यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

१६ असोज ८३, शुक्रबार
Share this
718shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

यस वर्षको बडादशैँ नजिकिरहेको समयमा नयाँ नोट साट्नको लागि नेपाल राष्ट्र बैंकले सहर र सहज व्यवस्थापन मिलाएको छ। नयाँ नोट साट्न विगत जस्तो निश्चित दिन कुर्न नपर्ने भएको छ । राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ।

आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

Advertisement

यसको अर्थ नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरी छुट्टै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्ने भएको छ। केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार केन्द्रीय बैंकसँग पर्याप्त नोट रहेकाले मागअनुसार सटही सुविधा दिइनेछ।

नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत उपलब्ध गराइने उनले बताए। राष्ट्र बैंकका बैंकिङ काउन्टरबाट कार्यालय समयमा नोट सटही गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले पनि नयाँ तथा खुद्रा नोट लगिसकेकाले आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्।

Advertisement

हाल राष्ट्र बैंकबाट एक व्यक्तिले दुई बन्डलसम्म नोट सटही गर्न पाउने व्यवस्था छ। एक बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट हुन्छन्। दाहालका अनुसार व्यक्तिगत प्रयोजनमा नयाँ नोट उपलब्ध नगराई व्यापारिक प्रयोजनमा नयाँ तथा सुकिला नोट सटही गरिँदै आएको छ।

यस वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरणसम्बन्धी छुट्टै सार्वजनिक सूचना जारी नगरे पनि ३ दिनदेखि सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको छ । केन्द्रीय बैंकदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामध्ये केहीले ग्राहकलाई नयाँ नोट दिन थालिसके, केहीले तयारी गर्दै छन् ।

गत वर्षको दशैँमा राष्ट्र बैंकले २०८२ भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको सूचना निकालेको थियो । राष्ट्र बैंकले कोभिडदेखि नै दसैँमा बढी माग हुने नयाँ नोटलाई चाडपर्वमा मात्रै नभई नियमित सटही सुविधा दिँदै आएको छ ।

सर्वसाधारणले चाहेमा अरु जुनसुकै बेला पनि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागबाट सुकिलो नोट लिन सक्ने व्यवस्था छ । अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन नोट साट्न सकिनेछ ।

काठमाण्डौ उपत्यकामा थापाथलीमा हरेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, विगत वर्षजस्तै दसैँ–तिहारलाई मात्र लक्षित गरी सर्वसाधारणको लाइन राखेर नयाँ नोट बाँड्ने परिपाटी अन्त्य भइसकेको छ । नियमित रूपमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई सुकिला नोटहरू उपलब्ध गराउँदै आएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक केशवप्रसाद तिमिल्सिना बैंकले वर्षभरि नै नोट साट्ने व्यवस्था गरिरहेकाले दसैँका लागि मात्रै भनेर छुट्टै सूचना जारी नगरिएको बताउँछन् । उनले भनेका छन्, विगत दुई–तीन दिनदेखि नोट साट्ने सर्वसाधारणको चाप अलि बढेको छ भने सर्वसाधारणका साथै वाणिज्य बैंकहरूमार्फत पनि सुकिलो नोट बजारमा पठाइरहेका छौँ ।

यस्तै दसैँमा आम सर्वसाधारणले १ सयको खुद्रा नोटका लागि राष्ट्र बैंक तथा बैंकहरूको शाखा कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था मिलाउन भनिएको थियो । राष्ट्र बैंकले एटीएम मेसिनहरूबाटै सय रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ २९ गते पत्राचार गरेको थियो ।

राष्ट्र बैंकका प्रवक्ता पौडेलका अनुसार, नेपालमा सञ्चालनमा रहेका ५ हजारभन्दा बढी एटीएममध्ये प्राविधिक रूपमा सम्भव र सहयोग गर्ने एटीएम मेसिनहरूबाट १०० रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंकहरूलाई भनिएको छ ।

“ग्राहकहरूले आवश्यकताअनुसार, १०० रुपैयाँका नोटहरू प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्राविधिक रूपमा तयार एटीएमहरूबाट यो सुविधा उपलब्ध गराउन भनेका हौँ,” उनले भने । सबै बैंकले यसलाई कार्यान्वयन गरिसकेका छैनन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुछ्रे बैंकका सीईओ सन्तोष कोइराला सबै एटीएममा साना नोट राख्ने क्यासेट वा बक्सको क्षमता नहुन सक्ने भएकाले देशैभरका सबै एटीएमबाट यो सुविधा उपलब्ध नहुन पनि सक्ने बताउँछन् ।

बैंकहरूले एटीएमबाट पनि १०० रुपैयाँका नोट निकाल्न सकिने गरी व्यवस्थापन गरिरहेका छन् । माछापुच्छ्रे बैंकले विशेष गरी काठमाडौं उपत्यकालगायत सम्भव भएसम्मका एटीएमहरूमा १०० को नोट राख्ने व्यवस्था मिलाइँदै गरेको जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top