कर्म

१३ असोज ८३, मंगलबार
Share this
713shares

१३ असोज, काठमाडौं ।

Advertisement

कर्म

विवाहित भन्दैमा
हरेक मोडमा सहुलियत नै चाहिने?
सम्बन्धको नाम ठूलो छ रे,
त्यसैले बाटो पनि आफ्नै हुने?

Advertisement

अविवाहित भन्दैमा
हरेक भार उसैको काँधमा हाल्ने?
ऊ एक्लो छ रे,
त्यसैले उसको मौनतालाई सधैं सहमति मान्ने?

आफ्नो सहजताको निम्ति
अरूको असहजता किन रोज्ने?
सायद आफ्नै सुख , अरूको दुःखभन्दा नजिक देखिन्छ

Advertisement

कसैलाई मर्कामा पारेर पाएको खुसी साँच्चै खुसी हो त?
मनले प्रश्न नगरेसम्म खुसी जस्तै लाग्न सक्छ,
तर मनको कुनामा
एउटा आवाज त बसिरहन्छ नि ,यो खुसीको मूल्य कसले तिर्याे?

सम्बन्धको आड लिएर
नियमलाई अलि मोड्न खोज्दा,
नियमले पनि नाता हेर्छ र?
अहँ, कहाँ हेर्छ र !
नियमको आँखामा न कोही आफ्ना हुन्छन्, न पराइ
सबैका लागि एउटै तराजु हुन पर्ने हैन र?

आज कसैको मौनतालाई
कमजोरी सम्झेर अघि बढ्यौ भने,
भोलि त्यही मौनता  ऐनाझैँ अगाडि उभिएला कि?
उभिन सक्छ नि, हैन र?

किनकि हरेक मौनता हार हैन,
केही मौनता त,समयलाई बोल्न दिएको
सबैभन्दा सुन्दर अवसर हुन भन्ने बुझदैनौ?

अरूको भाग अलिकति काटेर
आफ्नो भाग ठूलो बनाउदा,
त्यसलाई सफलता भनौँ कि के ?
नाम जे दिए पनि हुन्छ,
तर अरूको आँखाबाट झरेको आँसु

यदि आफ्नै खुसीमा मिसिएको छ भने,
त्यो खुसीले मनलाई कति बेरसम्म निश्चिन्त राख्ला र?

अनि कर्म?
कर्म कहाँ जान्छ र ?
कतै जाँदैन!
न बाटो बिराउँछ,
न ढोका बिर्सन्छ
बस चुपचाप बस्छ,
समयको चाल हेर्छ,
र जब ऋतु फेरिन्छ,
हामीले बिर्सिसकेका कुराहरू
एक–एक गरी सम्झाउन आउँछ
त्यसैले आज
कसैलाई पन्छाएर
आफ्नो बाटो सजिलो बनाउँदै गर्दा
एकपटक आफैंलाई सोध,
यो सहजता साँच्चै मेरो हो,
कि कसैको असहजताको मूल्यमा
मैले पाएको सुविधा?

उत्तर सायद आज नआउला,
समयले पनि केही नभन्ला,
तर समयको आफ्नै बानी हुन्छ
ढिलो बोल्छ,
तर सत्य बोल्छ
बिउ माटोले बिर्सिए पनि,
ऋतुहरूले बिर्सिँदैनन्
कर्मले बिर्सिएजस्तो गरे पनि,
हिसाबले बिर्सिँदैन
त्यसैले,
सम्बन्धलाई सहुलियतको सिँढी नबनाऊ,
कसैको सरलतालाई कमजोरी नठान,
र कसैको मौनतालाई
सधैंका लागि आफ्नो अधिकार नमान
जिन्दगी लामो छ,
बाटाहरू धेरै छन्,
ऋतुहरू फेरिनै छन्,
आज तिम्रो पालो होला,
भोलि अरूको होला
तर अन्तिममा
सबैभन्दा शान्त भएर उभिनेछ त्यही तिम्रा,कर्म
र म?
मलाई मेरो कर्म थाहा छ,
त्यसैले कसले के ग¥यो भन्ने
हरेक हिसाब बोकेर हिँड्नु छैन,
मेरो कर्म मेरो साक्षी छ,
समय ले नै उत्तर दिनेछ,
बाँकी हिसाब,
कर्मले आफैं गर्नेछ ,
चेतना भया!

=संचिता श्रेष्ठ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top