२ कार्तिक , काठमाण्डौ ।
बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको जुहु क्षेत्रमा आइतबार साँझ अन्धाधुन्ध गोली प्रहार भएको छ । आक्रमणमा श्राफ घाइते भएपनि सुरक्षित रहेको साथै उनका चालक र अन्य ब्यक्ति पनि घाइते भएका छन् ।
मुम्बई प्रहरीले जुहुको पुष्पा पार्क नजिकै यो घटना भएको बताएको छ । भारतीय संचारमाध्यामहरुका अनुशार तीनजना अज्ञात मोटरसाइकल सवार व्यक्तिहरूले टाइगर श्राफको बीएमडब्लु) गाडीलाई निशाना बनाएर ५ राउन्ड गोली चलाएका थिए ।

यस आक्रमणमा अभिनेता टाइगर श्राफ पनि घाइते भएका छन् । उनका गाडी चालकको हातमा गोली लागेको छ र उनलाई उपचारका लागि नानावती अस्पताल भर्ना गरिएको छ । आक्रमणका क्रममा एक अटो रिक्सा चालक पनि घाइते भएको बताइएको छ ।
प्रारम्भिक जानकारी अनुसार टाइगर श्राफ जुहुको एक मैदानमा फुटबल म्याच खेलेर आफ्नो गाडीमा घरतर्फ फर्किरहेका बेला यो घटना भएको हो । सोही क्रममा मोटरसाइकलमा आएका सुटरहरूले उनको गाडीमाथि गोली बर्साएका थिए ।

घटनालगत्तै सामाजिक सञ्जालमा एउटा अडियो तथा पोस्ट सार्वजनिक गर्दै लरेन्स विश्नोई ग्याङ सम्बद्ध ग्याङ्स्टर अनिल पण्डित र हरमन सन्धुले यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त सन्देशमा अभिनेता सलमान खानसँग काम गर्ने र उनको नजिक हुनेहरूलाई फिल्म उद्योगमा निशाना बनाइने चेतावनी दिइएको छ ।
यद्यपि, मुम्बई प्रहरीले यस दाबीको आधिकारिक पुष्टि गरिसकेको छैन र यसको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । यो घटनाले सिंगो बलिउड त्रसित बनेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । लामो समयपछि बलिउड अभिनेतामाथि अपराधिक समुहबाट गोली प्रहार भएको हो ।
भारतमा पछिल्लो समय संगठित अपराधमा लरेन्स समूह सबैभन्दा सक्रिय छ। बारम्बार सो समूहले विभिन्न व्यक्तिहरूमाथि आक्रमढा गर्दै आएको छ। घटनाका बेला त्यहाँ मानिसहरूको भीडसमेत जम्मा भएको बताइएको छ। गोली चलेपछि घटनास्थलमा त्रास फैलिएको थियो।
अब मुम्बई प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज जाँच गरिरहेको छ। साथै, गोली चलाउने व्यक्तिको पहिचान गर्न र घटनाको कारण पत्ता लगाउन प्रत्यक्षदर्शीसँग सोधपुछ भइरहेको उल्लेख छ ।
घटनापछि मुम्बई प्रहरी र क्राइम ब्रान्चको टोली तुरुन्तै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको उल्लेख छ । दोषीहरूलाई पक्राउ गर्न प्रहरीले १२ वटा विशेष टोली गठन गरी सो क्षेत्रका सीसीटीभी फुटेजहरू संकलन गरिरहेको छ ।
गोली प्रहार भएपछि महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन्। घटनापछि उपमुख्यमन्त्री शिन्दे टाइगर श्राफको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
उनले टाइगर श्राफको गाडीमा भएको गोली प्रहार चिन्ताजनक र निन्दनीय घटना भएको बताएका छन्। शिन्देका अनुसार उनले घटनाबारे मुम्बई प्रहरी आयुक्त र अभिनेता टाइगर श्राफसँग समेत कुराकानी गरेका छन्।
घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी आयुक्तले विभिन्न टोली परिचालन गरेको उनले जानकारी दिए। दोषीलाई छिट्टै खोजी गरी पक्राउ गरिने र कडा कारबाही गरिने उनको भनाइ छ। गोली प्रहारपछि मुम्बई प्रहरीले जुहु क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ।
प्रहरीले भीआईपी तथा बलिउडका चर्चित व्यक्तिको सुरक्षामा समेत निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता तथा निर्देशक रोहित शेट्टीको सुरक्षामा पनि विशेष ध्यान दिइएको बताइएको छ।
केही महिनाअघि रोहित शेट्टीको घरमा समेत गोली प्रहार भएको घटनालाई ध्यानमा राख्दै प्रहरीले सतर्कता बढाएको हो। यसैबीच, महाराष्ट्र सरकारका मन्त्री मंगल प्रभात लोढाले सामाजिक सञ्जाल एक्समार्फत घटनाका दोषीलाई कुनै पनि हालतमा नछाडिने बताएका छन्।
उनले घटनालाई दुःखद र गम्भीर भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको तथा दोषीलाई कानुनअनुसार उचित सजाय दिइने बताएका छन्। टाइगर श्राफ बलिउडका चर्चित अभिनेता हुन्। उनी अभिनेता ज्याकी श्राफका छोरा हुन्।
उनले ‘हिरोपन्ती’, ‘बागी’, ‘वार’ र ‘ए फ्लाइङ जट’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन्। बलिउड अभिनेता सलमान खान पनि पछिल्ला वर्षहरूमा पटकपटक धम्की र आक्रमणको निशानामा पर्दै आएका छन्।
यी घटनामा भारतका कुख्यात अपराधी लरेन्स विश्नोई र उनीसँग सम्बन्धित समूहको नाम जोडिँदै आएको छ। जुन २०२२ मा सलमानका पिता सलिम खानले मुम्बईको बान्द्रास्थित निवास नजिकै आफू नियमित हिँड्ने स्थानमा धम्कीपत्र फेला पारेका थिए।
पत्रमा सलमानको अवस्था पनि गायक सिद्धु मुसेवालाको जस्तै हुने आशयको धम्की दिइएको थियो। मुसेवालाको मे २०२२ मा गोली हानी हत्या गरिएको थियो। मार्च २०२३ मा सलमानको कार्यालयमा धम्कीपूर्ण इमेल आएको थियो।
त्यसमा गोल्डी बरारले सलमानसँग प्रत्यक्ष कुरा गर्न चाहेको उल्लेख थियो। घटनापछि मुम्बई प्रहरीले लरेन्स विश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको थियो। यस्तै १४ अप्रिल २०२४ को बिहान मोटरसाइकलमा आएका दुई व्यक्तिले मुम्बईको ग्यालेक्सी अपार्टमेन्टस्थित सलमानको निवासबाहिर गोली चलाएका थिए।
घटनामा सलमान र उनको परिवारलाई लक्षित गरिएको हुन सक्ने आशंका गरिएको थियो। मुम्बई प्रहरीले अनुसन्धानका क्रममा विश्नोई समूहको संलग्नता रहेको दाबी गरेको थियो। सलमानले पनि प्रहरीसमक्ष दिएको बयानमा आफू र परिवारलाई मार्ने उद्देश्यले आक्रमण गरिएको विश्वास व्यक्त गरेका थिए।
अहिले अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार भएपछि सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमार्फत विश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले जिम्मेवारी लिएको दाबी गरेका छन्। उक्त सन्देशमा सलमान खानसँग काम गर्ने व्यक्तिहरूलाई समेत धम्की दिइएको समाचारमा उल्लेख छ।
तर, जिम्मेवारीको दाबीलाई प्रहरीले स्वतन्त्र रूपमा पुष्टि गरेको विवरण सार्वजनिक भइसकेको छैन। प्रहरीको अनुसन्धान जारी रहेकाले गोली प्रहारको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप विवरण आउन बाँकी छ।



