बालेन–मोदीले रेल सेवा उद्घाटन गर्ने तय,बालेन जानुअघि चीन उड्यो रास्वपाको टोली

२९ कात्तिक २०८३, आइतबार
Share this
784shares
२९ कार्तिक , काठमाण्डौ ।    प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । यससंगै अब नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ ।  प्रधानमन्त्री बालेन आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडिएका दुई प्रमुख गन्तव्यलाई रेलमार्गबाट जोड्ने निर्णय भएको हो । रामायण सर्किट ऐतिहासिक तथा धार्मिक सम्बन्ध जोडिएका नेपाल र भारतका दुई प्रमुख तीर्थस्थललाई रेलमार्गबाट जोड्ने यो सेवाले सीमापार आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीमा रेल सञ्चालन हुनेछ । रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै अयोध्या पुग्नेछ । स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ । रेलका बिसौनी जयगनर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रहनेछन् । बालेन र मोदीले ७ मंसिरमा नयाँदिल्लीबाट भिडियोमार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तय भएको छ । प्रारम्भिक कार्यतालिकाअनुसार ७ मंसिरको अपराह्न नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्रीद्वय शाह र मोदीले रेलवे सेवाको उद्घाटन गर्नेछन् । भारतीय रेलवेले जनकपुर र अयोध्याबिच ‘नयाँ बन्दे भारत रेलवे’ सञ्चालन गर्न प्राविधिक परीक्षण गरिसकेको छ ।‘भारत–नेपाल कनेक्टिभिटी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्दै भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच नयाँ साप्ताहिक रेलसेवा सञ्चालन गर्न स्वीकृति दिएको छ,’ भारतीय रेलवेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस सेवाले रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई गन्तव्य– माता सीताको जन्मस्थलका रूपमा पूजनीय जनकपुरधाम र प्रभु श्रीरामको जन्मस्थल अयोध्याबिच एक महत्वपूर्ण रेल सम्पर्क स्थापित गर्नेछ ।’ यो पहलले दुवै देशका यात्रुलाई यी प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्रमा सहज पहुँच प्रदान गर्नुका साथै दुई देशको साझा सभ्यतागत सम्पदालाई थप बलियो बनाउने पनि भारतीय रेलवेले जनाएको छ । अयोध्या–जनकपुर रेलसेवा सञ्चालनबारे भारतीय प्रधानमन्त्री मोदीले लामो समयदेखि चासो दिँदै आएको एक भारतीय कूटनीतिक अधिकारीले बताए ।उद्घाटनका क्रममा अयोध्यास्थित अयोध्या केन्ट रेलवे स्टेसनमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायत उच्च भारतीय अधिकारीले हरियो झन्डा हल्लाएर रेलवे सेवा सुरुवात गर्नेछन् । जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले अयोध्या–जनकपुरधाम रेलवे सेवा शुभारम्भ कार्यक्रममा उत्तर प्रदेश सरकारले निमन्त्रणा गरेको जानकारी दिए । ‘यो ऐतिहासिक क्षण हाम्रा लागि निकै नै खुसीको हुनेछ । हामीलाई भारत सरकारबाट निमन्त्रणा आएको छ र सम्भव भएसम्म सहभागी हुने तयारी गर्दै छु,’ उत्तराधिकारी महन्थ दासले भने, ‘सुरुमा हप्तामा एउटा रेल नै चल्दा पनि यसले जनकपुरको अभिवृद्धिमा सहयोग पुग्नेछ ।’ नयाँ बन्दे भारत रेलवेले जनकपुधाम र अयोध्याबिच करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । ‘यो साप्ताहिक रेलसेवाले बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहर तथा नगरहरू हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ,’ भारतीय रेलवेले भनेको छ ।
हाल जनकपुरस्थित कुर्था रेलवे स्टेसनबाट सीमावर्ती जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ । एक साताअघि जयनगरबाट कुर्थासम्म विशेष रेल सेवाको प्राविधिक परीक्षण भएको थियो । जम्मा १७ डिब्बाको भारतीय रेल जयनगरबाट कुर्था ल्याएर त्यहाँबाट पुनः कुर्था पठाइएको थियो । जनकपुर–अयोध्या रुटमा अहिले भारतीय रेल मात्रै सञ्चालनमा आउनेछ । सीमापार रेलसेवा सञ्चालन सुरुवात गर्ने तय भए पनि नेपाल र भारतबिच रेलका लागि आवश्यक अध्यागमन र भन्सार कार्यालय भने टुंगिन बाँकी छ । भारतको रेल मन्त्रालयले यो सेवाले माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान रामको जन्मस्थलका रूपमा मानिने अयोध्याबीच धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने जनाएको छ । विशेषगरी दुवै तीर्थस्थलको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकलाई रेल सेवाले सहजता प्रदान गर्ने मन्त्रालयको विश्वास छ । धार्मिक पर्यटनसँगै शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनका लागि नेपाल र भारतबीच आवतजावत गर्ने यात्रुलाई समेत यो सेवाले लाभ पुग्ने भारतीय पक्षको भनाइ छ । रेल सेवा सञ्चालनमा आएपछि रेलमार्ग आसपासका पर्यटन व्यवसाय, होटल, स्थानीय व्यापार तथा परम्परागत हस्तकलासँग जोडिएका व्यवसायले समेत लाभ लिन सक्ने भारतको रेल मन्त्रालयले जनाएको छ । नेपाल र बिहारका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि पनि यसले यातायातको अर्को विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ । भारत र नेपालका अधिकारीबीच रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवस्थाबारे छलफल भएपछि भारतीय रेल मन्त्रालयले सेवा सञ्चालनको प्रस्तावलाई स्वीकृति दिएको हो। भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय रेल मन्त्रालयले नयाँ रेल सेवाले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने जनाएको छ।
यसअघि पनि नेपाल र भारतबीच सीमापार रेल सञ्जाल विस्तार तथा जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनलगायत विषयमा यसै वर्ष जुन महिनामा द्विपक्षीय छलफल भएको थियो । प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। यस्तो बेला जनकपुर र अयोध्यालाई जोड्ने रेल सेवाको स्वीकृतिले दुई देशबीचको धार्मिक पर्यटन तथा सीमापार यातायात सम्पर्क विस्तारको विषयलाई पनि थप महत्त्व दिएको छ ।  अब बालेनको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सेवा सञ्चालन हुनेछ ।तत्कालका लागि रेल सेवा हप्तामा एक पटक मात्र सञ्चालन हुनेछ ।  यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा रहँदा भारतीय पक्षले १७ कोचको रेल सञ्चालनको परीक्षण गरेको थियो । उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो । नेपाल पक्षले आफ्नै व्यवस्थापनमा सञ्चालनको तयारी पूरा नगरेसम्म भारतीय रेलले नै उक्त सेवा सञ्चालन गर्ने सहमति दुई देशबीच भएको छ । प्रारम्भिक चरणमा रेल सञ्चालन भारतीय पक्षले गर्ने भएकाले टिकट दरसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ ।   यसैबीच यता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आज १२ दिने चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् ।
भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि लामिछानेले गर्ने तय भएको थियो । तर राजनीतिक तथा प्राविधिक कारणले भ्रमण स्थगित भएपछि पार्टीका महामन्त्री एवं लामिछानेका निकट सहयोगी विपिन आचार्यले टोलीको नेतृत्व गरेका छन् । चीनले नेपालमा बलियो जनमतसहित सरकार गठन गरेको सत्तारूढ दलसँग सम्बन्ध विस्तार गर्न खोजेको रूपमा यो भ्रमणलाई हेरिएको छ । भ्रमणमा जानुअघि प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेले चिनियाँ नेतृत्व तथा अधिकारीहरूसँगको भेटमा उठाउनुपर्ने विषयबारे सांसदहरूलाई जानकारी गराएका छन् । भ्रमणमा नेपाल–चीन सम्बन्ध, लगानीका सम्भावना र आर्थिक सहकार्यका विषय प्राथमिकतामा रहनेछन् । नोभेम्बर १५ देखि २६ सम्म हुने भ्रमणका क्रममा सांसदहरूले चीनका छेन्दु, हाङझाउ, यीउ र बेइजिङको भ्रमण गर्नेछन् । भ्रमण तालिकामा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसँग भेटघाट, प्रविधि कम्पनी, औद्योगिक पार्क, विश्वविद्यालय, लगानी आयोजना तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रको अवलोकन समेटिएको छ ।भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रीमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् । चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए ।
Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top