंका नदी तथा खोलामा पानीको बहाव बढेपछि सुरक्षा निकायले निगरानी बढाएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौड्यालको नेतृत्वमा सुरक्षा अधिकारीको टोलीले राजधानीका विभिन्न नदी तथा खोलाका पुल र जोखिम क्षेत्रको निरीक्षण गरेको छ।
प्रजिअ पौड्यालले समग्र उपत्यकाका नदी–खोलाको अवस्था सामान्य रहे पनि सम्भावित जोखिमको मूल्यांकन भइरहेको र सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालन गरिएको नेपाल टाइम्सलाई जानकारी दिए।

उनका अनुसार निरीक्षणका क्रममा दुई स्थानमा पानीको बहाव जोखिमको तहभन्दा माथि जान सक्ने देखिएको छ। तीमध्ये एक एमालेको पार्टी कार्यालयनजिकैको च्यासल पुल क्षेत्र हो। त्यहाँ नदीको बहाव बढेर पुलको सतहसम्म पुग्न थालेको उनले बताए।
मनोहरा, हनुमन्तेलगायतका खोलाको पानी बागमतीमा मिसिने भएकाले च्यासल क्षेत्रमा बहाव थप बढ्न सक्ने पौड्यालको आकलन छ। वर्षा नरोकिए जोखिम बढ्न सक्ने भन्दै उनले उक्त पुलको संरचनात्मक डिजाइनबारे पनि प्रश्न उठाएका छन्।

‘सरसर्ती हेर्दा यो पुलको स्ट्रक्चरल डिजाइनमै डिफल्ट आएको हो कि भन्ने लागेको छ,’ पौड्यालले भने, ‘पानीको बहाव कतिसम्म हुन सक्छ भन्ने अनुमान नै नगरी पुल बनाइएको देखियो।’उनका अनुसार अर्को जोखिम क्षेत्र टेकु दोभान हो, जहाँ विष्णुमती र बागमती नदीको संगम हुन्छ।
उक्त क्षेत्रमा बागमतीको बहाव बढिरहेको भन्दै नदी आसपासका नागरिकलाई सतर्क रहन र खोलाबाट टाढा जान आग्रह गरिएको उनले बताए। पौड्यालले यसअघि जोखिमपूर्ण अवस्थामा रहेका नदी–खोला किनारका सुकुम्बासी बस्ती हटाइसकिएकाले मानवीय जोखिम कम भएको बताए।
पुल तथा अन्य जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको र सुरक्षाकर्मीलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाइ छ।‘बल्खु खोला क्षेत्रमा पोहोर सालको भन्दा अहिले नदी करिब ६ देखि ७ फिट तल छ। पोहोर तरकारी बजारसमेत डुबेको थियो।
अहिले त्यस्तो नहोला भन्ने छ,’ पौड्यालले भने, ‘यद्यपि, हामीले उच्च सतर्कता अपनाउनुपर्छ र क्षति रोक्न सकिन्छ भनिरहेका छौँ।’ मानवीय जोखिम हुन नदिन उच्च सतर्कता अपनाइएको भन्दै उनले टोल–टोलमा माइकिङ गरेर नागरिकलाई सचेत गराइरहेको बताए। ‘नागरिक अलर्ट हुनेबित्तिकै ९० प्रतिशत उपलब्धि हासिल भइहाल्छ,’ उनले भने।
नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमतीसहित काठमाडौँ उपत्यकाका सबैजसो नदीमा आज ठूलो बाढी आएको छ।
बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुसहितका खोलामा आज ठूलो बाढी आएको हो। नदीमा जलसतह बढेपछि सुरक्षाकर्मीले नदी करिडोरका सडकमा माइकिङ गरेर मानिसलाई सचेत गराइरहेका छन्। कतिपय सडकमा आवतजावत बन्द गरिएको छ।
आज काठमाडौँसहित देशका अधिकांश जिल्लाका सबैजसो नदी तथा खोलामा बाढी उर्लिने र जोखिम बढ्ने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि बिहीबार दिउँसोदेखि नै निरन्तर पानी परिरहेको छ। काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ ।
लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो। नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।
श्सस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, साथै बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । विपद् तथा आपतकालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नम्बर १११४ तथा आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण दुई दिनदेखि लगातार वर्षा भइरहँदा देशभरका नदीनालामा पानीको सतह बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षा हुने प्रक्षेपण गरेको छ। बागतमी भएर काठमाडौं उपत्यकाको पानी निकास हुने चोभार गल्छीमा पनि पानीको सतह बढ्दै गएको छ।
बाढीपहिरोको कारण पृथ्वी, बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढेको छ। सवारी चाप बढेपछि मकवानपुर प्रशासनले काठमाडौँ प्रवेश गर्ने र बाहिने सवारी साधनका लागि समय तालिका निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी अब हेटौँडा–१ चौकीटोलबाट शुक्रबार (आज) दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। शनिबार (भोलि) बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म पनि यो सडक भएर काठमाडौँ जान सकिनेछ।
त्यस्तै, काठमाडौंँबाट हेटौँडा आउने सवारी सिमभञ्ज्याङ चौकीबाट शुक्रबार (आज) साँझ ७ बजेदेखि राति ११ बजेसम्म, शनिबार (भोलि) दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ।
प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको छ। यात्रुबाहक सवारीका हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्र त्रिभुवन राजपथ प्रयोग गर्न अनुमति दिइएको छ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खसेपछि यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन।
निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उनले बताए। चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएको छ। सडक भासिएपछि यहाँ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसअघि पनि उक्त स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो। यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुङ्गामाटो खसेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ।
गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी छ।
तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन। यसले तत्काल सडकमा गाडी सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ। जोखिम बढेपछि हिजो रातिदेखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
आज बिहानदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारीसाधन सञ्चालन हुन दिएको छैन। आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका
सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक छ भने पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि वर्षासँगै ती नदीमा बाढी बढ्दै जाने प्रक्षेपण गरिएको छ।
यसैगरी आज काठमाडौँसहित देशका अधिकांश जिल्लाका अन्य ससाना नदीमा पनि बाढी उर्लिने र जोखिम हुने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। बाढी महाशाखाले भनेको छ, ‘आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर ,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
यस्तै आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।



