११ असोज , काठमाण्डौ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा वर्षा हुने क्रम आजपनि जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमतर्फ मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ।
मनसुनी वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा परिरहेको छ। यी मौसमी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भूभागमा बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लाग्ने पूर्वानुमान गरिएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ।
कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान छ। यद्यपि स्थानीय रूपमा मौसममा परिवर्तन आउन सक्ने भएकाले केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा थोरै स्थान तथा कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमानअनुसार आज राति पनि पश्चिम नेपालमा मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन।
सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिमको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुनसक्नेछ।
कोशी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने मौसम पूर्वानुमान गरिएको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। यसैबीच, बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ।
उक्त प्रणाली सुरुमा बलियो न्यूनचापीय प्रणालीकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको मौसम विश्लेषणमा उल्लेख छ।
यस प्रणालीको प्रभाव र देशमा रहेको मनसुनी तथा पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको गतिविधि बढ्ने देखिएको हो। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीपहिरोमा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो । विपद्मा परी दुई जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीपहिरो प्रभावित विभिन्न स्थानबाट हालसम्म ४०७ जनाको उद्धार गरिएको छ । सडक डिभिजन कार्यालयले ११ सडकखण्डको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक अवरुद्ध छ । पहिरो पन्छाउनका लागि मेसिन परिचालन भइसकेको छ ।
पृथ्वी राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त राजमार्गका कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे, चालिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध छ । यता, बिपी राजमार्गमा माम्ती, दाउन्ने कालोपुल, चारसयबेसी, कटुन्जे, चौकीडाँडा लगायतका क्षेत्रमा सडक अवरुद्ध छ ।
पहिरो तथा डाइभर्सन बगेका स्थानमा मर्मत कार्य भइरहेको बताएको छ । थप क्षति नभएमा आज साँझसम्म सञ्चालनमा आउने बताइएको छ । कान्ति राजमार्गमा भने पहिरो पन्छ्याएर सडक सुचारु गरिएको सडक विभागले जनाएको छ । मध्यपहाडी राजमार्गमा घोडाबाँधे हटिया खण्डको नरेठाँटी, काफलठुटा चौराह लगायतका क्षेत्र प्रभावित छन् ।
उक्त राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । अवरोध हटाउनका लागि मेसिन परिचालन गरिएको छ । यता, कालीगण्डकी करिडोरमा लामो दूरीका सवारीसाधनलाई अनुमति दिइएको छैन । स्थानीय सवारीसाधन एकतर्फी सञ्चालनमा रहेको छ ।
यस्तै, कालीगण्डकी करिडोरमा पनि स्थानी यातायात एकतर्फी खुला छ भने लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ । तमोर करिडोरका छरुवा खोला, नाव खोला, रानीगाउँ खण्ड प्रभावित छन् । खोलाको बहाव उच्च रहेकाले यातायात सञ्चालन हुन नसेकेको सडक विभागले जनाएको छ ।
बहाव कम हुनासाथ सडक सञ्चालनका लागि मेसिन तैनाथ अवस्थामा छ । यता, राप्ति राजमार्ग पनि पहिरो कारण अवरुद्ध छ । अवरोध हटाउने काम भइरहेको उनले बताए । कर्णाली राजमार्गको गगने खोला, राँका क्षेत्र,दहीखोला प्रभावित छन् । सडक अवरोध हटाउने काम भइरहेको सडक विभागले जनाएको छ ।
यस्तै, भालुवाङ चकचके लिवाङ सडक आंशिक रूपमा अवरुद्ध छ । बेसीसहर चामे सडक पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ । लगातारको वर्षाका कारण बागलुङमा बाढीपहिरो तथा नदी कटानका कारण सडकमा क्षति पुगेपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग विभिन्न ग्रामीण क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको छ।
यस्तै लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पसेको छ। बाढीका कारण करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का ४८३ घर तथा तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर बाढीको पानीबाट प्रभावित भएका हुन्। शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताएका छन्।
बाढी प्रभावित परिवारका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने तयारी रहेको नगरप्रमुख माझीले जानकारी दिएका छन्।
प्रतिकूल मौसमको असर पर्यटन क्षेत्रमा समेत परेको छ। सम्भावित विपद् जोखिम र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा असहज हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकका लागि प्रवेशाज्ञा अर्थात् परमिट वितरण अस्थायी रूपमा बन्द गरेको छ।
नदी तथा खोलाको बहाव बढ्नसक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सावधानी अपनाउन सचेत गराइएको छ भने चट्याङको सम्भावना भएका बेला खुला स्थानमा नबस्न तथा विद्युत् र विद्युतीय उपकरण प्रयोग गर्दा समेत सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसममा परिवर्तन भइरहने भएकाले समय–समयमा जारी हुने अद्यावधिक सूचना हेर्न आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न तथा नदी र खोलाको बहाव बढेको अवस्थामा किनार तथा पुल आसपास नजान सर्वसाधारणलाई सुझाव दिइएको छ।



