१५ असोज , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भने । यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताउँदै विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाएका छन् ।

युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको अनुसन्धान भइरहेको बताएका छन् । नेतान्याहुले सह–पाइलट ओमानी नागरिक भएको र इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा पनि जाँच हुने बताए ।
अनुसन्धान जारी रहेकाले इजरायलका लागि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ । यता अमेरिकी सैन्य उपस्थिति मध्यपूर्वमा बढिरहेका बेला ट्रम्पको इरानविरुद्धको पछिल्लो चेतावनी आएको हो । ‘एक्सियोस’का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने युएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ गइरहेको छ ।

अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति विस्तार गरेको हो । अमेरिकाले दुई हजारभन्दा बढी म्यारिन सैनिक र ‘थियोडोर रुजवेल्ट’ क्यारियर स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ पठाएको समाचारमा उल्लेख छ । अधिकारीका अनुसार विमानवाहक युद्धपोत यूएसएस ‘थियोडोर रुजवेल्ट’ र त्यससँगै रहेका सहयोगी युद्धपोतहरू सान डिएगोबाट मध्यपूर्वतर्फ प्रस्थान गरिसकेका छन् ।
म्यारिन एक्सपिडिसनरी फोर्स पनि यसै साताको सुरुमा आफ्नो आधार शिविरबाट प्रस्थान गरेको एक उच्च अमेरिकी सैन्य अधिकारीले बताएका छन् । अमेरिकाले नोभेम्बरको अन्त्यसम्ममा इरान वरपर तीनवटा विमानवाहक युद्धपोत र दुईवटा एम्फिबियस समूह तैनाथ गर्ने अपेक्षा गरिएको ती अधिकारीले बताए ।
मध्यपूर्वमा अमेरिकी सैन्य शक्तिको यो स्तरको केन्द्रिकरणले वासिङ्टनलाई तेहरानसँग सम्भावित टकरावका लागि ‘धेरै विकल्प’ उपलब्ध गराउने ती अधिकारीको भनाइ छ ।
यसले पश्चिम एसियामा इरानसँगको युद्ध थप चर्किने संकेत देखिएको हो । यसैबिच स्ट्रेट अफ होर्मुजमा केही तेल ट्यांकरमाथि आक्रमण भएको इरानको दाबी र यमनमा हुथी विद्रोही विरुद्धको सैन्य गतिविधिले क्षेत्रीय तनाव थप बढाएको छ ।
एक अमेरिकी अधिकारीले इरान वरपर तीनवटा विमानवाहक समूह परिचालनको तयारी भइरहेको बताएका छन् । तीमध्ये यूएसएस रुजभेल्ट पनि रहेको छ । यसका साथै दुईवटा ल्यान्डिङ समूहलाई समेत त्यस क्षेत्रमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
यता विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा तनाव बढेको छ । इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले पछिल्ला दिनमा उक्त क्षेत्रमा केही तेल ट्यांकरमाथि आक्रमण भएको जनाएको छ । आक्रमणमा संयुक्त अरब इमिरेट्ससँग स्वामित्व वा चार्टर सम्बन्ध भएका तीनवटा ट्यांकरसमेत परेको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ ।
अल रुबैस, सिनबाड र मर्सिन प्रोसपेरिटी नामका ट्यांकरले पछिल्ला दुई महिनामा धेरैपटक स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेको इरानी पक्षले जनाएको छ । यी तीनवटै जहाज पर्सियन गल्फ स्ट्रेट अथोरिटीको पछिल्लो ‘आपत्ति नभएको’ सूचीमा समेत रहेको दाबी गरिएको छ ।
होर्मुजमा जहाजमाथि हुने कुनै पनि ठुलो स्तरको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा असर पार्न सक्छ । त्यसैले यस क्षेत्रमा बढेको सैन्य तनाव केवल अमेरिका र इरानबीचको द्वन्द्वमा सीमित नरही अन्तर्राष्ट्रिय व्यापार र समुद्री सुरक्षासँग पनि जोडिएको छ ।
इरानसँग जोडिएको क्षेत्रीय तनावको अर्को महत्वपूर्ण मोर्चा यमन बनेको छ । हुथी विद्रोहीविरुद्ध लडिरहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले थप जनशक्ति र स्रोत परिचालन गर्ने निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठक गरेको छ ।
यमनका राष्ट्रपति नेतृत्वको परिषद्का प्रमुख रशाद अल–अलिमीले नागरिकहरूलाई आफ्नो क्षमताअनुसार योगदान गर्न आह्वान गरेका छन् । साथै हुथी लडाकुहरू सरकार पक्षमा आएमा आममाफी दिने प्रस्तावसमेत अघि सारेका छन् ।
साउदी अरबले यमन सरकारलाई सैन्य अभियानका क्रममा ५ करोड ९० लाख डलरको बजेट सहयोग स्वीकृत गरेको पनि यमन पक्षले जनाएको छ । यमन सरकार र हुथीबीचको संघर्ष तीव्र भइरहेका बेला यो सहयोग आएको हो ।
संयुक्त राष्ट्रसंघका यमनका विशेष दूत हान्स ग्रुन्डबर्गले ताइजमा बढेको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार त्यहाँ मानवीय क्षति, पूर्वाधारमा क्षति र सडक बन्द भएका खबर आएका छन्। ताइज यमनको तेस्रो ठुलो सहर हो र पछिल्ला द्वन्द्वबाट विस्थापित धेरै मानिस त्यहाँ आश्रय लिइरहेका छन् ।
उनले सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा गर्न तथा मानवीय सहायता सुरक्षित रूपमा पुग्ने वातावरण बनाउन आह्वान गरेका छन् । यसैबिच अमेरिकाले इरानसँग जोडिएको वित्तीय सञ्जालमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बरमा इरानले ट्यांकरमा कुनै पनि कच्चा तेल नलोड गरेको दाबी गरेका छन् ।
यसरी इरानमाथि अमेरिकी सैन्य दबाब, होर्मुजमा बढ्दो समुद्री तनाव र यमनमा हुथीविरुद्ध तीव्र बन्दै गएको संघर्षले मध्यपूर्वको युद्ध बहुआयामिक बन्दै गएको देखिएको छ । क्षेत्रीय तनाव थप विस्तार भए त्यसको प्रभाव समुद्री सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत पर्न सक्ने अवस्था बनेको छ ।



