१२ असोज , काठमाण्डौ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले होर्मुज जलमार्गमा दोस्रो अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको दाबी गरेको छ । आईआरजीसीका प्रवक्ता ब्रिगेडियर जनरल होसेन मोहेबीले सामाजिक सञ्जाल एक्समा अमेरिकी अन्डरवाटर यातायातका साधनका लागि आईआरजीसी नौसेनाको ‘सिकार स्थल’ बनेको दाबी गरे ।
उनले यसपटक ‘एमके–१८ मोड २ किङफिस’ ड्रोन कब्जा गरिएको बताउँदै यो सोनार र सटीक नेभिगेसन प्रणाली जडित करोडौँ डलर मूल्यको उन्नत स्वचालित ड्रोन भएको बताएका छन् । आईआरजीसीले यसअघि उक्त जलयानलाई ‘रेमस ६००’ का रूपमा पहिचान गर्दै त्यसमा रहेको डेटा निकाल्न आफ्ना विज्ञले काम गरिरहेको जनाएको थियो ।

इरानी अर्धसरकारी समाचार संस्था फार्सका अनुसार, आईआरजीसी नौसेनाले गुप्तचर तथा विद्युतीय युद्ध टोलीको समन्वयमा सञ्चालन गरिएको कारबाहीमार्फत जलमार्गमा निगरानीका लागि प्रयोग भइरहेको अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ ।
अमेरिकी सेनाले भने होर्मुज जलमार्गमा आफ्नो अन्डरवाटर जलयान इरानले कब्जा गरेको दाबी अस्वीकार गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले अल जजिरासँग कुरा गर्दै अमेरिकी सेनाले आफ्ना सबै सञ्चालनगत ड्रोन सम्पत्तिमाथि पूर्ण नियन्त्रण कायम राखेको बताएका छन् ।

उनले आईआरजीसीको दाबीलाई निराशाजनक बताएका छन् । यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग पुनः खोल्ने कार्य इरानका सर्त पूरा भएपछि मात्र अघि बढाइने बताएका छन् । उनले इरान आफ्ना अधिकारबाट पछि नहट्ने तर कूटनीति र वार्ताको ढोका खुला रहेको स्पष्ट पारे ।
इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा होर्मुज जलमार्ग पुनः खोल्ने लक्ष्यसहित सातदिने योजना अघि सारेको थियो । कतारको मध्यस्थतामार्फत अमेरिकासमक्ष पु¥याइएको उक्त योजनामा पश्चिम एसियामा जारी शत्रुतापूर्ण गतिविधि अन्त्य, युद्धविरामका सर्त पालना, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा, तेलमाथिको प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक घेराबन्दी अन्त्य गर्नुपर्ने माग राखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानको प्रस्ताव अस्वीकार गरेका थिए । इरान ‘नराम्रोसँग हारिरहेका’ कारण तत्काल होर्मुज खोल्ने सम्झौता गर्न चाहेको उनले जिकिर गरेका थिए । ट्रम्पको प्रतिक्रियाबारे अराघचीले इरानले उनको प्रारम्भिक धारणा थाहा पाए पनि मध्यस्थकर्ताबाट आधिकारिक जानकारी नपाएको बताए ।
आधिकारिक धारणा प्राप्त भएपछि त्यसैका आधारमा निर्णय लिइने उनको भनाइ छ । यसैबीच, इरानले होर्मुज व्यवस्थापनका निम्ति गठन गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)ले जहाजहरूलाई ‘गैरकानुनी मार्ग’ प्रयोग नगर्न चेतावनी दिएको छ ।
नियम उल्लंघन गर्ने जहाज तथा कम्पनीमाथि आर्थिक र अरू कारबाही हुन सक्ने उसले जनाएको छ । यसैबीच अमेरिकी बमबारीमा भग्नावशेषमुनि पुरिएर घाइते भएका मोज्तबा खामेनेईलाई कसरी उद्यार गरिएको थियो भन्नेबारेमा इरानको सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको ‘असम्बली अफ एक्सपट्र्स’का सदस्य मेहदी हेदारीले बताएका छन् ।
सो बेला भग्नावशेषबाट बाहिर निकालेर उनलाई उपचारका निम्ति एक अस्पतालमा पु¥याइएको थियो । त्यसपछि उनलाई अज्ञात स्थलमा सारिएको र सार्वजनिक रूपमा नदेखिएको न्युयोर्क पोस्टले जनाएको छ ।
मार्च ८ मा मोज्तबालाई सर्वोच्च नेता चयन गरिएको र इरानी राज्यनियन्त्रित टेलिभिजनबाट घोषणा नभएसम्म उनलाई त्यसबारे जानकारी समेत नहुन सक्ने अवस्था रहेको हेदारीले बताए । आक्रमणका क्रममा सर्वोच्च नेता चयन गर्ने सभालाई समेत निसाना बनाइएको हेदारीले बताएका छन् ।
कोमस्थित सभाको सचिवालयमा गरिएको बमबारीमा आठजनाको मृत्यु हुनुका साथै नयाँ सर्वोच्च नेता चयनसम्बन्धी रिपोर्ट तथा सिफारिस नष्ट भएको न्युयोर्क पोस्टले जनाएको छ । सभाका सदस्यहरूले चयन प्रक्रियाका निम्ति गोप्य कक्षमा प्रवेश गर्नुअघि कागजमा आफ्नो मत लेखेका थिए ।
मोज्तबाको नाम प्रस्ताव गर्ने आफू पहिलो सदस्य भएको उनले बताएका छन् । उनका अनुसार, सभाका सदस्यहरूले मोज्तबालाई इस्लामिक गणतन्त्रको नेतृत्व गर्न आवश्यक धार्मिक योग्यता, न्यायिकता र देश सञ्चालन गर्ने क्षमता भएको निष्कर्ष निकालेका थिए ।
उक्त बैठकमा मोज्तबाले ५९ मध्ये ५० मत प्राप्त गरेका, आयतोल्लाह अलिरेजा अराफीले आठ र एक सदस्य तटस्थ बसेका न्युयोर्क पोस्टले जनाएको छ । त्यसअघिसम्म मोज्तबाले कुनै औपचारिक राजनीतिक पद नसम्हाले पनि आफ्ना बुवा तथा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका सल्लाहकारका रूपमा काम गरेका जनाइएको छ ।
यसैबीच, अमेरिकी हमलापछि मोज्तबाको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी गरिँदै आएको छ । अमेरिकी गुप्तचर मूल्यांकनमा उनी हमलामा गम्भीर रूपमा घाइते भएका जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोज्तबा गम्भीर रूपमा घाइते भए पनि जीवित रहेका विश्वास व्यक्त गरेका थिए ।
तर, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले यसै साता फक्स न्युजसँगको अन्तर्वार्तामा मोज्तबा ‘पूर्ण रूपमा’ स्वस्थ रहेको बताएका छन् । पछिल्लो महिना मोज्तबासँग करिब सात घण्टा भेटवार्ता गरेको उनले उल्लेख गरे । पेजेस्कियानले आफूहरूबीच विभिन्न विषयमा छलफल भएको बताएका छन् ।



