बालेनले दिल्लीमा के गर्नेछन् ? होटलमै भेट्न जानेछन् भारतीय मन्त्री

१ मंसिर २०८३, मंगलबार
Share this
742shares

०१ मंसिर , काठमाण्डौ ।     प्रधानमन्त्री वालेन्द्र शाह बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ र ७ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु टुङ्गो लाग्ने दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईले मंसिर ४ गते पत्रकार सम्मेलन गरेर भ्रमणबारेमा जानकारी गराउनेछन् । परराष्ट्रका एक अधिकारीले भने, ‘मंसिर ६ गते जाने निश्चित भइसकेको छ, त्यसको औपचारिक घोषणा गर्न मात्र बाँकी छ । भ्रमणको तयारी लगभग पूरा भएको छ, त्यसलाई दुवै देशले अन्तिम रूप दिन बाँकी रहेको छ ।’

Advertisement

प्रधानमन्त्री शाहको प्रारम्भिक भ्रमण तालिका अनुसार, उनी मंसिर ६ गते दिउँसो काठमाडौंबाट नेपाल एयरलाइन्सको उडानमार्फत भारतको राजधानी नयाँ दिल्ली जानेछन्। भोलिपल्ट मंसिर ७ गते विभिन्न कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्कने गरी भ्रमण तालिका तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री शाह दिल्ली विमानस्थलमा पुग्दा भारतको केन्द्रीय सरकारका मन्त्रीले स्वागत गर्ने भारतीय तयारी रहेको दिल्लीस्थित नेपाली अधिकारीहरु बताउँछन्। मंसिर ६ गते प्रधानमन्त्री शाह दिल्ली अवतरण गरेपछि भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको छ। मंसिर ६ मा दिल्लीस्थित नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मनमा डिनर आयोजना गरेको छ। प्रधानमन्त्री शाहको बसाई भने ताज महल वा ताज प्यालेसमध्ये एकमा हुने बताइएको छ। मंसिर ६ को साँझ प्रधानमन्त्री शाह बसेकै होटलमा भारतीय विदेश मन्त्री एस जयशंकरले भेट गर्ने कार्यक्रम छ। त्यसैदिन भारतीय गृहमन्त्री अमित शाह र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि होटलमै प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्री शाहको सम्मानमा मंसिर ७ को विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको कार्यक्रम राखिएको छ। जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्।त्यसलगत्तै प्रधानमन्त्री शाहले दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर बत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि भने होटल फर्किएर भारतीय अर्थमन्त्री निर्मला सितारणसँग भेटवार्ता हुने छ। अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाहका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रम बनाइएको छ। मंसिर ७ गते प्रधानमन्त्री मोदीले शाहको लागि विहानको खाना हैदरावाद हाउसमै गर्ने तय गरिएको छ।

मोदीसँग पहिले प्रधानमन्त्री शाहले आधा घण्टा एक्लाएक्लै भेट्ने तय भएको छ। कुटनीतिक अधिकारीहरूका अनुसार एक्लाएक्लै भनेपनि यो भेटमा दुई देशका प्रधानमन्त्री र उनका चार चार जना सहयोगी सहभागी हुनेछन् । लगत्तै दुवै देशका प्रधानमन्त्री र अन्य १४ जना सदस्य रहेको प्रतिनिधि मण्डलबीच दुई पक्षीय औपचारिक भेटवार्ता हुने गरी कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्। प्रधानमन्त्री तहको दुई पक्षीय बैठकपछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको परराष्ट्रका अधिकारीहरु बताउँछन्। ७ गते प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको राजकीय भ्रमणको अन्तमा भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेसलाई व्रिफिङ गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहने १५ जना अधिकारीको भ्रमण र बसोबास तथा खानपानको व्यवस्था भारत सरकारले र बाँकी सदस्यको लागि नेपाल सरकारले खर्च बेहोर्ने गरी कार्यक्रम बनेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। भारतको २ दिने भ्रमण सकेर मंसिर ७ गते दिउँसो ४ः५० बजेको नेपाल वायुसेवा निगमको उडानबाट प्रधानमन्त्री शाह नेपाल फर्कने कार्यक्रम बनेको छ।प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार तथा अन्य विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुवै प्रधानमन्त्रीले नेपालमा भारतीय सहयोगमा बनेका केही आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरु बताउँछन्।यसअघि तीन दिन हुने भनिएको थियो, त्यहीअनुसार तयारी पनि चलिरहेको थियो, तर प्रधानमन्त्री आफैँले भ्रमण छोट्याउन आग्रह गरेका थिए । दुई दिन भ्रमण भए सम्भवतः नेपालका कुनै पनि प्रधानमन्त्रीको हालसम्मकै सबभन्दा छोटो भारत भ्रमण हुन सक्ने अधिकारीहरुले बताएका छन् । परराष्ट्रमन्त्री शशिर खनालले सरोकारवाला मन्त्रालयहरूसँग भारत भ्रमणका एजेन्डाबारे छलफल गरी अन्तिम रूपको तयारी थालेको छ । यसका लागि नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला सक्रिय छन्, उनले मन्त्रीहरूसँग भेटेर एजेन्डाबारे छलफल गरेका छन् । राजदूत दलेलाले सोमबार मात्रै परराष्ट्रमन्त्री खनालसँग छलफल गरेका छन् । यसअघि परराष्ट्र सचिव राईसँग पनि उनले छललफल गरेका थिए । त्यस्तै राजदूत दलेलाले नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष कुणाल कयाल, भौतिक, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश), उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग पनि भेटेर भ्रमणबारे छलफल गरिसकेका छन् ।

Advertisement

भ्रमणका क्रममा नेपालले १२ वर्षभन्दा बढी समयदेखि माग गर्दै आएको ‘एयर रुट’ (हवाई प्रवेशमार्ग) भारतले उपलब्ध गराउने तय भएको छ । एयर रुटकै विषयमा द्विपक्षीय छलफल गरी नेपाली प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेर फर्किएको छ। नयाँ दिल्लीमा भारतको नागरिक उडड्यन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग प्रतिनिधि मण्डलले नेपाललाई आवश्यक परेको हवाई रुटको विषयमा छलफल गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखाका प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल एयर रुटकै विषयमा छलफल गर्न नयाँ दिल्ली पुगेका थिए।नेपालले वर्षौंदेखि पश्चिमतर्फको एयर रुट माग्दै आए पनि भारतले दिएको छैन। नेपालले विशेषगरी, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। भारतीय पक्षले सीमावर्ती क्षेत्रमा रहेका सैन्य संरचना र वायुसेनाका गतिविधिलाई कारण देखाउँदै कम उचाइमा हुने नागरिक उडानलाई अनुमति दिन आनाकानी गर्दै आएको छ।

तर, यस पटक प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रमुख एजेन्डामध्ये एयर रुटलाई राखेर नेपालले भ्रमणकै प्रतिष्ठाको विषय बनाएपछि भारत त्यसमा सहमत देखिएको जनाइएको छ।हवाई रुटको विषयमा छलफल गरेर टुंगो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेल आज भारत जाने तयारीमा छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटको विषयमा द्विपक्षीय सहमति खोज्ने प्रयास पौडेलले गर्ने पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ दिल्लीमा मंसिर ४ देखि ६ (नोभेम्बर २० देखि २२) सम्म आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुन पौडेल आज भारत जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। हवाई रुटको विषयमा करिब १२ वर्षयता नेपालले भारतसँग निरन्तर ताकेता गर्दै आएको छ।

२०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा पनि नेपाललाई पश्चिमतर्फबाट हवाई रुट दिने विषयमा सहमति भएको थियो। त्यतिबेला, दुवै देशका अधिकारीलाई ६ महिनाभित्र हवाई रुटको विषय टुङ्ग्यान भनिएको थियो। त्यसयता १२ वर्ष वितिसक्दा पनि भारतले नेपाललाई नयाँ हवाइ रुट दिएको छैन। पछिल्ला वर्षमा नेपाल–भारतबीच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ। सबैजसो छलफलमा भारतले रुट उपलब्ध गराउने सहमति पनि जनाउँदै आएको छ। तर, सहमतिको कार्यान्वयन भने गरेको छैन।

अन्तर्राष्ट्रिय उडानका जहाज महेन्द्रनगरबाट नेपाल प्रवेश गर्न पाउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सहज रुपमा व्यवस्थापन गर्न सकिने नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरू बताउँछन्। गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज पनि सिमरा हुँदै घुमेर जानुपर्ने हुँदा ती विमानस्थलमा हुने उडानको समय थप २० देखि २५ मिनेट लम्बिने गरेको छ। जसले गर्दा विदेशी वायुसेवा कम्पनीहरू ती विमानस्थलमा उडान विस्तारको लागि अनिच्छुक हुने गरेका छन्।

भारतले पश्चिमतर्फको एयर रुट दिनका लागि नयाँ शर्त अघि सारेको छ। नेपालको पूर्वी सीमा नजिक पर्ने भारतको पश्चिम बंगाल राज्यको सिलीगुडी नजिक रहेको बागडोगरा विमानस्थलबाट बिहारको रक्सौलस्थित विमानस्थलमा उडान गर्न नेपाली आकाश दिनुपर्ने शर्त भारतीय अधिकारीले राखेका हुन्। अहिले भारतको बागडोगराबाट फारविसगन्ज, दरभंगा र मोतिहारी हुँदै करिब पाँच सय किलोमिटर सडक पार गरेर रक्सौल पुग्नुपर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top