भाइटीकाको दिन काठमाडौँमा चट्याङसहित पानी पर्नसक्ने

२४ कात्तिक २०८३, मंगलबार
Share this
674shares

२४ कार्तिक , काठमाण्डौ।

Advertisement

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार भाइटीकाको दिन बुधबार दिउँसो काठमाण्डौसहित मध्य र पूर्वी नेपालका केही भागमा पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार तीनवटा मौसम मोडलले यस्तो सम्भावना देखाएका हुन् ।

ईसीएमडब्लूएफ, जीएफएस र आइकनका नक्सामा काठमाण्डौ, भरतपुर, सिन्धुलीको कमलामाई र धनकुटामा वर्षाको संकेत देखिन्छ । केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने संकेत पनि छ । काठमाण्डौका लागि जीएफएसले तीन मोडलमध्ये सबैभन्दा बढी वर्षाको संकेत दिएको छ ।

Advertisement

नक्सामा काठमाण्डौका लागि जीएफएसमा २.५, ईसीएमडब्लूएफमा १.३ र आइकनमा ०.९ अंक देखाइएको छ । जीएफएसले पश्चिमका केही पहाडी तथा हिमाली भागदेखि पूर्वसम्म वर्षा वा हिमपातको संकेत देखाएको छ । आइकनमा वर्षाको क्षेत्र मुख्यतः मध्य र पूर्वी नेपालतर्फ केन्द्रित छ ।

ईसीएमडब्लूएफको नक्सामा भने काठमाण्डौ, भरतपुर र आसपासका क्षेत्रमा चट्याङको संकेत बढी फैलिएको देखिन्छ । तीनै मोडलमा वर्षाको संकेत मिले पनि मेघगर्जन र चट्याङ देखाइएका स्थान उस्तै छैनन् । मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनअनुसार पश्चिमी वायुको आंशिक प्रभावले बुधबार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

यी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बुलेटिनमा काठमाण्डौ सहरलाई छुट्टै तोकिएको छैन । राजधानीमा वर्षाको संकेत भने तीनवटै मोडलका नक्सामा देखिएको हो । यस्तै आज पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति देशको हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।यसैगरी तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

यसैबीच चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । पहिरो हटाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गए राति ठूलो सुक्खा पहिरो खसेपछि आज बिहान पौने ८ बजेसम्म सडक अवरुद्ध थियो ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार सडकमा जोखिम भने कायमै छ । घोप्टेभीरमा निरन्तर सुक्खा पहिरो खस्ने गरेको छ । अस्ति आइतबार र त्यसपछि हिजो पनि पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध थियो ।

हिजो सफा गरी खुलाएको भए गए राति फेरि पहिरो खस्दा बन्द भएको थियो । पटक–पटक सडक अवरुद्ध हुँदा मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रु समस्यामा पर्ने गरेका छन् । सडक खुले पनि जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top