२९ कार्तिक , काठमाण्डौ । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बदली, हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको हो। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केही स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । देशका हिमाली भू–भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।यता काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको छ। हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको थियो। पछि बिहान ८ः४५ बजेको अन्तिम मापनमा पनि यही कायम रह्यो। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्दछ । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसममा हुने फेरबदलले चिसो बढाउन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। यद्यपि वर्षाको सम्भावना देशभर समान नरहेको र स्थानअनुसार मौसम फरक हुन सक्ने देखिएको छ। नेपालमा सबैभन्दा धेरै वर्षा असारदेखि असोजसम्म हुने गर्छ। बंगालको खाडीबाट आउने जलवाष्पयुक्त मनसुनी हावाले देशका अधिकांश भूभागमा वर्षा गराउँछ। असोजसँगै मनसुन कमजोर हुँदै बाहिरिएपछि सामान्यतया नेपालमा सुख्खा मौसम सुरु हुन्छ। यस वर्षको मनसुन अक्टोबर १४ मा नेपालबाट पूर्ण रूपमा बाहिरिएको थियो।
त्यसपछि पनि पश्चिमी वायु र अन्य मौसमी प्रणाली सक्रिय हुँदा विभिन्न स्थानमा बादल लाग्ने, हल्का वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहन्छ। पश्चिमी वायु पश्चिमबाट नेपाल प्रवेश गर्ने मौसमी प्रणाली हो। यसले आफ्नो साथमा पर्याप्त चिस्यानयुक्त हावा ल्याउँदा वायुमण्डलमा बादल निर्माण हुन्छ। हावामा रहेको चिस्यान चिसिएर संघनित भएपछि अनुकूल मौसमी अवस्था बनेमा वर्षा हुने गर्छ। हिमाली क्षेत्रमा तापक्रम कम हुने भएकाले यही प्रणालीका कारण हिमपातसमेत हुन सक्छ।
यसका साथै स्थानीय तापक्रम, भूगोल र भौगोलिक बनावटले पनि वर्षा तथा बादल निर्माणमा प्रभाव पार्छन्। पहाडी क्षेत्रमा भू–बनावटका कारण एउटै समयमा एक स्थानमा वर्षा हुँदा नजिकैको अर्को स्थानमा घाम लागिरहेको हुन सक्छ।

सामान्यतया तिहारको समयमा नेपालमा सफा आकाश, पारिलो घाम र बिहान–बेलुका हल्का चिसो मौसम हुने गर्छ। वर्षायाम सकिएर मनसुन बाहिरिसकेको हुने भएकाले कात्तिक महिनामा वर्षा तुलनात्मक रूपमा कम हुन्छ। नेपालको मौसमसम्बन्धी वैज्ञानिक अध्ययनहरूले अक्टोबर र नोभेम्बरलाई मनसुनपछिको अवधि मानेका छन्। सन् २०१७ मा प्रकाशित एक अध्ययनले पनि यस अवधिमा सामान्यतया आकाश सफा रहने र वर्षा कम हुने देखाएको छ। विशेषगरी नोभेम्बर नेपालमा कम वर्षा हुने महिनामध्ये एक हो।तर मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु, न्यूनचापीय प्रणाली तथा स्थानीय मौसमी अवस्थाका कारण हल्का वर्षा हुन सक्नेछ ।



