२३ कार्तिक , काठमाण्डौ ।
सर्लाहीमा जुवा–तास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न तीन स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ब्रह्मपुरी गाउँपालिका–१ स्थित धनैस साह कलवारको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
त्यस्तै, सोही गाउँपालिकामा रहेको सन्तोष साहको घरबाट ७ जना र मलंगवा नगरपालिका–८ स्थित भागनारायण चौधरीको घरबाट थप ९ जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली नगद ९ लाख ४९ हजार ९ सय ८५ रुपैयाँ र भारतीय नगद ३१ हजार ५० रुपैयाँ बरामद गरेको जनाएको छ।
यसका साथै माछापुच्छ्रे बैंकको १ लाख ३० हजार रुपैयाँ उल्लेख भएको एक थान चेक, ९ बुक तास, ६ थान पासा, पासा खेलाउन प्रयोग हुने सामग्री तथा अन्य सामान पनि बरामद गरिएको छ।
त्यसैगरी, प्रहरीले तीनवटै स्थानबाट गरी २५ थान मोबाइल फोनसमेत बरामद गरेको छ।
जुवा खेल्न प्रयोग भएका नगद तथा सामग्री नियन्त्रणमा लिएर पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जुवातास नियन्त्रण तथा गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।



