एल निनोले पूर्वी एसियामा शक्तिशाली आँधीको जोखिम

१९ कात्तिक २०८३, बिहीबार
Share this
792shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढेसँगै विकसित भइरहेको एल निनो मौसमी प्रणालीका कारण पूर्वी एसियाका विभिन्न देशमा शक्तिशाली आँधी, तुफान र बाढीको प्रकोप बढेको छ । पछिल्ला केही महिनामा आएको लगातारको तुफानले फिलिपिन्स, ताइवान, चीन र जापानमा जनधनको ठूलो क्षति पु¥याएको छ ।

बिबिसिका अनुसार सन् २०२६ मा विकसित एल निनोका कारण यस क्षेत्रमा सामान्यभन्दा बढी शक्तिशाली तुफान उत्पन्न भइरहेका छन् । पछिल्ला केही महिनामा दर्जनौँ मानिसको मृत्यु भएको छ भने प्रमुख विमानस्थल बन्द गर्नुपर्ने अवस्था आएको छ । कृषि उत्पादन, सडक तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ ।

Advertisement

गत अक्टोबरमा आएको सुपर टाइफुन चम्पीले ताइवानलाई गम्भीर जोखिममा पारेको थियो । प्रतिघण्टा २९५ किलोमिटरको गतिमा चलेको हावाहुरीसहितको उक्त तुफान पाँचौँ श्रेणीको शक्तिशाली आँधीसरह थियो । ताइवानमा प्रत्यक्ष रूपमा प्रवेश नगरे पनि यसले भारी वर्षा गराउनुका साथै हङकङ, ताइवान र जापानमा सयौँ उडान रद्द गराएको थियो ।

जापानको ओकिनावा क्षेत्रमा १५ हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो । यसअघि जुनमा जापानतर्फ एकैपटक दुईवटा शक्तिशाली तुफान अघि बढेपछि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । जुलाईमा आएको ट्रपिकल स्टर्म नाराले चीनको दक्षिणी क्षेत्रमा बाढी निम्त्याउँदा हजारौँ मानिस विस्थापित भएका थिए ।

अगस्टमा आएको सुपर टाइफुन डल्फिनले पूर्वी चीनमा बाढी र मानवीय क्षति निम्त्याएको थियो । एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेको छ । जापानको मौसम विज्ञान निकायले निगरानी गर्ने भूमध्यरेखीय प्रशान्त क्षेत्रमा गत महिना समुद्री सतहको तापक्रम सामान्यभन्दा चार डिग्री सेल्सियस बढी पुगेको थियो ।

सन् १९४९ देखि अभिलेख राख्न थालिएयताकै यो उच्च तापक्रम हो । फिलिपिन्सको राष्ट्रिय मौसम विभागकी जलवायु विज्ञ आना लिजा सोलिसले प्रशान्त महासागरलाई ‘ज्वरोले तातेको शरीर’ सँग तुलना गरेकी छन् । उनका अनुसार महासागरमा सञ्चित तापले थप शक्तिशाली तुफान उत्पन्न गराउन सक्छ ।

जलवायु विज्ञ राफाएला जेन डेल्फिनो र उनको टोलीले गरेको अध्ययनअनुसार तापक्रम बढ्दा फिलिपिन्समा आउने शक्तिशाली तुफानबाट हुने कुल वर्षा २६ प्रतिशतसम्म बढ्न सक्छ । यसले बाढीको जोखिम अझ गम्भीर बनाउने देखिएको छ ।

जापान, चीन र फिलिपिन्सले सम्भावित विपद् सामना गर्न पूर्वतयारी तीव्र बनाएका छन् । तर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले एल निनोको प्रभाव न्यूनीकरणका लागि सरकारहरूले तत्काल दीर्घकालीन तयारी गर्नुपर्ने चेतावनी दिएको छ ।

सडक, बस्ती, जल व्यवस्थापन र सामाजिक सुरक्षाको पूर्वयोजनाले नै विपद्का बेला समुदाय कति सुरक्षित रहन्छन् भन्ने निर्धारण गर्ने उसको भनाइ छ । यस्तै शक्तिशाली एल निनोका कारणले भारत र नेपालमा ठूलो वर्षा तथा दक्षिण अमेरिकामा खडेरीको प्रभाव देखिएको छ ।

यसले धान, मकै, कफी र अन्य प्रमुख बालीको उत्पादन प्रभावित पार्ने जोखिम बढाएपछि आउँदो वर्ष खाद्यान्नको मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने विश्व बैंकले अनुमान गरेको छ । यसैबीच हालै भारतको दक्षिणपूर्वी तटमा चक्रवातका कारण कम्तीमा तीन जनाको ज्यान गएको र झन्डै एक लाख मानिस विस्थापित भएका थिए ।

चक्रवात नेपालतर्फ अघि बढ्दा उच्च हिमाली क्षेत्रमा ठूलो हिमपात र वर्षा भएको थियो । बोलिभियामा खडेरीले ७८ हजार परिवार प्रभावित हुनुका साथै ७५ हजारभन्दा धेरै गाईवस्तु मरेपछि राष्ट्रपति रोड्रिगो पाजले आपत्काल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । पेरुमा वन डढेलोका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ ।

सिकागो विश्वविद्यालयको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार एल निनोका कारण जुनयता विश्वभर गर्मीका कारण थप चार लाख ८४ हजार ५०० जनाको ज्यान गएको अनुमान छ । आउँदो ६ महिनामा थप तीन लाख ७३ हजार जनाको ज्यान जान सक्ने आकलन छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार वर्षा कम हुँदा एशियामा धान तथा मेक्सिको, मध्य अमेरिका र दक्षिणी अफ्रिकामा मकै र सिमीको उत्पादन प्रभावित हुन सक्छ । पूर्वी अफ्रिकाका ज्वार र बाजरा तथा अन्य क्षेत्रको गहुँ उत्पादनमा पनि असर पर्न सक्छ ।

अत्यधिक वा अपर्याप्त वर्षाले कफी र कोकोको उत्पादन तथा गुणस्तर घटाउन सक्छ । बाली उत्पादनमा कमी आए खाद्यान्नको अन्तर्राष्ट्रिय मूल्य बढ्नुका साथै आयातमा निर्भर देशको खर्च र किसानको आम्दानी प्रभावित हुने जोखिम छ । एल निनो विश्वव्यापी जलवायु घटना हो ।

यो प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखिने गर्छ र पृथ्वीको प्राकृतिक मौसमी चक्रको एक हिस्सा हो । यस अवधिमा प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रको सतहको तापक्रम बढ्दा विश्वभर हावा, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन आउँछ । यसले प्रायः चरम मौसमी अवस्था निम्त्याउने गर्छ ।

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधि अफ्रिकाको ग्रेटर हर्न क्षेत्रका भूमध्यरेखीय र दक्षिणी भागमा वर्षाका लागि महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा इथियोपिया, केन्या र सोमालियाका केही क्षेत्रमा वार्षिक कुल वर्षाको ७० प्रतिशतसम्म तथा रुवान्डा, बुरुन्डी, तान्जानिया र युगान्डाका केही क्षेत्रमा वार्षिक कुल वर्षाको ४० प्रतिशतसम्म वर्षा हुने गर्छ ।

अन्तरसरकारी विकास प्राधिकरण (आईजीएडी) अन्तर्गतको जलवायु पूर्वानुमान तथा अनुप्रयोग केन्द्र (आईसीपीएसी) ले यस क्षेत्रका राष्ट्रिय मौसम तथा जलविज्ञान सेवाहरूसँग मिलेर सार्वजनिक गरेको नयाँ मौसमी जलवायु पूर्वानुमानअनुसार सन् २०२६ को अन्तिम तीन महिनामा यस क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने भनिएको छ । जसको प्रमुख कारण विकसित भइसकेको एल निनोलाई औंल्याएको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सोमालियामा डिसेम्बरसम्म ठूलो बाढीको चेतावनी दिएको छ । पूर्वानुमानको सबैभन्दा बलियो संकेत देखिएको क्षेत्र मध्य तथा दक्षिणी सोमालियाका ठूलो भूभागमा फैलिएको छ । उक्त क्षेत्रमा औसतभन्दा बढी मौसमी वर्षा हुने सम्भावना ९० प्रतिशत छ ।

जबकि सामान्य वर्षा हुने र औसतभन्दा कम वर्षा हुने सम्भावना दुवै ५–५ प्रतिशत मात्र छ । विश्व मौसम संगठनका अनुसार पूर्वी अफ्रिकामा अक्टोबर–डिसेम्बरसम्मको वर्षायाममा केही भागमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ । सामान्यतया वर्षायाम सुरु हुने महिना नोभेम्बरदेखि दक्षिणी अफ्रिकामा कम वर्षा देखिएको छ ।

यसले कृषि उत्पादन, पानीको उपलब्धता र जनजीविकामा असर पार्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । दक्षिणपूर्वी एसियामा सामान्यभन्दा बढी तापक्रम र वर्षाको कमीले अत्यधिक गर्मीको जोखिम बढाउनुका साथै कृषि र पानीको आपूर्तिमा थप दबाब पार्न सक्छ । यस क्षेत्रमा डढेलो र त्यसबाट उत्पन्न धुवाँ तथा तुवाँलोको जोखिम पनि बढिरहेको छ ।

अमेरिकाको उत्तरपश्चिमी भाग र दक्षिण अमेरिकाको पश्चिमी क्षेत्रका दक्षिणी भूभागमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ । उत्तर अमेरिका र क्यारिबियन क्षेत्रको उत्तरी भागमा पनि औसतभन्दा बढी वर्षा हुने अनुमान छ। यसको विपरीत, मध्य अमेरिकाका केही भाग, दक्षिणी क्यारिबियन र अमेजन क्षेत्रमा खडेरीको जोखिम बढेको छ ।

एल निनोको तीव्रता हरेक पटक फरक हुन्छ । यसको प्रभाव पनि भौगोलिक अवस्थाअनुसार फरक देखिन्छ । यसपटकको एल निनो भने सन् १९४९ यताकै सबैभन्दा शक्तिशाली देखिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार सन् २०२६ को सेप्टेम्बरमा प्रशान्त महासागरको निनो–३ क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा ४ डिग्री सेल्सियस बढी पुगेको थियो ।

यसले सन् १९९७ मा कायम ३.६ डिग्री सेल्सियसको पुरानो कीर्तिमान तोडेको हो । एल निनोको यो अवस्था सन् २०२६ को अन्त्य र सन् २०२७ को सुरुवातसम्म कायम रहने अनुमान छ । एल निनोका कारण अत्यधिक गर्मी बढ्दा विश्वभर ४ लाख ५१ हजार थप मानिसको मृत्यु हुन सक्ने वैज्ञानिकहरूको प्रक्षेपण छ ।

सिकागो विश्वविद्यालयअन्तर्गतको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले सन् २०२६ जुनदेखि २०२७ फेब्रुअरीसम्म सामान्य अवस्थाको तुलनामा यति धेरै थप गर्मीजन्य मृत्यु हुन सक्ने देखाएको हो । यसको सबैभन्दा बढी असर कमजोर आर्थिक अवस्था भएका देश तथा समुदायमा पर्ने जोखिम छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनोको अवस्था कायम रहने सम्भावना झन्डै शतप्रतिशत छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top