बालेनलाई काउन्टरःतल्लो स्तरकोदेखि संस्कार नभएका प्रधानमन्त्रीसम्म

१९ असोज ८३, सोमबार
Share this
723shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले आफूमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जवाफी व्यङ्ग्य प्रहार गरेका छन्। प्रधानमन्त्रीको यो अभिब्यक्तिलाई सामाजिक संजालमा वहस छेडिएको छ ।

नेपाली कांग्रेसका नेतासहित केही जेनजी प्रतिनिधिहरुले प्रधानमन्त्रीविरुद्ध काउन्टर गरेका छन् भने बालेनका समर्थकहरुले उनको प्रशंसा गरेका छन् । यद्यपि विश्लेषकहरुले देशको साझा प्रधानमन्त्रीले साना विषयमा साना टिप्पणी गरेर बस्ने समय अहिले नभएको बताएका छन् ।

Advertisement

कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै प्रधानमन्त्री शाहले आफूले सुधार गरेको खुलामञ्चमै उभिएर आफूलाई गाली गर्ने अवसर मिलेको भन्दै कटाक्ष गरेका हुन्। आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् । जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

खुलामञ्चमा हिजोमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो । आइतबार खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको बताएका थिए।

Advertisement

उनले ‘संसद् खुला छैन, संसदभित्र पनि खुलामञ्च चाहिएको छ’ भनी प्रधानमन्त्रीको आलोचना गरेका थिए। प्रधानमन्त्रीको अनुपस्थितिले संसद् खुला नरहेको सन्देश दिइरहेको उनको भनाइ छ । ‘संसद् खुला छैन । संसद् बन्द छ, किनकी जुन संसद्ले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति र आफूलाई नबनाउने सांसद्का निम्ति पनि, यो संसद्को गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन । त्यो दिनसम्म संसद् खुला भएको हुँदैन’ उनले भने ।

संसदभित्र सबै बिचार व्यक्त हुने र फरक विचार पनि सुन्ने अभ्यास हुने गरी खुला मञ्च चाहिएको बताए । समुदायभित्र, पार्टीहरूभित्र र सामाजिक सञ्जालमा समेत यस्तो खुला मञ्च चाहिएको बताए । त्यसकै जवाफमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

थापाको अभिव्यक्तिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले काठमाडौं महानगरको नेतृत्वमा रहँदा व्यवस्थित गरिएको खुलामञ्चको प्रसङ्ग जोडेर राजनीतिक जवाफ फर्काएका हुन्। यद्यपि प्रधानमन्त्रीको अभिब्यक्तिमा काउन्टर अभिब्यक्ति समेत अबउक छन् ।

खुलामञ्चको प्रसङ्ग जोडेर कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्रीलाई नेपाली कांग्रेसका नेता सचिन तिमलसिनाले जवाफ फर्काएका छन्। मुलुकमा कांग्रेसले लोकतन्त्र ल्याएकै कारण प्रधानमन्त्री पदमा रहेर पनि रातको समयमा तल्लो स्तरको टिप्पणी गर्ने छुट मिलेको भन्दै उनले सामाजिक सञ्जालमार्फत काउन्टर दिएका हुन्।

प्रधानमन्त्री शाहको स्टाटस लगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता तिमलसिनाले भनेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भएपनि ९ बजे पछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

प्रधानमन्त्रीको अभिव्यक्ति पदीय मर्यादाविपरीत र अमर्यादित रहेको आरोप लगाउँदै कांग्रेस नेता तिमलसिनाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको इतिहास सम्झाएर जवाफ फर्काएका हुन्। यस्तै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समेत यसमा टिप्पणी गरेका छन् ।

धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ; संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ।
खुलामञ्चको प्रसङ्ग जोडेर सामाजिक सञ्जालमा कटाक्ष गरेका प्रधानमन्त्री बालेन शाहमाथि जेनजी अभियन्ता रक्षा बमले पनि तिखो शब्द प्रहार गरेकी छन्।

नयाँ पुस्ताको आन्दोलन, रगत र बलिदानकै जगमा सामान्य राजनीतिक संस्कारसमेत नभएका व्यक्तिहरू मुलुकको प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत तीखो जवाफ फर्काएकी हुन्। प्रधानमन्त्री शाहको व्यङ्ग्यात्मक स्टाटस लगत्तै आइतबार फेसबुकमा लेख्दै अभियन्ता बमले भनेकी छन्, ‘धन्न जेन–जीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते÷सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लक्षित गर्दै अभियन्ता बमले उनकै शैलीमा राज्यको उच्च तहमा पुगेका नेतृत्वको राजनीतिक संस्कार र मर्यादामाथि गम्भीर उठाएकी हुन्। यस्तै अर्का जेनजी अभियान्ता माजिद अन्सारीले समेत यसमा प्रधानमन्त्रीलाई नै लक्षित गर्दै टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, बिदाको दिन अझ रातिको समयमा देश बनाउने तलतल लागेको बेला दाईको हातमा मोबाइल नदिम भनेको मान्दैनन साथीहरुले । आलोचनालाई सहज रुपमा स्वीकारेर आफ्नो कामकाजको तरिका सुधारेर राजनीतिक संस्कार देखाउनुको सट्टा देशको प्रधानमन्त्री जस्तो व्यक्तिबाट वाहियात सटायर र ह्युमरकोे प्रयोग गरेर सिल्ली किङ बन्ने प्रयास दुःखद छ ।आज खुलामञ्चमा उठेका सुकुम्बासी, बाढी पीडित, विदेशमा रहेका नेपाली नागरिकको मुद्धाहरुलाई “गाली गर्न पाएका छन्“ भन्नु स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकोे उपस्थितिको पनि अपमान हो ।

उनले सुकुम्बासीको विषय उठान गर्दै थप लेखेका छन्, १५ दिनमा सुकुम्बासीको व्यवस्थापन हुन्छ, ढुक्क हुनुहोस् भनेको आज ६ महिना हुन लागिसक्यो, अझै पनि सुकुम्बासीहरु होल्डिङ सेन्टरमा छन् । आज तपाईंलाई खुलामञ्चबाट ऐना देखाउँदा केपी ओलीले धरहरा बनाए जस्तै, अझ तपाईंकै भाषामा केपी ओलीले सेतो टावर बनाए जस्तै तपाईंले खुलामञ्च राम्रो बनाउनु भएको रहेछ प्रधानमन्त्री ज्यू, माने मैले ।

नेपाली कांग्रेसका सभापति थापाले खुलामञ्चमा आफ्नो पार्टीले १५ औं महाधिवेशन गर्नुका केही कारणहरू पनि सुनाएका थिए । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ ।

साथै, यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रुपमा मात्रै नलिन आग्रह गरे । ‘यो महाधिवेशनको नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने छ । केही संकल्प गर्नुपर्ने छ,’ सभापति थापाले भने, ‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ । खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च ।’

नेपाली कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र संकल्प चाहिँ नेपालमा यस्ता खुलामञ्च धेरै ठाउँमा चाहिएको भन्ने रहेको उनको भनाइ छ । ‘पहिलो खुलामञ्च संसद्मा चाहिएको छ । संसद् खुला छैन । संसद् बन्द छ । जहाँको सांसदले जसरी प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने र नबनाउने सांसदको गरिमाका लागि जुन दिनसम्म सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति हुँदैन, त्यो दिन सम्म संसद् खुला हुँदैन,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीको अभिब्यक्तिलाई उनका समर्थकले समर्थन गरेपनि देशको प्रधानमन्त्री पदको आफ्नै गरिमा र अभिभावकत्व हुने भन्दै त्यस्तो टिप्पणीमा नअल्झिन कतिपयले सुझाव दिएका छन् । बालेनको यो अभिब्यब्तिले हिजो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन मेयर बालेनको सामाजिक संजालको दोहोरीलाई स्मरण गराएको टिप्पणी समेत गरिएको छ।

प्रधानमन्त्रीको यही अभिब्यक्तिलाई लिएर नारायण गाउँले लेख्छन्, देशको प्रधानमन्त्री हो तपाईं ! दलको सरकार हुन्छ, तर प्रधानमन्त्री त साझा हो , सबैको हो । अरूले तुच्छ टिप्पणी, गाली या व्यङ्ग्य गरे पनि प्रधानमन्त्रीले त्यस्तो गर्न सुहाउन्न । पदको आफ्नै गरिमा र अभिभावकत्व हुन्छ ! देश एकै दिनमा या एउटा व्यक्तिले मात्रै बनाएर बन्ने वस्तु होइन । कसैले यसको सीमा कोरेको होला । कसैले देशहरूले देश निलिरहेको कठीन घडीमा समेत यसको सार्वभौमिकता बचाउन कूटनैतिक चातुर्य देखाएको होला । कसैले सोसल इन्जिनियरिङ्मा भूमिका खेलेको होला, कसैले बोल्न पाउने नागरिक हकका लागि जीवनभर लडेको होला । तपाईं हामी पढेको कलेज र विश्वविद्यालय पनि आफै ठडिएका होइनन् । मन लाग्दा चुनाबमा उठ्न पाउने हक पनि कसैले नलडी आएको होइन । एउटा सिजन र नदीमा आउने बाढीले दुई दर्जन पुल बगाएको खबर पढिन्छ, ती पनि कसैले बनाएकै होला । एअरपोर्ट नभएको भए तँ कसरी विदेश जान्थिस् भनेर हामीले कसैलाई भन्न सुहाउँछ ! तर कुनै प्रधानमन्त्री या शीर्ष नेताले त्यस्तो भन्नु निकै छिचरो र अशोभनीय हुन्छ ।

प्रधानमन्त्री बनेपछि मन परेको मध्ये एउटा कुरा थियो, हिजोका जस्तो क्षुद्र र अराजनैतिक टिप्पणी तपाईंबाट आएको थिएन ! तर आजको स्ट्याटसले अलि खिन्न बनायो । प्रतिपक्षी दलको महाधिवेशनमा शुभकामना दिने राजनैतिक संस्कार थियो ।

रविजी त्यही संस्कारका कारण त्यहाँ पुग्नुभएको थियो । तपाईंबाट त्यो न सही तर पदको गरिमासमेत नाघेर त्यस्तो टिप्पणी जरूरी थिएन । निजी फेसबुक पोस्ट हो भन्नका निम्ति सबै अफिसियल सूचना त्यहीँबाट आउँछ । मुद्दाहरूमा मजाले कटाक्ष र व्यङ्ग्य गर्न सकिन्छ । गर्न पनि पर्छ । तर यस्तो अप्रासङ्गिक विषयमा यति सस्तो टिप्पणीले नरमाइलो लाग्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top