एनपीएलका ६ खेल सकिदा कुन टिमको अवस्था कस्तो ?नेपाली नै नायक

१३ कात्तिक २०८३, शुक्रबार
Share this
707shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा विदेशी स्टार खेलाडीहरुका बीचमा पनि नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् ।

हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् । एनपीएल इतिहासमा यसरी लगातार छ खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेको पहिलो रेकर्ड हो ।

Advertisement

लिगको पहिलो खेलमा लुम्बिनीमा आबद्ध स्पिनर शेर मल्ल, दोस्रो म्याचमा चितवनमा आबद्ध कमल सिंह ऐरी, तेस्रो खेलमा कर्णालीमा आबद्ध स्पिनर युनिसविक्रम ठकुरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्समा आबद्ध राहुल यादव र छैटौँ म्याचमा कर्णाली याक्सका कप्तान सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ चुनिए ।

बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको सनसनीपूर्ण जित निकाल्यो । जसमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे । उनले अविजित ६२ रन बनाउनुका साथै बलिङमा पनि ४ विकेट हात पारेका थिए ।

Advertisement

यो खेलमा सोमपाल म्यान अफ दी म्याच चुनिए । बिहीबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ८ विकेटको जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव चम्किए । काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा राहुलले ४ विकेट चट्काउदै म्यान अफ दी म्याच चुनिए ।

बुधबार सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउने क्रममा दीपेन्द्रले अविजित ५१ रन र १ विकेट हात पारेका थिए । उनी खेलका उत्कृष्ट खेलाडी चुनिए ।

मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हरायो । जसमा युनिश विक्रम ठकुरीले ३ विकेट लिदैं प्लेयर अफ दी म्याच भए । मंगलबार नै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगरमाथि ८ रनको जित निकाल्दा कमलसिंह ऐरीले ४ विकेट लिए ।

उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए । सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई हराउँदा शेर मल्ल चम्किए । म्यान अफ दी म्याच समेत भएका शेरले ३ विकेट झारेका थिए । जारी एनपीएलमा हालसम्म पाँच अर्धशतक प्रहार भएका छन् ।

जसमा ३ नेपाली र २ विदेशी खेलाडीको नाममा छ । अर्धशतक हिकाउने नेपाली खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका ओपनर ब्याटर लोकेश बम रहेका छन् ।

विदेशी खेलाडीमा जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलान रहेका छन् । नेपाली खेलाडीहरु जारी सिजनमा बलिङ र ब्याटिङमा पनि शीर्ष स्थानमा रहेका छन् । बलिङमा जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् ।

उनले २ खेलमा ६ विकेट लिएका छन् । समान दुई खेलबाट समान ५ विकेट लिएका कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहेका छन् । दुई खेलबाटै ४ विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत खेलाडी चौथौ स्थानमा छन् ।

पाचौं स्थानमा भने एक खेलबाट ४ विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो अटाएका छन् । यस्तै ब्याटिङको पहिलो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ११३ रन जोडेका विराटनगरका लोकेश बम रहेका छन् ।

लोकेश प्रतियोगिताका व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन् । उनले कर्णालीकाविरुद्ध ८७ रन जोडेका थिए । दोस्रो स्थानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन् ।

ब्याटिङको तेस्रो र चौथो स्थानमा भने विदेशी खेलाडी अटाएका छन् । तेस्रो स्थानमा जनकपुरका मोइन अली छन् उनले एक खेलमा एक अर्धशतकसहित ७७ रन बनाएका छन् । चौथो स्थानमा रहेका कर्णालीका अरिफूल स्लामले दुई खेलबाट ७५ रन जोडेका छन् ।

पाचौं स्थानमा रहेका कर्णालीका नेपाली ब्याटर पवन सराफले २ खेलबाट ७३ रन हिर्काएका छन् । विश्व चर्चित खेलाडी समेत सहभागी प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशंसा गरेका छन् ।

उनले भने,‘विश्वका चर्चित खेलाडी समेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ । हामीले नेपाली क्रिकेटको व्यवशायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौं। जुन नेपाली खेलाडीले देखाइरहेका छन्। ’

प्रतियोगिताको उच्च स्कोर बनाउनेमा कर्णाली छ भने न्यून स्कोर बनाउने टोलीमा सुदूरपश्चिम छ । कर्णालीले १८७ रन बनाएको थियो भने सुदूरपश्चिमको ८७ रनमा समेटिन पुगेको थियो । प्रतियोगिताको उच्च साझेदारी भने जनकपुरका शैफ हसन र मोइन अलीबीच रहेको छ ।

हसन र अलीले काठमाडौंकाविरुद्ध तेस्रो विकेटका लागि गरेको ७९ रनको साझेदारी गरेका थिए । पहिलो ६ खेल सकिदासम्मको अंकतालिकामा कर्णाली याक्स शीर्षस्थानमा पुगेको छ। याक्सले खेलेका दुवै खेल जितेर ४ अंक जोडेको हो।

प्रतियोगितामा जितबापत २ अंक पाइन्छ। कर्णालीले दुई खेलमा दुवै जित हासिल गरेको छ। उसको नेट रनरेट (एनआरआर) +०.५३३ छ। टोलीको पछिल्लो फर्म लगातार दुई जित रहेको छ। यस्तै लुम्बिनी लायन्स एक खेल खेलेर एक जित र २ अंकसहित दोस्रो स्थानमा छ।

लायन्सको नेट रनरेट +४.५९९ पुगेको छ, जुन तालिकामा सबैभन्दा उच्च हो। यही कारण ऊ समान अंक भएका टोलीभन्दा माथि छ। चितवन राइनोज पनि एक खेलमा एक जित र २ अंकसहित तेस्रो स्थानमा छ। उसको नेट रनरेट +०.४०० छ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले दुई–दुई खेल खेलेका छन्। दुवैले एक जित र एक हारसहित २–२ अंक जोडेका छन्। नेट रनरेटका आधारमा बोल्ट्स (–०.०४१) चौथो र रोयल्स (–१.४३०) पाँचौँ स्थानमा छन्। विराटनगर किंग्स, काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स अंकविहीन छन् ।

विराटनगर किंग्स दुई खेल खेल्दा दुवैमा पराजित भएर अंकविहीन छ र छैटौँ स्थानमा छ । उसको एनआरआर –०.२६१ छ । काठमान्डु गोर्खाज एक खेल खेलेर पराजित हुँदै सातौँ स्थानमा छ । उसको नेट रनरेट –०.९४२ छ ।

पोखरा एभेन्जर्स पनि एक खेल हारेर –१.५४२ एनआरआरसहित आठौँ तथा अन्तिम स्थानमा रहेको छ। क्यानको आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top