१३ कार्तिक , काठमाण्डौ ।
भारतबाट विकसित भएको चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा गएरातिदेखि वर्षा जारी छ । यसको प्रभाव नेपालमा क्रमशः कमजोर हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवातको प्रभावसँगै वर्षाको गतिविधि पनि कम हुँदै जाने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत हल्का वर्षा भइरहेको छ । विभागका मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः घट्दै जाने जानकारी दिए ।

यद्यपि मौसमको अवस्था स्थानअनुसार फरक हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन उनले आग्रह गरेका छन् । भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर भई न्यूनचापीय क्षेत्रका रूपमा परिणत भएकाले यहाँ यसको प्रभाव सामान्य रहेको विभागको भनाइ छ ।
चक्रवातका कारण नेपालमा वर्षा, हिमपात र हावाहुरीको असर तुलनात्मक रूपमा कम देखिएको छ । विभागले शुक्रबार दिउँसो र राति देशका अधिकांश भूभागमा बदली रहने तथा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । रातिको समयमा पनि देशका अधिकांश स्थानमा बदली रहने र केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा रेकर्ड गरिएको छ । उक्त केन्द्रमा ५० दशमलव २ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । रातभरि परेको पानीको मात्रा हेर्दा काभ्रेको रोशीमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा पनि १८ देखि २६ मिलिमिटरसम्म पानी परेको छ। सो अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागको विवरणमा उल्लेख छ ।
चक्रवातको प्रभाव क्रमशः कम हुँदै गए पनि वर्षा र हिमपातको सम्भावना कायम रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई मौसमको पूर्वानुमान हेरेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ। उक्त प्रणाली साँझतिर नेपालनजिक आइपुग्दा त्यसको प्रभावले करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने पोखरेलले बताएका छन्।
उनका अनुसार वर्षा हुने समय, स्थान र मात्रामा परिवर्तन हुन सक्छ। त्यसैले विशेषगरी साँझ र रातिको समयमा सतर्क रहन तथा मौसमसम्बन्धी आधिकारिक सूचना र अपडेटमा ध्यान दिन आवश्यक छ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण हाल तीनवटा प्रदेशमा मात्र वर्षा भइरहेको छ ।
सातै प्रदेशमा वर्षा भइरहे पनि ‘अर्नब’को प्रभाव तीन प्रदेशमा मात्र रहेको मौसमविद् पोखरेलको भनाइ छ । उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’को प्रभावका कारण हो । तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ ।
लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ । सोही कारण अपेक्षित वर्षा नभएको उनको अनुमान छ ।
‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको छ । तर रोचक कुरा के छ भने वर्षा गराउने प्रणाली भने सबै ठाउँमा एउटै छैन । सुदूरपश्चिम र कर्णालीमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण हो भने बागमतीदेखि कोशीसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित छ,’ पोखरेल भन्छन्, ‘गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा भने दुवै प्रणालीको कमजोर प्रभाव मात्र परेको छ, भनौँ, यता न उताको अवस्था । त्यसैले ती क्षेत्रमा अहिले खासै वर्षा हुन सकेको छैन ।’
रातभरि रोकिँदै र फेरि पर्दै गरेको झरीले शुक्रबार बिहानसम्म पनि विश्राम लिएको छैन। काठमाडौं उपत्यकासहित पूर्वी नेपालका धेरै ठाउँमा रातभरि पानी परेको छ। दिउँसोपछि यो वर्षा अझ फैलिने र राति पूर्वी नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा मध्यरातपछि वर्षा सुरु भएको थियो।
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पनि छिटपुटदेखि हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले नेपालमा परिरहेको वर्षा चक्रवात ‘अर्नब’को अवशेष प्रणालीको प्रभाव हो।
चक्रवात समुद्रमा रहँदा शक्तिशाली हुने भए पनि जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ। अर्नब पनि चक्रवातबाट कमजोर हुँदै न्यूनचापीय क्षेत्रका रूपमा परिणत भएको छ। तर प्रणाली कमजोर हुँदैमा त्यसको प्रभाव तत्कालै सकिने होइन। बरु यो प्रणाली नेपाल नजिकिँदै गर्दा वर्षाको मात्रा बढ्ने देखिएको दाहालले बताए।
‘आज दिउँसोबाट वर्षा बिस्तारै बढ्दै जाने देखिन्छ। अपराह्न वा साँझतिरबाट पानी पर्ने क्रम अझ फैलिन्छ। बीचमा केही समय रोकिएजस्तो भए पनि वर्षा भइरहने सम्भावना छ,’ उनले भनेका छन् । मौसमविद दाहालका अनुसार आज रातिदेखि भोलि दिउँसोसम्म वर्षा अझ बढ्नेछ।
अहिले भइरहेको जस्तो एकनासको झरीभन्दा राति र भोलि बिहान पानी पर्ने क्रम केही तीव्र हुन सक्छ। काठमाडौं उपत्यकामा पनि आज राति दिउँसोको तुलनामा बढी पानी पर्ने सम्भावना छ। मौसमविद् दाहालका अनुसार शनिबार रातिदेखि भने वर्षाको क्रम बिस्तारै घट्दै जानेछ। आइतबार बिहानबाट वर्षा धेरै कम हुने अपेक्षा गरिएको छ।
यता अर्नब चक्रवातको प्रभावले वर्षा भइरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सामान्य रहेको छ। सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार बिहान ११ः२५ बजे सडकको अवस्थाबारे जानकारी दिँदै यातायात सुचारु रहेको जनाएको हो।
कार्यालयका अनुसार वर्षाका कारण सडकमा पहिरो जान सक्ने जोखिम भने कायम छ। त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्न कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ।



