चुनावअघि ट्रम्पको ठूलो घोषणा, इन्धन मूल्य घटाउने

११ कात्तिक २०८३, बुधबार
Share this
749shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै टेक्सासमा रिपब्लिकन उम्मेदवारहरूको पक्षमा चुनावी अभियान तीव्र बनाएका छन्। इन्धनको बढ्दो मूल्य र ऊर्जा नीतिसम्बन्धी विवाद चुनावी मुद्दा बनिरहेका बेला ट्रम्पले तेल तथा ग्यास उत्पादनसम्बन्धी नियम खुकुलो पार्ने घोषणा गरेका छन् ।

रोयटर्सका अनुसार, ट्रम्पले मंगलबार टेक्सास राज्यका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै रिपब्लिकन सिनेट उम्मेदवार केन प्याक्सटनलाई समर्थन जुटाउने प्रयास गरेका हुन्। प्याक्सटन डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोसँग प्रतिस्पर्धामा छन्।

Advertisement

टेक्सास लामो समयदेखि रिपब्लिकन पार्टीको प्रभाव रहेको राज्य हो। तर, यसपटक डेमोक्रेटिक उम्मेदवारले प्रतिस्पर्धालाई चुनौतीपूर्ण बनाएका छन्। प्याक्सटन पराजित भएमा सिनेटमा आफ्नो झिनो बहुमत कायम राख्ने रिपब्लिकन पार्टीको रणनीतिमा असर पर्न सक्ने आकलन गरिएको छ ।

ट्रम्पले कर्पस क्रिस्टीमा भेनेजुएलाबाट ल्याइएको कच्चा तेल बोकेको ट्याङ्कर नजिक चुनावी कार्यक्रम गरेका थिए। उनले उक्त तेललाई अमेरिकाको ऊर्जा क्षेत्रमा भएको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै भेनेजुएलासँग भएको सम्झौताबाट अमेरिकी ऊर्जा आपूर्तिमा सहयोग पुग्ने दाबी गरे ।

Advertisement

रोयटर्सका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले उक्त तेल एक्सनमोबिल र सिट्गोका रिफाइनरीमा पठाउने योजना रहेको बताएका छन्। यसअघि ट्रम्प प्रशासनले भेनेजुएलाको कच्चा तेल भण्डारको पाँचौँ हिस्सासम्म अमेरिकाको पहुँच सुनिश्चित गर्ने सम्झौता भएको जनाएको थियो ।

ट्रम्पले टेक्सासको लबकमा आयोजित अर्को कार्यक्रममा पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले लागू गरेका मिथेन उत्सर्जनसम्बन्धी नियम खारेज गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। उनका अनुसार, यसबाट उपभोक्ता र ऊर्जा उत्पादकको लागतमा ४५ अर्ब अमेरिकी डलर बचत हुनेछ।

साथै, प्राकृतिक ग्यासको उत्पादन विस्तार र तेल उत्पादनमा वृद्धि गर्न सकिने उनको दाबी छ । प्रस्तावित परिवर्तनले तेल तथा ग्यास उत्पादनका क्रममा चुहिने मिथेन नियन्त्रण गर्न लागू गरिएका केही नियम खुकुलो पार्नेछ। बाइडेन प्रशासनका नियमअनुसार कम्पनीहरूले उपकरणबाट हुने चुहावट मर्मत गर्न र इनारबाट मिथेन ग्यास उत्सर्जन भए–नभएको नियमित जाँच गर्नुपर्ने व्यवस्था थियो ।

ट्रम्प प्रशासनले साना तथा कम उत्पादन गर्ने तेलका इनारलाई केही राहत दिने, बाह्य संस्थामार्फत ठूलो मिथेन चुहावटको जानकारी दिने कार्यक्रम अन्त्य गर्ने र तेलका इनारमा ग्यास जलाउने अभ्यासलाई चरणबद्ध रूपमा हटाउने नियम खुकुलो पार्ने योजना अघि सारेको छ ।

प्रशासनले यी परिवर्तनले ऊर्जा उत्पादन बढाउन र लागत घटाउन सहयोग गर्ने तर्क गरेको छ। तर, मिथेन शक्तिशाली हरितगृह ग्यास भएकाले उत्सर्जन नियन्त्रणसम्बन्धी नियम खुकुलो बनाउने प्रस्तावले वातावरणीय प्रभावबारे प्रश्न उठाउन सक्छ । ट्रम्पको टेक्सास भ्रमण प्याक्सटनको चुनावी अभियानलाई सहयोग गर्ने उद्देश्यले गरिएको हो।

उनी यसै महिना तेस्रोपटक टेक्सास पुगेका हुन्। प्याक्सटनमाथि सन् २०१५ मा धितोपत्र ठगीसम्बन्धी अभियोग लागेको थियो भने सन् २०२३ मा टेक्सासको तल्लो सदनले उनीमाथि महाभियोग लगाएको थियो। उनको आपराधिक मुद्दा सन् २०२४ मा अभियोजन पक्षसँगको सहमतिपछि खारेज भएको थियो र राज्यको सिनेटले महाभियोगसम्बन्धी सुनुवाइमा उनलाई दोषी ठहर गरेन।

ट्रम्पले डेमोक्रेटिक उम्मेदवार टालारिकोको पनि आलोचना गरेका छन्। तेल उत्पादन, आप्रवासन र ट्रान्सजेन्डर अधिकारजस्ता विषयमा टालारिकोको धारणा टेक्सासको मूल्य–मान्यताविपरीत रहेको ट्रम्पको आरोप छ। अर्कोतर्फ, टालारिकोले ट्रम्पको आलोचनालाई आफ्नो चुनावी अभियानमा प्रयोग गर्दै आएका छन् ।

रोयटर्सका अनुसार, अर्बपति इलन मस्कसहितका दाताहरूले प्याक्सटनको अभियानलाई सहयोग गर्न ठूलो रकम परिचालन गरेका छन् । अमेरिकामा इन्धनको मूल्य बढ्नु रिपब्लिकन पार्टीका लागि राजनीतिक चुनौती बनेको छ। इरानसँगको युद्धका कारण ऊर्जा बजारमा परेको प्रभावले पनि इन्धनको मूल्यलाई चुनावी बहसको केन्द्रमा ल्याएको छ ।

ट्रम्पले पेट्रोलको मूल्य घटाउने र घरेलु ऊर्जा उत्पादन बढाउने प्रयास भइरहेको सन्देश मतदातामाझ पु¥याउन खोजेका छन् । नोभेम्बर ३ को निर्वाचनमा अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन प्रभावित हुन सक्ने भएकाले टेक्सासजस्ता परम्परागत रिपब्लिकन राज्यमा देखिएको प्रतिस्पर्धालाई विशेष महत्त्वका साथ हेरिएको छ ।

निर्वाचन परिणामले ट्रम्प प्रशासनको आगामी नीतिगत प्राथमिकता र संसद्मा उसको राजनीतिक प्रभावमा असर पार्न सक्छ । यसैबीच ट्रम्पले भेनेजुएलालाई अमेरिकाको समृद्ध ५१औँ राज्य बनाउन सकिने बताएका छन् । टेक्सासमा रिपब्लिकन उमेदवारहरूको पक्षमा चुनावी प्रचार गर्ने क्रममा मंगलबार उनले भेनेजुएलाबाट भइरहेको तेल आपूर्तिको प्रशंसा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकी मिडिया ‘द हिल’का अनुसार ट्रम्पले भेनेजुएला समृद्ध देश बन्ने र भविष्यमा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने बताए । उनले त्यसो भए राष्ट्रपतिको सट्टा गभर्नरका लागि चुनाव गर्नुपर्ने टिप्पणी समेत गरे । यसअघि ट्रम्पले भेनेजुएलाले अमेरिकालाई उपहारस्वरूप १० लाख ब्यारेल कच्चा तेल पठाएको बताएका थिए ।

उक्त तेल टेक्सासका रिफाइनरीमा प्रशोधन गरिने जनाइएको छ । ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेक्सासको कर्पस क्रिस्टीमा तेल बोकेको एक ट्यांकरको अवलोकनसमेत गरेका समाचारमा उल्लेख छ । ट्रम्पले यसअघि पनि भेनेजुएलालाई अमेरिकी राज्य बनाउने प्रस्तावबारे टिप्पणी गरेका थिए ।

यस वर्षको सुरुआतमा उनले यस विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । उनले क्यानाडालाई पनि अमेरिकाको राज्य बनाउने अभिव्यक्ति दिएका थिए । तर, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले गत मे महिनामा आफ्नो देश अमेरिकाको राज्य बन्ने कुनै योजना नरहेको स्पष्ट पारेकी थिइन् ।

उनले भेनेजुएलाले आफ्नो अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र इतिहासको रक्षा गर्ने बताएकी थिइन् । ट्रम्पले भेनेजुएलासँगको सम्बन्ध सुधार भएको र ठूला तेल कम्पनीहरूले त्यहाँ अर्बौं डलर लगानी गरिरहेको पनि बताएका छन् । उनले अमेरिकाले ठूलो परिमाणमा तेल उत्पादन गरिरहेको उल्लेख गर्दै कार्यक्रममा उपस्थित तेल व्यवसायी ह्यारोल्ड हम्मको नामसमेत लिएका थिए ।

अर्काेतर्फ अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले गरेको समर्थनका कारण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निश्चित देखिएको हार सम्भावित बराबरी वा जितमा परिणत भएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै आफूले नेतन्याहुलाई समर्थन गरेपछि परिस्थिति परिवर्तन भएको बताएका हुन् ।

‘यो सबै राष्ट्रपति ट्रम्पको समर्थनपछि भएको हो । उहाँ मध्यपूर्व, इजरायल र संयुक्त राज्य अमेरिकाको हित चाहनुहुन्छ,’ ट्रम्पले लेखेका छन् । इजराइलको संसदीय निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले अग्रता कायम राखेको छ।

एकतिहाइभन्दा बढी मतगणना सकिँदा लिकुड पहिलो र विपक्षी नेता गादी आइसेनकोटको याशार पार्टी दोस्रो स्थानमा छ। कतारी मिडिया अलजजिराका अनुसार इसराइलको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरणमा २१ लाखभन्दा बढी मत गणना भइसकेको छ।

गणना भएका वैध मतमध्ये लिकुडले २१.७ प्रतिशत र याशारले १५.७२ प्रतिशत मत पाएका छन्। अरब नेतृत्वको संयुक्त सूची ९.२२ प्रतिशत मतसहित तेस्रो स्थानमा छ। टाइम्स अफ इजराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।

आइसेनकोटको गठबन्धनले ४७ सिट र अरब दलहरूले १६ सिट पाउने प्रारम्भिक आकलन छ। यसअघि सार्वजनिक भएका एक्जिट पोलहरूले नेतन्याहूको गठबन्धनलाई ५१ देखि ५२ सिट र आइसेनकोटको समूहलाई ४९ देखि ५१ सिट दिने अनुमान गरेका थिए। तर प्रारम्भिक मतगणनामा नेतन्याहूको गठबन्धनले बढी सिट पाउने देखिएको छ। इजराइली संसद् नेसेटमा कुल १२० सिट छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top