खगेन्द्रको प्रमाण संकलन गरिँदै, पीडित महिलासँग पनि रास्वपाले बुझ्ने

२७ असोज ८३, मंगलबार
Share this
780shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

एक महिलासँगको कुराकानी भएको दाबी गरिएको अश्लील र आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपा सांसद खगेन्द्र सुनार यतिबेला विवादमा तानिएका छन् । यस सन्दर्भमा रास्वपाको अनुशासन आयोगले सुनारको अडियो प्रकरणको छानबिन थालेको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए । यस्तै मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पनि सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको बताएका छन् ।

Advertisement

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अडियो प्रकरणबारे पार्टीको अनुशासन आयोगले काम थालिसकेको बताए । उनले राज्यका निकाय र पार्टीको आन्तरिक छानबिन फरक प्रक्रिया भएको बताए । राज्यले गर्ने अनुसन्धान राज्यकै तर्फबाट हुने स्पष्ट पारे ।

“राज्यले गर्ने छानबिन राज्यले गर्छ, पार्टी अनुशासन आयोगले काम थालिसक्यो । आयोगलाई यति दिन चाहिँ भनेका छैनौँ । आयोगको निर्णय आएपछि मात्रै भन्न सकिन्छ” बुर्लाकोटीले सञ्चारकर्मीसँग भने। सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले मंगलबार पार्टी केन्द्रीय अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिएको छ ।

Advertisement

‘पार्टीको धारणा आइसकेको छ । अनुशासन आयोग चाहिँ स्वतन्त्र हो । त्यसैले हामीले सबै प्रमाणहरु संकलन गरिरहेका छौं’ रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले भने, ’सांसदसँग पनि हामी कुरा गर्न खोजिरहेका छौं । अनि जो महिलाको नाम जोडिएको छ उहाँसँग पनि भेट्ने कोसिसमा छौं ।’

उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताए । त्यसैले विषयको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने भट्टराईले बताए । ‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि निष्कर्ष दिन्छौं’ भट्टराईले भने ।

आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने उनले बताए । सुनार भने अहिले काठमाडौं बाहिर छन् । सांसद सुनारले एक महिलालाई अश्लिल गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएको थियो ।

सांसद सुनारको यो अडियोलाई संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाशचन्द्र परियारले बताए । उनका अनुसार रास्वपा पार्टीले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा गर्ने छैन ।

‘अडियोमाथि छानबिन हुन्छ । यदी त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन’ परियारले भने । परियारले सुनारको विवादित अभिव्यक्ति पुष्टि भए कारबाही हुने बताएका हुन् ।

सङ्खुवासभा पुगेका सचेतक परियारले पत्रकारहरूसँग कुरा गर्दै अहिले पार्टीले छानबिन प्रक्रिया अघि बढाइसकेको बताए । उनले भने, ‘प्रमाणहरू नष्ट हुन्छ भनेर स्वयम् सांसद खगेन्द्र सुनारलाई सहयोग गर्न पार्टी महामन्त्रीले सार्वजनिक विज्ञप्ति जारी गरेर अनुशासन आयोगलाई दसैंको मुखमुखमा सक्रिय बनाएको कुरा यो ऐतिहासिक हो । उहाँलाई सार्वजनिक अभिव्यक्ति नदिन, सार्वजनिक कार्यक्रममा सरिक नहुन र पार्टीको अनुशासन आयोगलाई यो घटनाको सत्यतथ्य, यथार्थ बारेमा सहयोग गर्न निर्देशन दिइसकेको छ।’

पार्टीको अनुशासन आयोगले उच्चस्तरीय छानबिन गरिरहेको भन्दै एक जना व्यक्तिको पछाडि लागेर रास्वपा सती नजाने प्रस्ट पारेका हुन् । उनले थपे, ‘छानबिनको प्रतिवेदनको आधारमा निलम्बनदेखि राइट टु रिकलसम्म गर्ने हाम्रो विधानमा छ, त्यसमा तपाईँहरू ढुक्क हुनुस्। कोही पनि अपराध कर्म गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द हाम्रै पार्टीको सांसदले हो भने कारबाही हुन्छ, हुन्छ, हुन्छ। एक जना व्यक्तिको पछाडि राखेर राष्ट्रिय स्वतन्त्र पार्टी सती जाँदैन।’

उनले आरोप पुष्टि भए जोगाउन नलाग्ने उनको भनाइ छ । महामन्त्रीले विज्ञप्ति जारी गरेर पहिलो निमेषमै एक्सन लिइसकेको बताए । यता महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । यता सुनारले पनि आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् ।

फेसबुकमा एक भिडियो अपलोड गर्दै सुनारले आफूमाथि लागेका आरोपमा छानबिनका लागि सघाउने बताएका हुन् । ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सांसद सुनारले भनेका छन्, ‘राज्यले गरेको पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’

उनी बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको आरोप समेत लगाएका छन् । पार्टीको कामको सिलसिलामा दाङमा रहेका उनले भनेका छन्, ‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन ।’

उनले सार्वजनिक अडियो बनावटी भएको जिकिर समेत गरेका छन् । ‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन। त्यो पात्र म होइन,’ उनले भनेका छन्, ‘मैले त्यस्तो कुरा बोलेको वा त्यस्तो काम गरेको छैन । प्रविधि, एआई, कसैलाई बोल्न लगाउने वा आवाजको नक्कल गर्ने जुनसुकै माध्यमबाट भए पनि मलाई फसाउने प्रपञ्च भइरहेको मेरो आशंका छ ।’

उनले थप भनेका छन्, ‘ममाथि निर्भीक र निष्पक्ष छानबिन होस् । पार्टीले मलाई आफ्नै साथी भनेर संरक्षण गर्नुपर्दैन । सरकारले पनि ममाथि कुनै दया देखाउनुपर्दैन । मलाई दयाको भिक्षा चाहिएको छैन। ममाथि निष्पक्ष छानबिन होस् । मैले अपराध वा बदमासी गरेको प्रमाणित भएमा कानुनबमोजिमका सबै परिणाम भोग्न तयार छु ।

उसोत सुनारको विषयमा यसअघि नै पटक–पटक प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेसामु राई टु रिकल प्रयोग गरेर फिर्ता बोलाउनुपर्ने माग तीव्र रुपमा उठेको थियो। अहिले पार्टीमा आधाभन्दा बढी सांसदले उनीलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।

रास्वपाको विधानमा नै पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यहरूले आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार रहेको छ । केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रका साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गर्ने भनिएको छ ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रम रोजगार तथा सुरक्षा मन्त्री दीपक कुमार शाहलाई पदबाट बर्खास्त गरिएको थियो। त्यसमा पनि राइट टु रिकलको प्रक्रिया अपनाइएको दाबी गरिन्छ ।

विवादमा परेका व्यक्तिहरूलाई राइट टु रिकल मार्फत फर्काउन सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको विधान रहेकाले यो विधानको पालना खगेन्द्र सुनुवारको अवस्थामा पनि गरिनुपर्ने माग उठिरहेको छ । तर उनी अहिलेसम्म अनुसन्धानकै प्रक्रियामा रहेकाले दोषी देखिएको अवस्थामा जुनसुकै बेला पनि पदमुक्त हुने पार्टीका नेताहरू बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top