क्रिप्टोमा खुंखार ह्याकर,एकै दिन ३.६४ अर्ब डलर बाहिरियो

१७ कात्तिक २०८३, मंगलबार
Share this
682shares

१७ कार्तिक , काठमाण्डौ ।

Advertisement

उत्तर कोरियाले क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कीर्तिमानी ह्याकिङमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। उत्तर कोरियाले उक्त आरोपलाई निरर्थक अभिव्यक्ति भन्दै खण्डन गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उनका बहिनी तथा उच्च सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त आरोप अमेरिकाले प्योङयाङको अन्तर्राष्ट्रिय छवि बिगार्ने उद्देश्यले लगाएको अर्को‘दुर्भावनापूर्ण प्रयास भएको बताएकी छन्।

Advertisement

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई), सेक्रेट सर्भिस तथा साइबर सुरक्षा विश्लेषकहरूले बाइनान्समा भएको उक्त ह्याकिङ उत्तर कोरियाले गराएको दाबी गरेका छन्। यसलाई हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकिङ घटनाका रूपमा वर्णन गरिएको छ ।

ब्लकचेन विश्लेषक तथा एफबीआईका अनुसार उक्त आक्रमण उत्तर कोरियाको राज्यसमर्थित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ले गरेको हो। उक्त समूहलाई ‘लाजरस ग्रुप’का नामले पनि चिनिन्छ। एफबीआईले यस समूहसँग सम्बन्धित क्रिप्टोकरेन्सी खातामा हुने कारोबार रोक्न उद्योग क्षेत्रका साझेदारहरूलाई सहयोग गर्न आग्रह गरेको छ।

उत्तर कोरियाको सामान्य मामिला विभागकी निर्देशकसमेत रहेकी किम यो जोङले विज्ञप्ति जारी गर्दै अमेरिकाले उत्तर कोरियालाई साइबर अपराधसँग जोड्ने पुरानै आरोप दोहो¥याएको बताएकी छन्। उनले विश्वका विभिन्न क्षेत्रमा हुने सबै साइबर अपराध उत्तर कोरियाले नै गरेको जस्तो भ्रामक प्रचार गरेर अमेरिकाले अन्तर्राष्ट्रिय जनमतलाई प्रभावित पार्न खोज्नु उत्तर कोरियाविरुद्धको गम्भीर राजनीतिक उक्साहट भएको बताएकी छन्।

यद्यपि, पछिल्ला वर्षहरूमा भएका कैयौँ ठूला साइबर आक्रमणमा उत्तर कोरियामाथि संलग्नताको आरोप लाग्दै आएको छ। तर, प्योङयाङले यस्ता आरोप निरन्तर अस्वीकार गर्दै आएको छ। यता विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्ममध्ये एक बाइनान्समा भएको ठूलो साइबर आक्रमणपछि प्रयोगकर्ताहरूले ठूलो परिमाणमा आफ्नो डिजिटल सम्पत्ति बाहिर लगेका छन्।

गत साता भएको आक्रमणका कारण कारोबार सेवा प्रभावित भएपछि आइतबार पुनः सञ्चालनमा आएको बाइनान्सबाट ग्राहकहरूले खुद ३ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सम्पत्ति निकासी गरेका हुन्। साइबर आक्रमणपछि कम्पनीले सुरक्षालाई प्राथमिकता दिँदै आफ्ना विभिन्न कारोबार सेवा अस्थायी रूपमा बन्द गरेको थियो।

प्रारम्भिक विवरणअनुसार उक्त घटनाले करिब ६ अर्ब ३० करोड डलर बराबरका डिजिटल सम्पत्तिलाई प्रभावित पारेको थियो। घटनालाई क्रिप्टोकरेन्सी क्षेत्रकै सबैभन्दा ठूलो साइबर आक्रमणमध्ये एक मानिएको छ। बाइनान्सले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर १ मा बिहान ६ बजेदेखि दिउँसो ३ बजेर ३० मिनेटसम्मको अवधिमा प्रयोगकर्ताले ठूलो रकम निकासी गरेका थिए।

उक्त समयमा प्लेटफर्मबाट ४ अर्ब ६४ करोड ९० लाख डलर बराबरको सम्पत्ति बाहिरिएको थियो भने १ अर्ब १ करोड डलर बराबरको नयाँ रकम प्लेटफर्ममा जम्मा भएको थियो। जम्मा र निकासीबीचको अन्तरका आधारमा बाइनान्सबाट खुद ३ अर्ब ६४ करोड डलर बराबरको डिजिटल सम्पत्ति बाहिरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आक्रमणपछि सेवा पुनः सञ्चालन हुँदा प्रयोगकर्ताहरूले एकैपटक ठूलो मात्रामा रकम निकाल्न खोजेका थिए। यसले गर्दा सुरुका केही घण्टामा निकासीको दर अस्वाभाविक रूपमा बढेको थियो। तर समय बित्दै जाँदा निकासीको चाप क्रमशः कम हुँदै गएको र कारोबारको अवस्था सामान्य बन्दै गएको बाइनान्सको भनाइ छ।

यस्तो ठूलो परिमाणमा रकम बाहिरिनुलाई प्रयोगकर्ताहरूले आफ्नो लगानीको सुरक्षाप्रति देखाएको सतर्कताका रूपमा पनि हेरिएको छ। विशेषगरी ठूलो साइबर आक्रमणपछि कुनै पनि डिजिटल कारोबार प्लेटफर्मप्रति प्रयोगकर्ताको विश्वास कायम राख्नु चुनौतीपूर्ण हुने गरेको छ।

बाइनान्सले आक्रमणबाट प्रभावित सम्पत्तिमध्ये करिब ९५ प्रतिशत हिस्सा व्यवस्थापन गरिसकेको जनाएको छ। यद्यपि बाँकी सम्पत्तिको व्यवस्थापन तथा पुनः प्राप्तिका लागि थप समय लाग्न सक्ने कम्पनीले स्वीकार गरेको छ। कम्पनीले यस घटनाबाट ग्राहकलाई पर्न सक्ने आर्थिक क्षतिको जिम्मेवारी आफूले लिने प्रतिबद्धता पनि दोहो¥याएको छ।

प्रयोगकर्ताको सम्पत्तिमा कुनै कमी हुन नदिने उद्देश्यले विभिन्न आर्थिक स्रोत परिचालन गरिएको बाइनान्सको दाबी छ। बाइनान्सका अनुसार प्रभावित सम्पत्तिको व्यवस्थापनका लागि कम्पनीको आन्तरिक कोष, फ्युचर्स इन्स्योरेन्स कोष तथा आपत्कालीन सञ्चिति रकम प्रयोग गरिएको छ।

कम्पनीले आक्रमणबाट उत्पन्न हुन सक्ने क्षतिलाई सम्बोधन गर्न ६ अर्ब ३४ करोड डलरभन्दा बढी रकम रिजर्भमा राखेको जानकारी यसअघि नै दिएको थियो।बाइनान्सले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चोरीका कारण उत्पन्न हुने आर्थिक भार कम्पनी आफैँले व्यहोर्ने स्पष्ट पारेको छ।

ग्राहकको सम्पत्ति सुरक्षित राख्नु कम्पनीको प्राथमिकता भएको उल्लेख गर्दै घटनाबाट प्रभावित प्रयोगकर्तालाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। बाइनान्सले यसअघि सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार साइबर आक्रमणको सुरुवात कम्पनीका एक इन्जिनियरले प्रयोग गर्ने ल्यापटपमा अनधिकृत पहुँच स्थापित भएपछि भएको हुन सक्ने आशंका गरिएको छ।

ह्याकरहरूले उक्त उपकरणमार्फत प्रणालीमा प्रवेश गर्ने बाटो फेला पारेको र त्यसको प्रयोग गरी अनधिकृत कारोबार गर्न सफल भएको प्रारम्भिक अनुसन्धानले देखाएको कम्पनीको भनाइ छ।यद्यपि घटनाको सम्पूर्ण प्राविधिक पक्षबारे अनुसन्धान जारी रहेकाले आक्रमणको वास्तविक स्वरूप र त्यसमा प्रयोग गरिएका सबै विधिबारे थप विवरण आउन बाँकी छ।

यो आक्रमण बाइनान्सको अन्तर्राष्ट्रिय कारोबार प्लेटफर्म बाइनान्स डटकममा भएको हो। कम्पनीले भने आफ्नो अमेरिकी प्लेटफर्ममा यस घटनाको कुनै प्रत्यक्ष प्रभाव नपरेको जनाएको छ।आक्रमणको जानकारी पाएलगत्तै बाइनान्सले प्रभावित डिजिटल सम्पत्तिका जारीकर्ताहरूलाई आवश्यक सुरक्षा कदम चाल्न र सम्भव भएसम्म चोरी भएका सम्पत्ति रोक्का गर्न आग्रह गरेको थियो।

यसले चोरी भएको रकमको थप स्थानान्तरण रोक्ने प्रयासलाई समेत तीव्रता दिएको थियो। बाइनान्सबाट ३ अर्ब ६४ करोड डलर बराबरको रकम बाहिरिए पनि कम्पनीसँग रहेको कुल डिजिटल सम्पत्तिको तुलनामा यो रकम सानो हिस्सा मात्रै भएको बताइएको छ।

बाइनान्स निजी स्वामित्वमा सञ्चालित कम्पनी भएकाले यसको वास्तविक बजार मूल्य तथा कुल वित्तीय अवस्थाबारे सार्वजनिक रूपमा पूर्ण विवरण उपलब्ध छैन। तर सन् २०२४ मा कम्पनीले आफ्नो व्यवस्थापन तथा जिम्मेवारीमा १६० अर्ब डलरभन्दा बढी मूल्य बराबरको डिजिटल सम्पत्ति रहेको जानकारी दिएको थियो।

यही आधारमा हेर्दा पछिल्लो साइबर आक्रमण र त्यसपछि भएको ठूलो निकासीले कम्पनीमाथि तत्काल आर्थिक तथा सञ्चालनसम्बन्धी दबाब सिर्जना गरे पनि यसको समग्र आर्थिक अवस्थामै कस्तो प्रभाव पर्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

क्रिप्टोकरेन्सी बजारमा प्रयोगकर्ताको विश्वास नै कारोबार प्लेटफर्मको सबैभन्दा महत्वपूर्ण आधार मानिन्छ। त्यसैले बाइनान्सका लागि चोरी भएको सम्पत्ति व्यवस्थापन गर्नु मात्रै पर्याप्त हुने छैन। भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा प्रणालीलाई थप बलियो बनाउनु र प्रयोगकर्ताको विश्वास पुनः स्थापित गर्नु पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

बाइनान्सले हाल बिटकोइन र इथरियमसहित दुई दर्जनभन्दा बढी प्रमुख क्रिप्टोकरेन्सीमा निकासी सुविधा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ। बाँकी सेवा तथा कारोबार सुविधा पनि आवश्यक सुरक्षा परीक्षण पूरा भएपछि क्रमशः सञ्चालनमा ल्याइने कम्पनीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top