१७ असोज , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भएको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ।
तराई भूभागमा बिहानीपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति भने लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै चितवनको काली खोला त्रिशुली जलमापन केन्द्रमा पनि ४५.४ मिलिमिटर वर्षा भएको छ ।
कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो । यसैबीच भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका आज रातिदेखि ४८ घण्टाका लागि खोलिने भएको छ । आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि आज राति १ बजेदेखि पर्सि सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचनामार्फत् अनुरोध गरेको हो ।
यसैबीच नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन् । आज बिहानको अद्यावधिक तथ्याङ्क अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन् ।
गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। अर्को सूचना नभएसम्मका लागि यो सडक खण्ड बन्द रहनेछ । असोज ८ गतेदेखि परेको बाढीले बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
असोज १० गते बिहान परेको पहिरोका कारण बेनि–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरी र अन्नपूर्ण गाउँपालिका–०३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ।
उक्त सडक खण्डबाट ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ । असोज १२ गतेको पहिरोले हुम्लाको सिमकोट–हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यता पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलास्थित पक्की पुल बगाएपछि उक्त सडकखण्डलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।



