२५ कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई लिएर नेपाल र भारतबीच कूटनीतिक छलफल तीव्र बनेको छ। भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निमन्त्रणा दिएको र भ्रमणको तयारीबारे दुई देशबीच छलफल जारी रहेको जनाएको छ। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै आयाम र आपसी हितका विषयमा छलफल हुने भारतको भनाइ छ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी दिएका हुन्। उनले नेपालसँगको सम्बन्धलाई व्यापक र विशेष साझेदारीको संज्ञा दिँदै भ्रमणका क्रममा सबै साझा चासोका विषयमा छलफल हुने बताए।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हुनेछ। उनी गत चैत १३ गते प्रधानमन्त्री बनेका थिए। भ्रमणको मिति औपचारिक रूपमा सार्वजनिक नभए पनि नोभेम्बर २२ देखि २५ सम्म नयाँदिल्लीमा रहने गरी तयारी भइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिस्रीले कात्तिक १८ र १९ गते नेपालको भ्रमण गरेका थिए। उनले परराष्ट्र सचिव अमृतबहादुर रायसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका थिए। उनले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए।दुवै देशका अधिकारीबीच व्यापार, ऊर्जा, जलविद्युत्, पूर्वाधार, विकास साझेदारी र सीमा व्यवस्थापनमा सहकार्यका विषयमा छलफल भएको थियो।प्रधानमन्त्री शाहको भ्रमणमा नेपालको प्रमुख चासो बाढीपछिको पुनर्निर्माण सहयोग रहने देखिएको छ। भोटेकोशी–रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर सहयोग प्रस्ताव गर्ने तयारी गरेको छ।प्रस्तावमा एक अर्ब डलर सहुलियतपूर्ण ऋण, ५० करोड डलर अनुदान र थप ५० करोड डलर पुनर्निर्माण तथा पुनःस्थापनाका लागि समावेश गरिएको छ। भारतले नेपालको प्रस्तावमाथि विचार गर्न सकारात्मक रहेको संकेत दिए पनि सहयोगको रकम र सर्तबारे अन्तिम सहमति भइसकेको छैन।
नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज बनाउन भारतसँग थप हवाई प्रवेश मार्ग माग्दै आएको छ। सन् २०१४ देखि उठ्दै आएको यो विषय अझै टुंगिएको छैन। भारतबाट थप हवाई प्रवेश मार्ग पाउन सके दुवै विमानस्थलको व्यावसायिक सञ्चालनमा सहयोग पुग्ने नेपालको अपेक्षा छ।त्यस्तै, १९९६ को महाकाली सन्धिसँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने विषय पनि प्राथमिकतामा छ। जलविद्युत् उत्पादन, सिँचाइ र बाढी नियन्त्रणसँग जोडिएको यो परियोजना लामो समयदेखि अघि बढ्न सकेको छैन। पानीको बाँडफाँट, लागत र लाभको विषयमा दुई देशबीच सहमति हुन नसक्दा परियोजना रोकिएको हो।कालापानी, लिपुलेक र सुस्तासहितका सीमा विवाद, व्यापार तथा पारवहन व्यवस्थामा सुधार र नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाको कार्यान्वयन पनि नेपालको चासोका विषय हुन्। यद्यपि यी सबै विषय भ्रमणको औपचारिक एजेन्डामा समावेश भइसकेका छैनन्।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र महत्वपूर्ण विकास साझेदार हो। खुला सीमा, व्यापार, ऊर्जा, जलस्रोत, पूर्वाधार र जनस्तरको सम्बन्धले दुई देशलाई जोडेको छ।प्रधानमन्त्री शाहको भ्रमणमा यी पुराना सहकार्यलाई निरन्तरता दिनुका साथै रोकिएका परियोजनालाई गति दिने र नयाँ आर्थिक सहकार्यको बाटो खोल्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।भारतले भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका सबै आयाममा छलफल हुने बताएको छ। तर नेपालले उठाउने विषयमा भारतको ठोस प्रतिबद्धता कस्तो हुन्छ भन्ने कुरा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने वार्ता तथा त्यसबाट निस्कने सहमतिले निर्धारण गर्नेछ।



