नेपाललाई डेढ अर्ब सहयोग गरेका एनभिडियाका सीईओमाथि गम्भीर आरोप

२३ कात्तिक २०८३, सोमबार
Share this
709shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

गएको भदौ १० को विनाशकारी भोटेकोशी बाढीबाट अकल्पनीय क्षति ब्यहोरेको नेपाल र यहाँका बाढीपीडितहरुलाई डेढ अर्ब सहयोग गरेको विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत यतिबेला गम्भीर आरोपमा परेका छन् ।

जसका कारण एनभिडियाले आफ्नै सीईओ जेन्सन हुआङमाथि स्वतन्त्र अनुसन्धान पनि सुरु गरिसकेको छ । चिनियाँ जासुस भएको आशंका गरिएकी व्यवसायी महिला एलिस हुआङसँग उनको सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि कम्पनीले अनुसन्धान थालेको हो ।

Advertisement

द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले एलिस हुआङ चीन सरकारका लागि काम गरिरहेको आशंका गरेको थियो । उनी र जेन्सनबीच निकट सम्बन्ध रहेको पनि समाचारमा उल्लेख छ । यसैबीच, जेन्सनले आफ्नी पत्नीसँग विवाहबाहिर सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

उनले पत्नी र सन्तानसँग सार्वजनिक रूपमा माफी माग्दै आफ्नो गल्तीको कुनै बहाना नभएको बताएका छन् । ‘मैले मेरी पत्नीसँग विश्वासघात गरेँ । मेरा कारण पत्नी र सन्तानलाई चोट पुगेको छ । म यसप्रति गहिरो दुःखी छु,’ उनले भनेका छन् । उनले आफ्नो कामको पूर्ण जिम्मेवारी लिने र एनभिडियाका कर्मचारी, सञ्चालक समिति तथा सेयरधनीप्रतिको दायित्व पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।

एनभिडियाको सञ्चालक समितिले जेन्सन विदेशी गुप्तचर गतिविधिको निशानामा परेको समाचार सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको जनाएको छ । बोर्डका अनुसार अहिलेसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहावट भएको कुनै प्रमाण छैन । तर, उपलब्ध सबै सूचनाको जाँच गरिनेछ ।

जेन्सनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । उनले एनभिडिया र अमेरिकी राष्ट्रिय सुरक्षाको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा जेन्सनसँग कुराकानी नगरेको बताएका छन् । उनले जेन्सनलाई असल व्यक्ति भन्दै अमेरिकाका लागि उनले महत्त्वपूर्ण काम गरेको टिप्पणी गरेका छन् ।

एलिस हुआङलाई हुआङ ले नामले पनि चिनिन्छ । उनी जेन्सनकी आफन्त होइनन् । उनी सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडसँग सम्बन्धित रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले एलिस र एक अमेरिकी नागरिकबीच भएको सञ्चार सम्पर्कको निगरानी गरेको थियो ।

पछि ती अमेरिकी नागरिक जेन्सन भएको पहिचान गरिएको थियो । तर, एलिसले चीनलाई कस्तो सूचना दिएको आशंका गरिएको हो भन्ने खुलेको छैन । उनले कहिलेदेखि यस्तो गतिविधि गरेको भन्ने पनि स्पष्ट छैन । उता, अमेरिकी संसद्का तीन रिपब्लिकन समितिका प्रमुखले जेन्सनलाई पत्र लेख्दै कम्पनीको सुरक्षा व्यवस्थाबारे जवाफ मागेका छन् ।

उनीहरूले विदेशी जासुसीबाट अमेरिकी प्रविधि जोगाउन अपनाइएका उपायबारे जानकारी दिन आग्रह गरेका छन् । जेन्सनले तीन दशकभन्दा लामो समयदेखि एनभिडियाको नेतृत्व गरिरहेका छन् । उनले एआई प्रविधिको सम्भावना पहिल्यै पहिचान गर्दै कम्पनीका चिपलाई एआई विकासमा प्रयोग गर्न सकिने बनाएका थिए ।

अहिले एनभिडियाका चिप ओपनएआई र मेटाजस्ता कम्पनीले प्रयोग गरिरहेका छन् । कम्पनीको बजार मूल्य करिब ४५ खर्ब अमेरिकी डलर पुगेको छ । एनभिडियाका एआई चिप अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धाको प्रमुख विषय पनि हुन् । अमेरिकाले चीनलाई अत्याधुनिक प्रविधिमा पहुँच सीमित गर्न चिप बिक्रीमा नियन्त्रण लगाउँदै आएको छ ।

चीनले भने एनभिडियाका प्रमुखलाई लक्षित गरी जासुसी गरिएको आरोपलाई ‘आधारहीन अड्कलबाजी’ भन्दै अस्वीकार गरेको छ । यता एनभिडियाले भने आइतबार जारी गरेको विज्ञप्तिमा स्वतन्त्र सञ्चालकहरूको समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा यस विषयमा अनुसन्धान गर्ने जनाएको छ ।

कम्पनीको सञ्चालक समितिले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनामा कुनै सम्झौता भएको छ भन्ने विश्वास गर्ने आधार अहिले समितिसँग छैन । तथापि, अनुसन्धानका क्रममा उपलब्ध सबै सूचनाको समीक्षा गरिनेछ ।’

समितिले ह्वाङ र उनको नेतृत्व टोलीप्रति आफ्नो विश्वास कायमै रहेको पनि जनाएको छ । अनुसन्धान जारी रहे पनि ह्वाङले नै कम्पनीको नेतृत्व गरिरहनेछन् । गत महिना अमेरिकी पत्रिका ‘द न्यु योर्क टाइम्स’ले ह्वाङ चिनियाँ जासुसी योजनाको सम्भावित निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढेको हो ।

एआई लगायत महत्त्वपूर्ण प्रविधि क्षेत्रमा विश्वव्यापी प्रभुत्व कायम गर्ने विषयमा अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ । एआई प्रविधिको तीव्र विस्तारसँगै एनभिडियाका चिप तथा प्रोग्रामिङ इन्टरफेसको माग अत्यधिक बढेको छ । यसका कारण कम्पनीको बजार मूल्य खर्बौं डलर पुगेको छ ।

चीनले आफ्नो प्रविधि तथा सैन्य क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सक्ने आशंकामा अमेरिकाले वर्षौंदेखि अत्याधुनिक चिप चीन निर्यातमा प्रतिबन्ध तथा नियन्त्रण लगाउँदै आएको छ । गत २९ अक्टोबरमा ‘द न्यु योर्क टाइम्स’ले विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा एलिस ह्वाङ नाम गरेकी चिनियाँ महिलाले एनभिडियाको प्रविधिसम्बन्धी गोप्य जानकारी प्राप्त गर्ने उद्देश्यले जेन्सेन ह्वाङसँग निकट सम्बन्ध स्थापित गर्न खोजेको दाबी गरेको थियो ।

तर, वासिङ्टनस्थित चिनियाँ दूतावासले यस प्रकरणमा जासुसीसम्बन्धी सबै आरोप अस्वीकार गरेको छ । उक्त समाचारअनुसार एलिस ह्वाङ कार्यरत कम्पनी मेगास्पिड एनभिडियाका ठूला ग्राहकहरूमध्ये एक बनेको थियो । उक्त कम्पनीले एनभिडियाबाट करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरका उपकरण खरिद गरेको समाचारमा उल्लेख छ ।

एलिस ह्वाङ र जेन्सेन ह्वाङबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकी संसद्मा दुवै प्रमुख दलका सांसदहरूले तीव्र प्रतिक्रिया जनाएका छन् । एलिस र जेन्सेनबीच पारिवारिक सम्बन्ध भने नरहेको जनाइएको छ । एनभिडियाले नेपालको भोटेकोसीमा आएको बाढीबाट पीडितका लागि करिब डेढ अर्ब सहयोग गरेको थियो । त्यसपछि एनभिडिया र जेन्सेन ह्वाङको नेपालमा धेरै प्रशंसा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top