३० कार्तिक , काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचना परिवर्तन गरेको छ । आईसीसीले यसबाट सुपर सिक्स चरण हटाएको छ । आईसीसीको आइतबार बालीमा बसेको बैठकले आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने विश्वकप छनोटको नयाँ संरचना सार्वजनिक गरेको हो । यसअघिका तीन संस्करणमा सुपर सिक्स चरण राखिएको भए पनि आगामी संस्करणमा भने नयाँ ढाँचा लागू गरिने भएको छ । आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइन्थ्यो । समूह चरणपछि सुपर सिक्स खेल हुन्थ्यो र शीर्ष दुई टोली विश्वकपमा छनोट हुन्थे । त्यस क्रममा कुल ३४ खेल खेलाइन्थ्यो । तर नयाँ ढाँचाअनुसार अब दुई समूहमा पाँच–पाँच टोली रहनेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यसपछि फाइनल खेल हुनेछ । यसरी प्रतियोगितामा कुल २३ खेल मात्र हुनेछन् ।आईसीसीले आइतबार इन्डोनेसियाको बालीमा बसेको बैठकपछि नयाँ खेल ढाँचा सार्वजनिक गरेको हो । जुलाईमा आईसीसी बोर्डले स्वीकृत गरेको सन् २०२७ को विश्वकपको नयाँ संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले सीधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा स्थान बनाउनेछ । छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरण अर्थात् सुपर सिरिज खेल्नेछन् । उक्त चरणबाट शीर्ष स्थानमा रहने टोली मुख्य प्रतियोगितामा प्रवेश गर्नेछ । छनोट प्रतियोगितामा सहभागी हुने ६ टोलीको टुंगो लागिसकेको छ । वरीयताका आधारमा वेस्ट इन्डिज र आयरल्यान्डले स्थान बनाएका छन् । त्यस्तै, क्रिकेट विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान छनोट भएका छन् ।बाँकी चार टोलीको टुंगो भने अर्को महिना नेपालमा हुने छनोट प्लेअफबाट लाग्नेछ । उक्त प्रतियोगितामा क्रिकेट विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली सहभागी हुनेछन् । आईसीसीले सन् २०२८ मा हुने पुरुष टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ ।
मुख्य प्रतियोगितामा स्थान बनाउन १६ टोलीबीच छनोट प्रतियोगिता हुनेछ । चार समूहमा चार–चार टोली रहनेछन् । समूह चरणपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलाइनेछ । छनोट प्रतियोगिताबाट आठ टोलीले सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोटका चारवटै सेमिफाइनलमा पुग्ने टोली स्वतः विश्वकपमा छनोट हुनेछन् ।त्यस्तै, अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया–प्रशान्त र युरोप गरी पाँच क्षेत्रबाट उत्कृष्ट हुने टोलीले पनि विश्वकपमा स्थान पाउनेछन् । यदि कुनै क्षेत्रको शीर्ष टोली छनोट प्रतियोगिताको शीर्ष आठभित्र परेमा उसले स्वतः स्थान पाउनेछ ।

तर उक्त क्षेत्रको शीर्ष टोली समूहमा तेस्रो हुँदै नवौँदेखि १२औँ स्थानसम्म रहेमा शीर्ष आठमध्ये क्षेत्रीय प्रतिनिधित्व नभएको सबैभन्दा कमजोर टोलीको स्थान उसले लिनेछ । बाँकी स्थान भने क्वाटरफाइनलमा पराजित भएका टोलीमध्ये समूह चरणको प्रदर्शन, अंक, जित र नेट रनरेटका आधारमा उत्कृष्ट टोलीलाई दिइनेछ । आफ्नो समूहमा सबैभन्दा पुछारमा रहने टोली भने विश्वकपमा छनोट हुन योग्य हुने छैनन् । सन् २०२८ मा हुने महिला टी–२० विश्वकपका लागि १० टोलीले स्वतः स्थान बनाएका छन् ।आयोजक पाकिस्तानसहित अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बंगलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलंका र आयरल्यान्डले मुख्य प्रतियोगितामा खेल्नेछन् ।
बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता हुनेछ । सन् २०२६ को महिला टी–२० विश्वकप खेलेका तर सन् २०२८ का लागि स्वतः छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्कटल्यान्डले सीधै विश्वव्यापी छनोटमा स्थान बनाएका छन् । उनीहरूसँगै सन् २०२७ मा हुने पाँच क्षेत्रीय छनोट प्रतियोगिताबाट आठ टोली छनोट भएर आउनेछन् । विश्वव्यापी छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०२८ को महिला टी–२० विश्वकपमा बाँकी दुई स्थान सुरक्षित गर्नेछन् । यसैबीच विश्व टेस्ट च्याम्पियनसिप आगामी सन् २०३१ सम्मका दुई चक्रमा पनि नौ टोलीमै सीमित रहने सम्भावना देखिएको छ ।
प्रतियोगिताको विस्तारको पक्ष्मा चर्को आवाज उठे पनि आईसीसीले हालकै ढाँचालाई निरन्तरता दिने तयारी गरेको हो ।यसैबीच यता आईसीसीले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन् । आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो । यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्काउने र क्रिकेटको भविष्यका योजना अगाडि बढाउन निरन्तरता दिने आईसीसी बोर्डको भनाइ छ ।
फेरि अध्यक्ष बनेपछि जय शाहले भने, ‘आईसीसी बोर्डले मप्रति देखाएको विश्वासले मलाई गर्व महसुस भएको छ । मप्रति निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु।’ उनले थपे, ‘आईसीसी अध्यक्षका रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो र योसँगै जिम्मेवारी पनि जोडिएर आउँछ।’ ३८ वर्षीय जय शाह पहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए। उनले सुरुमा डिसेम्बर २०२४ मा आईसीसी अध्यक्षको पद ग्रहण गरेका थिए ।



