एकसाथ दुई लाख मानिस नेदरल्याण्ड्सको सडकमा,कारण इजरेल (भिडिओसहित)

२३ कात्तिक २०८३, सोमबार
Share this
678shares

२३ कार्तिक , काठमाण्डौ ।  नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा गाजामाथि इजरायलले गरिरहेको सैन्य आक्रमणको विरोधमा विशमल प्रर्दशन भएको छ। दुई लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । आइतबार आयोजित ‘रेड लाइन’ नाम दिइएको प्रदर्शनमा सहभागीहरूले इजरायलसँगको व्यापारिक सम्बन्धमा कडाइ गर्न, हतियार बिक्री पूर्ण रूपमा रोक्न र गाजामा भइरहेको हिंसाविरुद्ध ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् । प्रदर्शन आयोजक एम्नेस्टी इन्टरनेसनलको नेदरल्यान्ड्स शाखाका अनुसार प्रदर्शनमा दुई लाखभन्दा बढी मानिस सहभागी भएका थिए । प्रदर्शनकारीमध्ये अधिकांशले रातो कपडा लगाएका थिए । उनीहरूले इजरायलसँग नेदरल्यान्ड्सले कायम राखेको आर्थिक तथा सैन्य सम्बन्ध अन्त्य गर्न र इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । ‘त्यहाँ भइरहेको घटना अमानवीय छ,’ विशाल प्रदर्शनमा सहभागी माइक भान डोङ्गेनले भने । उनका अनुसार नेदरल्यान्ड्स सरकारले इजरायलविरुद्ध कुनै गम्भीर कदम चाल्न सकेको छैन । ‘मेरो विचारमा सरकारले केही पनि गरिरहेको छैन । उनीहरू कुनै गम्भीर कदम चाल्ने आँट गर्दैनन्,’ उनले भने । आइतबारको प्रदर्शनका लागि एम्स्टर्डमको सामान्यतया व्यस्त रहने एउटा सडक सवारीसाधनका लागि बन्द गरिएको थियो ।

Advertisement

प्रदर्शनकारीहरू सडकमा मार्च गरिरहेका बेला बस बिसौनीमा उभिएका एक व्यक्तिले लाउडस्पिकरमार्फत ‘फ्रि, फ्रि प्यालेस्टाइन’ अर्थात् ‘प्यालेस्टाइनलाई स्वतन्त्र गर’ भन्ने नारा लगाएका थिए । मार्चमा सहभागी हजारौँ मानिसले पनि उक्त नारालाई दोहो¥याएका थिए ।प्रदर्शनकारीले एम्स्टर्डमको म्युजियम स्क्वायरमा समेत ठूलो संख्यामा भेला भएर इजरायलसँग नेदरल्यान्ड्स सरकारले कायम राखेको आर्थिक तथा सैन्य सम्बन्धको विरोध गरेका थिए । सन् २०२३ अक्टोबरदेखि गाजामा इजरायलले गरेको सैन्य आक्रमणमा कम्तीमा ७४ हजार प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये २१ हजार बालबालिका रहेको समाचारमा उल्लेख छ । आइतबारको प्रदर्शन सन् २०२५ अक्टोबरको सुरुवातमा भएको विशाल प्रदर्शनकै निरन्तरता थियो । त्यसअघि गत वर्ष जुनमा पनि प्रदर्शनकारीहरूले नेदरल्यान्ड्सको हेग सहरमा ‘रेड लाइन’ प्रदर्शन गरेका थिए । गाजामा गत वर्ष अक्टोबर १० मा युद्धविराम लागू भएको थियो । तर युद्धविरामपछि पनि इजरायलले लगभग दैनिक रूपमा आक्रमण जारी राखेको र प्यालेस्टिनी नागरिकको मृत्यु भइरहेको समाचारमा उल्लेख छ ।गाजाको युद्धका कारण नेदरल्यान्ड्स र इजरायलबीचको सम्बन्धसमेत तनावपूर्ण बनेको छ । इजरायलमाथि नयाँ प्रतिबन्ध लगाउने प्रयास असफल भएपछि नेदरल्यान्ड्सका विदेशमन्त्रीले गत वर्ष राजीनामा दिएका थिए । यसैबीच, नेदरल्यान्ड्समा गत फेब्रुअरीमा नयाँ अल्पमत गठबन्धन सरकार गठन भएको थियो । उक्त सरकारले इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा रहेका बस्तीबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । नेदरल्यान्ड्स सरकार र अधिकांश अन्तर्राष्ट्रिय समुदायले ती बस्तीलाई गैरकानुनी मान्दै आएका छन् । आयात प्रतिबन्धपछि इजरायल र नेदरल्यान्ड्सबीच कूटनीतिक विवादसमेत उत्पन्न भएको छ । प्रधानमन्त्री रोब येटेन गत वर्ष आयोजित प्रदर्शनमा सहभागी भएका थिए । तर आइतबारको प्रदर्शनमा उनी उपस्थित थिएनन् । उनले शुक्रबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा आफ्नो सरकारको कदमको बचाउ गरेका थिए । ‘त्यहाँको भयावह अवस्था कम गर्न हामी हरेक दिन र हरेक साता सम्भव भएसम्मका सबै प्रयास गरिरहेका छौँ,’ उनले भनेका थिए । उनले गाजासम्बन्धी प्रतिबद्धता पालना गर्न इजरायलमाथि राजनीतिक तथा कूटनीतिक दबाब थप बढाइरहेको पनि बताएका थिए । तर एम्स्टर्डममा भएको विशाल प्रदर्शनले सरकारका अहिलेसम्मका कदमप्रति नागरिक असन्तुष्टि कायमै रहेको देखाएको छ । प्रदर्शनकारीहरूले इजरायलसँगको व्यापारिक तथा सैन्य सम्बन्ध अन्त्य नगरेसम्म सरकारमाथि दबाब जारी राख्ने संकेत गरेका छन् ।

यस्तै, अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा इजरायली झण्डा बोकेका र यहुदीविरोधी गतिविधिको निन्दा गर्ने प्लेकार्ड प्रदर्शन गरेका सयौँ मानिसले आइतबार बिहान साइकल ¥यालीको विरोध गरेका छन्। आयोजकहरूले इजरायलका समर्थकहरूको स्वामित्वमा रहेका व्यवसायलाई लक्षित गर्दै साइकल बहिष्कार ¥याली आयोजना गरेका थिए। राज्य तथा स्थानीय नेताहरूले उक्त प्रदर्शनको व्यापक निन्दा गर्दै यसले यहुदी समुदायको स्वामित्वमा रहेका छवटा व्यवसायलाई निशाना बनाएको बताएका छन्। आइतबार ¥यालीमा सहभागी साइकलयात्रीलाई सयौँ प्रदर्शनकारीले घेरेर विरोध जनाएका थिए। यस क्रममा अमेरिकाको पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा दुवै पक्षबीच भनाभनसमेत भएको थियो। फिलाडेल्फियाको सेन्टर सिटीस्थित रिटनहाउस स्क्वायरमा एक प्रदर्शनकारीले साइकलयात्रीतर्फ औँला देखाउँदै ‘आफ्नो अनुहार देखाऊ’ भन्दै चर्को आवाजमा विरोध गरेका थिए। साइकलयात्रीमध्ये धेरैले मास्क, हेल्मेट र घामबाट बच्ने चस्मा लगाएका थिए। केहीले प्यालेस्टिनी झण्डा बोकेका थिए भने केहीले केफिया नामक परम्परागत अरबी कपडा ओढेका थिए। बहिष्कारको सूचीमा रहेका व्यवसायहरू आसपासका विभिन्न स्थानमा फैलिएका थिए। तीमध्ये केही व्यवसाय एकअर्काबाट धेरै ब्लकको दूरीमा रहेका थिए। ग्रेटर फिलाडेल्फियाको यहुदी महासंघका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माइकल बालाबानले घटनाको निन्दा गरेका छन्। उनले यहुदी समुदायमाथि आक्रमण हुँदा त्यसको विरोधमा ठूलो संख्यामा मानिसहरू उभिनुपर्ने बताए। फिलाडेल्फियालाई भ्रातृत्व र प्रेमको सहरका रूपमा चिनिने उल्लेख गर्दै उनले त्यहाँ घृणाको स्थान हुन नहुने धारणा व्यक्त गरे। साथै, यहुदी भएकै कारण आफूहरूमाथि विरोध नगर्न पनि उनले आग्रह गरे। सहरको वाल्नट स्ट्रिटमा एक महिलाले ‘घृणा भनेको भ्रातृत्वपूर्ण प्रेम होइन’ लेखिएको प्लेकार्ड शान्त रूपमा उठाएकी थिइन्। त्यही सडकमा केही दूरीमा अर्का एक व्यक्तिले ‘पैसालाई माया गर्ने जायोनिस्टहरू’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

Advertisement

उता इजरायलमा भने यतिबेला नयाँ सरकार गठनले राजनीति तातेको छ । नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले तयारी सुरु गरेका छन् । उनले सरकार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग मिलेरै बनाउने संकेत गरेका छन् । बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका अति–दक्षिणपन्थी सहयोगीमध्ये एकसँग मिलेर सरकारमा सामेल हुन सहमत छु, तर सरकार मेरो नेतृत्वमा गठन हुनुपर्नेछ।’ उनले नेतन्याहुको नेतृत्वमा रहेको लिकुड पार्टी र अति–दक्षिणपन्थी अर्थमन्त्री बेत्जालेल स्मोट्रिचको नेतृत्वमा रहेको धार्मिक जायनिस्ट पार्टीलाई नयाँ सरकारमा समावेश गर्न तयार रहेको बताएका हुन्। उनले अगाडि भने, ‘यदि लिकुड र धार्मिक जायनिस्ट पार्टीका सदस्यहरूले राष्ट्रपतिले भनेझैँ अब एकताको समय हो भन्ने कुरामा साँच्चै विश्वास गर्छन् भने म मेरो नेतृत्वमा र मैले स्थापित गरेका सिद्धान्तमा आधारित सरकार गठनमा सहमत नहुनुको कुनै कारण देख्दिनँ।’ उनले इजरायलको लोकतन्त्रले यसको इतिहासको सबैभन्दा कमजोर अवधिमध्ये एकको सामना गरिरहेको पनि बताए।

इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि आइजेनकोटलाई शनिबार नै अनुमति दिइसकेका छन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। प्रधानमन्त्री बेन्जामिन नेतुन्याहुलाई केवल ४६ सांसदको समर्थन छ, जुन बहुमतभन्दा धेरै कम हो। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका दिएनन्। आइजेनकोटलाई चार यहुदी दल र दुई अरब दलसहित ६ पार्टीका ६७ सांसदको समर्थन छ। चार यहुदी दलसँग कुल ४८ सिट छन् भने दुई अरब दलसँग १९ सिट छन्। सबैभन्दा ठुलो चुनौती के हो भने यी ६ पार्टीमध्ये ३ यहुदी दल अरब दलसँग मिलेर सरकार बनाउन इच्छुक छैनन्। आइजेनकोटले पनि चुनावअघि अरब दललाई सरकारमा समावेश गर्न अस्वीकार गरेका थिए। यद्यपि अरब दलहरूले नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई समर्थन गरिएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top