२९ कार्तिक , काठमाण्डौ ।
केही नेपाली चललचित्र बाहेक नेपालमा अहिले पनि नेपाली चलचित्रको दाँजोमा भारतीय चलचित्रहरुले दर्शकहरुलाई हल भित्र तानिरहेका छन् । त्यसकै पछिल्लो एक उदाहरण हो भारतीय चलचित्र रामायण । भारतीय चलचित्रमा गरिएको करोडौंको लगानीका अघि सामान्य लगानीमा बनेका नेपाली चलचित्र, कथा पक्ष लगायतका कारण नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न नसकिरहेको वास्तविकताका बीची एक नेपाली चलचित्रको प्रचारका लागि गरिएको ’स्टन्ट’ले अहिले नेपाली चलचित्र उद्योग तातेको छ। जुन कदमको आलोचना समेत भइरहेको छ। चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रमको सोही फण्डा सम्बन्धी खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।
हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमबाट अभिनेत्री गौरी मल्लसहित अन्य कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना वास्तविक नभई प्रचारको एउटा ‘फन्डा’ मात्र भएको खुलेको छ । वरिष्ठ अभिनेत्री गौरी मल्ल र हास्य कलाकार मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको भन्ने खबर सामाजिक सञ्जालमा फैलिएपछि चलचित्र ‘ककाकिकी’ का निर्देशक विक्की अग्रवालले वास्तविकता स्पष्ट पारेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरिएको थियो । उक्त दृश्यलाई वास्तविक घटना ठानेर सामाजिक सञ्जालमा कलाकारहरू पक्राउ परेको भन्दै चर्चा भएपछि निर्देशक अग्रवालले यो चलचित्रको प्रचारात्मक प्रस्तुति भएको जानकारी दिएका हुन् । शनिबार काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको पोसाकमा आएका व्यक्तिहरूले निर्देशक अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरेका थिए । करिब एक घण्टा लामो ट्रेलर सार्वजनिक कार्यक्रमको अन्त्यतिर अचानक चार–पाँच जना प्रहरी हलभित्र प्रवेश गरेपछि त्यहाँको माहोल एकाएक तनावपूर्ण र आश्चर्यजनक बनेको थियो । सञ्चारकर्मीलाई अन्तिम प्रश्न राख्न आग्रह गरिरहेका बेला एक पत्रकारले प्रश्न सोध्दै गर्दा प्रहरीले हस्तक्षेप गरेका थिए । प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिँदै चलचित्रका निर्देशक बिक्की अग्रवालसहित अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देल लगायतलाई हातमा समातेर बाहिर निस्कन भनेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरूलाई हलबाट तल झारेर बाहिर तयारी अवस्थामा राखिएको प्रहरी भ्यानमा हालेर लगेका थिए ।
चलचित्रको कथासँग जोडिएको उक्त दृश्यलाई निर्माण पक्षले प्रचारात्मक शैलीमा प्रस्तुत गरेको थियो । कलाकारहरूलाई वास्तविक रूपमा पक्राउ गरिएको नभई फिल्मको प्रचारका लागि तयार पारिएको दृश्य भएको निर्माण पक्षले स्पष्ट पारेको छ । तर उक्त नाटकीय दृश्य चलचित्र प्रचारको रणनीति भए पनि यस्तो शैलीलाई लिएर सामाजिक सञ्जालमा ब्यापक आलोचना समेत भएको छ । कार्यक्रमस्थलबाटै कलाकार पक्राउ परेको खबर र भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा ‘प्रहरीले कलाकारलाई किन पक्राउ ग¥यो ?’ भन्दै व्यापक चर्चा र चासो सुरु भएको थियो । निर्माण टिमका अनुसार चलचित्र ‘ककाकिकी’को कथावस्तुमा पनि पात्रहरूलाई प्रहरीले यसैगरी नियन्त्रणमा लिएर लैजाने दृश्य समावेश छ । सोही दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममै जीवन्त रूप दिएर दर्शक तथा सञ्चारकर्मीको ध्यान आकर्षित गर्ने योजनाअनुरूप यो प्रचारात्मक प्रस्तुति गरिएको हो । यता, चलचित्रको प्रचारका लागि प्रहरी र पक्राउजस्तो संवेदनशील विषयलाई वास्तविक घटनाजस्तै गरी देखाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । केहीले प्रश्न सोधेका छन् के फण्डाले चलचित्र चल्छ ? चलचित्र ‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र प्रचारका लागि कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्य तयार गरिएको भए पनि त्यसलाई वास्तविक घटनाजस्तै प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यस्ता गतिविधिलाई मजाकका रूपमा लिन नहुने र भ्रम फैलाउनेमाथि कारबाही हुनुपर्ने आवाजसमेत उठेको छ । यसैबिच माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेख्दै उक्त दृश्य चलचित्रको कथावस्तुअनुसार तयार गरिएको काल्पनिक दृश्य भएको स्पष्ट पारेको छ ।

निर्माण कम्पनीका अनुसार चलचित्रको छायांकन तथा प्रचारप्रसारका क्रममा प्रहरीसँग अनुमति लिएर उक्त दृश्य तयार गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सोही दृश्य पुनः प्रस्तुत गरिएको थियो । कम्पनीले कुनै पनि कलाकार, निर्देशक वा चलचित्रकर्मी वास्तविक रूपमा पक्राउ नपरेको जनाएको छ । आगामी दिनमा यस्ता प्रचारात्मक गतिविधि गर्दा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यसअघि कलाकार गौरी मल्ललगायत पक्राउ परेको भनेर भ्रमपूर्ण प्रचार भएका थिए ।



