१९ असोज , काठमाण्डौ ।
फ्लाईदुबईको कथित अपहरण प्रयास को–पाइलट हमाम अल हमामीले एक्लै गरेको हुन सक्ने इजरायलको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस विषयमा जानकार स्रोतहरूले सीबीएस न्युजलाई यस्तो जानकारी दिएका हुन् ।
अनुसन्धान अझै जारी रहेकाले घटनासँग जोडिएका सबै सम्भावित पक्षबारे खोजी भइरहेको बताइएको छ । गत बुधबार दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा को–पाइलटले भारतीय क्याप्टेन स्मित मच्छारमाथि बन्चरो प्रहार गरेर विमान दुर्घटना गराउने प्रयास गरेका थिए ।

क्याप्टेन मच्छारले को–पाइलटसँग केही समय संघर्ष गरेपछि ककपिटको ढोका खोल्न सफल भएका थिए । त्यसपछि इजरायली यात्रु र फ्लाईदुबईका कर्मचारीले को–पाइलटलाई नियन्त्रणमा लिए । विमानमा रहेका दुई अफ–ड्युटी पाइलटले विमानको नियन्त्रण लिएर साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गराएका थिए ।
पछि वैकल्पिक विमानमार्फत सबै यात्रुलाई इजरायल पठाइएको थियो । को–पाइलट अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। विमानले आपतकालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले उनीसँग पहिलो चरणको सोधपुछ गरेका थिए ।

अहिले युएईमा दोस्रो चरणको सोधपुछ भइरहेको छ । इजरायलले अनुसन्धानमा सहभागी हुन आफ्ना प्रतिनिधि पनि युएई पठाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार को–पाइलट इरानसँग सम्बन्धित हुन सक्ने बताएका थिए।
‘मैले सुनेको कुराका आधारमा उत्तर हो,’ ट्रम्पले भनेका थिए, ‘हामी अहिले यसमा काम गरिरहेका छौँ। उनीहरू हामीसँग धेरै खुला छन्।’ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले को–पाइलटले यस्तो कदम चाल्नुको कारण अझै स्पष्ट नभएको बताएका छन्। ‘मलाई लाग्दैन कि यो अपहरण थियो,’ उनले भने, ‘‘मलाई लाग्छ यो आत्मघाती प्रयास जस्तो देखिन्छ।’
गत बिहीबार नेतान्याहूले को–पाइलट ‘इस्लामी कट्टरपन्थी विचारधाराबाट प्रभावित’ भएको कुरा इजरायललाई थाहा भएको बताएका थिए । उनका अनुसार जारी सोधपुछका क्रममा प्राप्त ‘व्यक्तिगत जानकारी’ का आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।
तर नेतान्याहूले यसबारे थप विवरण भने दिएनन्। को–पाइलटलाई अन्य चालक दलका सदस्य र यात्रुले नियन्त्रणमा लिएपछि उनले ‘मलाई मार, मलाई मार’ भन्दै चिच्याएको पनि नेतान्याहूले बताएका थिए । को–पाइलट हमामीले केही समय ओमान एयरमा काम गरेका थिए ।
त्यहाँ उनले नयाँ पाइलटको तालिम लिएका थिए । ओमानी सरकारको निगरानीका क्रममा उनले कट्टरपन्थी वेबसाइटहरू हेर्ने गरेको पत्ता लागेको स्रोतहरूले बताएका छन् । त्यसपछि ओमान एयरले उनलाई कार्यालयको काममा सरुवा गरेको थियो ।
डेस्क ड्युटीमा राखिएपछि उनले ओमान एयरको जागिर छाडेका थिए। हमामीले सन् २०२४ तिर उक्त एयरलाइन छाडेको बताइएको छ। उनले दुबईमा इजरायली एयरलाइन्स एल अलका विमानहरूको भिडियो पोस्ट गरेको पनि पाइएको छ ।
उक्त भिडियोको अन्त्यमा सन् २०२२ मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका अल कायदा नेता आयमान अल जवाहिरीको तस्बिर राखिएको थियो । स्रोतका अनुसार हमामी दुबई गएपछि फ्लाईदुबईले ओमानी सरकारसँग उनको पृष्ठभूमिबारे जाँच नगरी काममा राखेको थियो।
उनी ओमानी नागरिक हुन्। तर उनको जन्म ओमानमा भएको थिएन। उनले जीवनको अधिकांश समय ओमानबाहिर बिताएका थिए। उनकी आमा सिरियाली र बुबा ओमानी रहेको दाबी गरिएको छ । ओमानी सरकारले उनको राष्ट्रियता सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
हमामीसँग दोहोरो नागरिकता हुन सक्ने कुरा पनि बाहिर आएको छ। यसले उनलाई इजरायल जाने उडानमा कसरी सहभागी हुन अनुमति मिल्यो भन्नेबारे प्रश्न उठेको छ । यता यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल–शम्सीले शनिबार भनेका छन्, ती को–पाइलटले ‘आतङ्कवादी कार्य’ सुरु गरेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन् ।
अल–शम्सीका अनुसार, को–पाइलटले ककपिटभित्र विमानको आपत्कालीन क्र्यास बञ्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेका थिए र ‘विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेका थिए’। क्र्यास बञ्चरो आपत्कालीन अवस्थामा विमानभित्र बाटो बनाउन पाइलटहरूलाई मद्दत गर्न ककपिटमा राखिने एउटा औजार हो ।
बिहीबार, अल–शम्सीले अनुसन्धानकर्ताहरूलाई यो घटना ‘आतङ्कवादी गतिविधि वा मनसाय’ सँग जोडिएको छ वा यसमा पूर्व योजना वा निर्देशन समावेश थियो भन्ने कुरा पत्ता लगाउन आदेश दिएका थिए । यूएईले हालसम्म सार्वजनिक रूपमा आक्रमणको उद्देश्य यकिन गरेको छैन।
साथै अनुसन्धानकर्ताहरूले अल–हम्मामीले एक्लै यस्तो काम गरेका हुन् भन्ने मानेका छन् या छैनन् भन्ने पनि घोषणा गरेको छैन । यूएईका राष्ट्रपतीय सल्लाहकार अनवर गर्गशले शनिबार भनेका छन्, पछिल्लो ‘आतङ्कवादी’ आक्रमणले यस क्षेत्रमा उग्रवादविरुद्धको लडाइँ अझै समाप्त नभएको नयाँ चेतावनी दिएको छ ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले यूएईको प्रारम्भिक र दृढ अडानको महत्त्वलाई रेखांकित गर्छः उग्रवादलाई कुनै सहनशीलता छैन र यसको बयानबाजीप्रति कुनै छुट छैन। सुरक्षाको सुरुवात घृणाको सामना गर्दै उग्रवादका स्रोतहरू सुकाउनुबाट हुन्छ।’
अहिले अबुधाबीले यस अनुसन्धानको नेतृत्व गरिरहेको छ। सरकारी वकिलहरूले आक्रमणको परिस्थिति, यसको उद्देश्य र अन्य व्यक्तिहरूसँगको सम्भावित सम्बन्धबारे जाँच गरिरहेका छन् । यसअघि अल–शम्सीले विमान यूएईमा दर्ता भएको र आफ्नै झण्डामुनि उड्ने भएकाले यस घटनामा यूएईका न्यायिक अधिकारीहरूको अधिकार क्षेत्र लाग्ने बताएका थिए।
विमानभित्र भएका अपराधहरूमा ‘ती देशको क्षेत्रबाहिर भए तापनि’ यूएईको कानुन लागू हुने उनले थपे । शनिबार, अल–शम्सीले अनुसन्धानकर्ताहरू ‘प्राविधिक परीक्षण पूरा गर्न तथा भौतिक र डिजिटल प्रमाणहरूको जाँच गर्नुका साथै घटनाका सबै परिस्थिति, यसका उद्देश्य र सम्बन्धित व्यक्तिहरूबारे पत्ता लगाउन’ काम गरिरहेको जानकारी दिए ।
आवश्यक प्रक्रिया पूरा हुनासाथ अन्तिम नतिजा सार्वजनिक गरिने उनले बताए । यसैबिच, अनुसन्धान चलिरहँदा इजरायलतर्फका फ्लाई दुबईका उडानहरू अझै स्थगित नै छन् । उता अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ ।
हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो । बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविरनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ ।
अमेरिकी रक्षा अधिकारीले आइतबार दिएको जानकारी अनुसार फेयरफोर्ड बेसमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिकास्थित आफ्नै नियमित स्टेसनहरूमा फिर्ता लगिएको छ । आइतबार रकवेल बी–१ लान्सर हेभी बम्बर विमानहरू अमेरिकाका लागि उडेका थिए ।
अमेरिकाले विमानहरू फिर्ता गर्नुको आधिकारिक कारण स्पष्ट पारेको छैन । तर, गत २७ सेप्टेम्बरमा ग्लोस्टरशायरस्थित उक्त एयरबेस नजिकै तीनवटा ‘शङ्कास्पद सवारीसाधन’ फेला परेपछि सुरक्षा अनुसन्धान चलिरहेकै बेला यो कदम चालिएको हो ।
बेलायती प्रशासनिक स्रोतहरूले पनि वासिङ्टनको यो निर्णय फेयरफोर्ड घटनाकै प्रतिक्रियास्वरूप आएको कुरालाई अस्वीकार गरेका छैनन् । यो राजनीतिक नभई कार्यसञ्चालन (अपरेसनल) तहमा अमेरिकी सेनाले लिएको सैन्य निर्णय भएको र यसबारे बेलायती सेनालाई जानकारी गराइएको बीबीसीले जनाएको छ ।
बेलायती रक्षा मन्त्रालयले भने यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । गत २७ सेप्टेम्बरको बिहान अमेरिकी वायुसेनाद्वारा सञ्चालित उक्त आधार शिविरतर्फ शङ्कास्पद रूपमा अघि बढिरहेका सवारीसाधनबाट २३ देखि २५ वर्ष उमेरका पाँच जना बेलायती नागरिकलाई पक्राउ गरिएको थियो ।
लन्डनका ती युवाहरूलाई सुरुमा विस्फोटक पदार्थ र पछि आतङ्कवादी गतिविधि तयारीको आशङ्कामा पक्राउ गरिए पनि प्रहरीले रणनीति र अनुसन्धानको हिस्सा भन्दै उनीहरूलाई धरौटी (बेल) मा रिहा गरेको थियो ।
त्यसपछि बिहीबार लन्डनबाट पक्राउ परेका २५ वर्षीय छैटौँ व्यक्ति (बेलायती–इरानी नागरिक) लाई पनि शनिबार धरौटीमा रिहा गरिएको काउन्टर टेरर प्रहरीले पुष्टि गरेको छ । उक्त घटनाको केही दिनपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले यस घटनामा इरानको हात रहेको ‘बलियो सङ्केत’ मिलेको बताएका थिए ।
यद्यपि उनले यससम्बन्धी थप विवरण खुलाएनन् । तेहरानले भने यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको कडा खण्डन गरेको छ । यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँग कुरा गर्दै यस घटनामा स्पष्ट रूपमा ‘विदेशी पक्षको हात’ संलग्न रहेको दाबी गरेका थिए ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका पाँचै जनालाई धरौटीमा रिहा गरिएकोमा आश्चर्य व्यक्त गरेका छन् । ट्रम्पले भने, ‘हामीलाई उनीहरूबारे सबै कुरा थाहा छ, हामीले भए उनीहरूलाई रिहा गर्ने थिएनौँ ।’ यद्यपि, यस विषयमा बेलायतले अमेरिकासँग निकै निकट भएर काम गरेको उनले बताएका छन् ।
अमेरिकी वायुसेनाले विगत दशकौँदेखि आरएएफ फेयरफोर्डलाई ‘फर्वार्ड अपरेटिङ बेस’ का रूपमा प्रयोग गर्दै आएको छ । इरानविरुद्धको रक्षात्मक कारबाहीका लागि उक्त आधार शिविर प्रयोग गर्न बेलायतले अनुमति दिएपछि पछिल्ला महिनाहरूमा अमेरिकी बमवर्षक विमानहरूले यहीँबाट मध्यपूर्वका लागि उडान भर्दै आएका थिए ।
गत जुलाईमा इरानले ‘इरानी भूमिमाथि आक्रमणका लागि प्रयोग हुने जुनसुकै आधार शिविर आफ्नो सेनाको वैध निशाना बन्ने’ चेतावनी दिएको थियो ।



