३० कार्तिक , काठमाण्डौ । क्यान्सर, विश्वकै स्वास्थ्य क्षेत्रका लागि ठूलो चुनौती बनेको रोग । हरेक वर्ष विश्वभर लाखौँ मानिसले क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् । क्यान्सरको नाम सुन्नेबित्तिकै बिरामीदेखि परिवारसम्म त्रसित बन्ने अवस्था छ । विज्ञान र चिकित्सा क्षेत्रमा भएका अनेकौँ खोज तथा अनुसन्धानका बाबजुद पनि क्यान्सरको पूर्ण उपचार अझै चुनौतीपूर्ण छ । तर, यही चुनौतीबीच रुसबाट एउटा नयाँ आशा पलाएको छ ।रुसले विकास गरेको व्यक्तिगत एमआरएनए क्यान्सरविरुद्धको खोपले उपचार गरिएका पहिलो बिरामीमा उत्साहजनक नतिजा देखाएको दाबी गरिएको छ । खोप प्रयोगपछि चार महिनासम्म नयाँ ट्युमर नदेखिएको र शरीरका अन्य भागमा फैलिएको क्यान्सरसमेत हराएको रुसी वैज्ञानिकहरूले बताएका छन् । के साँच्चै क्यान्सरविरुद्धको लडाइँमा रुसले नयाँ सफलता हासिल गरेको हो ? के यो खोपले भविष्यमा क्यान्सर उपचारको स्वरूप नै बदल्न सक्छ ? आउनुहोस्, यसबारे विस्तृतमा चर्चा गरौँ ।
रुसले आष्किार गरेको क्यान्सरविरुद्धको खोपको प्रभावकारी काम गरेको छ । रुसले विकास गरेको व्यक्तिगत क्यान्सर खोपबाट उपचार गरिएका पहिलो बिरामीमा चार महिनाको परीक्षण अवधिमा कुनै नयाँ ट्युमर देखिएको छैन। उक्त क्रान्तिकारी उपचार विकास गर्ने वैज्ञानिकले यस्तो जानकारी दिएका हुन्। गामालेया रिसर्च इन्स्टिच्युटका निर्देशक तथा निओओन्कोभ्याक खोपको परीक्षणको नेतृत्व गरिरहेका अलेक्जेन्डर गिन्ट्सबर्गले गजेटा डट आरयू सँगको अन्तर्वार्तामा बिरामीको शरीरमा मूल ट्युमरबाट अन्य भागमा फैलिएको क्यान्सर अर्थात् मेटास्टेसिस हराएको पुष्टि गरेका छन्। चिकित्सकहरूले ती बिरामीको प्रत्येक महिना परीक्षण गरिरहेका छन् र आगामी तीन वर्षसम्म उनको स्वास्थ्य अवस्थाको निगरानी गर्ने योजना बनाएका छन्।गिन्ट्सबर्गले भने, “उहाँको अवस्था सबै ठीक छ। हिजोसम्म कुनै नयाँ वृद्धि अर्थात् ट्युमर देखिएको छैन।” उनले बिरामीको लिम्फ नोड्स (लसिकाग्रन्थी) तथा शरीरका अन्य भागमा क्यान्सरको संकेत छ कि छैन भनेर परीक्षण गर्न चिकित्सकहरूले उच्च क्षमताका सीटी स्क्यान प्रयोग गरिरहेको पनि बताए। मूल ट्युमरबाट अन्य भागमा समेत क्यान्सर फैलिएको तेस्रो चरणको मेलानोमा (छालाको क्यान्सर) निदान भएका ६० वर्षीय पुरुषले गत अप्रिलमा मस्कोस्थित हर्जेन अंकोलोजी रिसर्च इन्स्टिच्युटमा निओओन्कोभ्याक खोप लगाउन सुरु गरेका थिए। जुलाईमा गिन्ट्सबर्गले ती बिरामीको स्वास्थ्य अवस्था राम्रो रहेको र क्यान्सरसँग लड्न सक्ने प्रतिरक्षा प्रतिक्रिया विकसित भएको जानकारी दिएका थिए।
निओओन्कोभ्याकले एमआरएनए प्रविधि प्रयोग गर्छ र प्रत्येक बिरामीका लागि छुट्टाछुट्टै तयार गरिन्छ । अनुसन्धानकर्ताहरूले ट्युमर र स्वस्थ तन्तुका नमुनाबाट आनुवंशिक सामग्रीको विश्लेषण गरी प्रतिरक्षा प्रणालीलाई क्यान्सरका कोषिका चिन्न र आक्रमण गर्न सिकाउने खोप विकास गर्छन्। नेसनल मेडिकल रिसर्च सेन्टर अफ रेडियोलोजीका प्रमुख आन्द्रे काप्रिनले यस प्रविधिलाई क्यान्सर उपचारको आधारभूत रूपमा नयाँ दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसले ट्युमरलाई प्रत्यक्ष निशाना बनाउनुको सट्टा शरीरको प्रतिरक्षा प्रणालीलाई घातक कोषिका पहिचान गरी नष्ट गर्न प्रशिक्षित गर्ने लक्ष्य राख्छ।

गिन्ट्सबर्गका अनुसार पहिलो बिरामीमा उपचारका क्रममा कहिलेकाहीँ ३८ देखि ३८.५ डिग्री सेल्सियससम्म ज्वरो आउने गरेको थियो। तर सामान्य ज्वरो घटाउने औषधि सेवन गरेपछि केही घण्टामै ज्वरो कम हुने गरेको थियो। उनले उपचारको आधा चरण पूरा गरिरहेका दोस्रो बिरामीमा भने अहिलेसम्म ज्वरो नदेखिएको बताए। हालसम्म छ जना बिरामीले उक्त खोप प्राप्त गरिसकेका छन्। यस वर्षको अन्त्यसम्ममा हर्जेन इन्स्टिच्युटमा २० जना बिरामीलाई उपचार गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रम रुसका अन्य क्षेत्रमा पनि विस्तार गर्ने तयारी छ।
गिन्ट्सबर्गका अनुसार रुसको अनिवार्य स्वास्थ्य बीमा प्रणालीअन्तर्गत यो उपचारको खर्च समेटिएको छ। प्रत्येक बिरामीका लागि व्यक्तिगत खोप निर्माण र उपचारको पूरा प्रक्रियामा करिब ७० लाख रुबल (८४ हजार ४०० अमेरिकी डलर) खर्च लाग्छ। स्वास्थ्य मन्त्रालयले यस वर्ष र आगामी वर्ष गरी १२० जना बिरामीको उपचार तथा त्यसपछिको स्वास्थ्य निगरानीका लागि बजेट विनियोजन गरेको छ। अनुसन्धानकर्ताहरूले अग्न्याशय, मिर्गौला, मूत्राशय, कोलोरेक्टल तथा नन–स्मल सेल फोक्सोको क्यान्सरसहित अन्य प्रकारका क्यान्सरविरुद्ध पनि व्यक्तिगत खोप विकास गरिरहेका छन्। ती खोपका लागि सन् २०२७ मा नियामक निकायबाट स्वीकृति लिने योजना रहेको छ।
निओओन्कोभ्याक बिरामीको ट्युमरको आनुवंशिक विशेषतालाई ध्यानमा राखेर व्यक्तिगत रूपमा तयार गरिन्छ। यो औषधि ट्युमरका कोषिकाविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने उद्देश्यले विकास गरिएको हो। यसअघि जीएक्सपी न्युजले व्यक्तिगत एमआरएनए मेलानोमा खोपबाट उपचार गर्ने पहिलो बिरामीको उपचार प्रक्रिया पूरा भएको समाचार प्रकाशित गरेको थियो। गत सेप्टेम्बरमा नेसनल मेडिकल रिसर्च सेन्टर फर रेडियोलोजीका महानिर्देशक आन्द्रे काप्रिनले उक्त उपचारका प्रारम्भिक नतिजा सकारात्मक रहेको जानकारी दिएका थिए।



