मोदीविरुद्ध विपक्षीहरुले देखाए विशाल शक्ति,जन्तर–मन्तरबाट ठूलो चुनौती

१६ असोज ८३, शुक्रबार
Share this
748shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय एकपछि अर्को विशाल प्रदर्शनको सामना गरिरहनु परेको छ । केही समयअघि मात्रै कक्रोच जनता पार्टीको मागहरु सम्बोधन गरेको मोदी सरकारसामु अब फेरि विपक्षीहरुको मोर्चाले घेरा हाल्न थालेको छ ।

अघिल्लो पटक युवाहरुको आन्दोलनको निशानमा शिक्षा मन्त्री थिए भने अहिले युवाहरुसहित विपक्षीहरुले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै राजधानी नयाँ दिल्लीमा प्रदर्शनमा उत्रिएका छन् । यसक्रममा आज प्रहरीले १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले जन्तर–मन्तर क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरेको छ । प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कार्यशैली र स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) अन्तर्गत मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् ।

उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् । निर्वाचन आयोगले भने एसआईआरको उद्देश्य मतदाता सूचीमा रहेका दोहोरो, अयोग्य वा अन्य त्रुटिपूर्ण नाम हटाउनु रहेको बताउँदै आएको छ ।

Advertisement

शुक्रबार बिहान जंतर–मन्तरमा प्रदर्शनकारीहरू भेला हुन थालेपछि प्रहरीले क्षेत्रलाई चारैतिरबाट घेरा हालेको थियो । दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको र नयाँ दिल्ली जिल्लामा सार्वजनिक जमघट नियन्त्रणसम्बन्धी आदेश लागू गरिएको थियो ।

त्यसका बाबजुद विभिन्न समूहका प्रदर्शनकारीहरू जंतर–मन्तर पुग्ने प्रयास गरेका थिए । प्रहरीले जंतर–मन्तर क्षेत्र खाली गराउने क्रममा १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रदर्शन आयोजक तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूलाई दिल्लीका विभिन्न प्रहरी कार्यालयमा लगिएको बताइएको छ । नियन्त्रणमा पर्नेमा आप कार्यकर्ता, यूथ कांग्रेसका सदस्य तथा वामपन्थी विद्यार्थी संगठनका कार्यकर्ता पनि छन् । आप दिल्ली अध्यक्ष सौरभ भारद्वाजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरू जंतर–मन्तर रोड हुँदै प्रदर्शनस्थलतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई पटक–पटक पछाडि हटाएको थियो । केही समूहले कनाट प्लेस, जनपथलगायत आसपासका क्षेत्रमा पनि प्रदर्शन जारी राखेका थिए । उनीहरूले ‘राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । जंतर–मन्तर जाने प्रमुख सडकहरूमा धेरै तहका ब्यारेकेड राखिएका छन् । सम्भावित ठूलो भीडलाई नियन्त्रण गर्न थप प्रहरी तथा अर्धसैनिक बलसमेत परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रदर्शनस्थल तथा आसपासको क्षेत्रमा ड्रोनबाट निगरानीसमेत गरेको छ । दिल्ली प्रहरीका वरिष्ठ अधिकारीहरूले सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए । प्रदर्शनकारीलाई जंतर–मन्तर पुग्न नदिन संसद् मार्ग, जनपथ, कनाट प्लेसलगायत क्षेत्रमा यातायात व्यवस्थामा पनि प्रतिबन्ध र परिवर्तन गरिएको छ ।

यसैबीच दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाका कारण राजधानीका महत्वपूर्ण मेट्रो स्टेसनहरूमा प्रवेश तथा बाहिरिने द्वार बन्द गरेको छ । ११ वटा मेट्रो रेल स्टेसन बन्द गरिएको जानकारीमा आएको छ । राजीव चौक, सेन्ट्रल सेक्रेटेरियट, पटेल चौक, नयाँ दिल्ली र अन्य संवेदनशील क्षेत्रमा मेट्रो सेवा प्रभावित भएको छ ।

केही स्टेसनमा इन्टरचेन्ज सुविधा भने सञ्चालनमा राखिएको बताइएको छ । प्रदर्शनअघि नै दिल्ली प्रहरीले जंतर–मन्तर क्षेत्रमा सुरक्षाका कारण प्रवेशमा कडाइ गरेको थियो । प्रहरीले ठूलो संख्यामा मानिस जम्मा हुन सक्ने आकलन गर्दै अतिरिक्त सुरक्षा बल परिचालन गरेको थियो ।

राष्ट्रिय जनता दल (आरजेडी) सांसद मनोज झाले प्रदर्शनमाथि लगाइएको प्रतिबन्धको आलोचना गरेका छन् । उनले महात्मा गान्धी जयन्तीका दिन विरोध प्रदर्शन गर्न रोक लगाउनु उचित नभएको बताएका छन् ।

प्रदर्शनमा सहभागी नेताहरूले निर्वाचन आयोगको स्वतन्त्रता, मतदाता सूचीको पारदर्शिता र निर्वाचन प्रक्रियाप्रति जवाफदेहिताको माग उठाएका छन् । यसैबीच यही विषयलाई लिएर भारतका अन्य सहरमा पनि विरोध कार्यक्रम भएका छन् ।

दिल्लीमा जंतर–मन्तर र मुम्बईमा शिवाजी पार्क आसपास प्रदर्शनको आह्वान गरिएको थियो । प्रदर्शनकारी समूहहरूले ज्ञानेश कुमारको राजीनामासहित निर्वाचन आयोगको कार्यप्रणालीबारे थप जवाफदेहिता माग गरेका छन् ।

मतदाता नामावलीको एसआईआर प्रक्रियालाई लिएर सत्तापक्ष र विपक्षबीच विवाद भने चर्किँदै गएको छ । विपक्षी दल तथा प्रदर्शनकारीहरूले यस प्रक्रियाबाट योग्य मतदाता प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

निर्वाचन आयोग र भारतीय जनता पार्टीले भने अनियमितता वा राजनीतिक पक्षपातको आरोप अस्वीकार गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top