काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको घटनाप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्। पोखरेलले जबरालाई कुनै प्रमाणबिना पक्राउ गरिएको दाबी गर्दै उक्त घटना नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गरेका छन्। गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उनको टिप्पणी छ। उनले सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन्।
जबरालाई गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीले हालसम्म उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।



