नेपालमा ‘अक्वान’ चक्रवातको प्रभाव,आज कस्तो रहला मौसम? (भिडिओसहित)

३ मंसिर २०८३, बिहीबार
Share this
681shares

३ मंसिर , काठमाण्डौ ।     

Advertisement

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव परेको छ। यसको असर नेपालमा नगन्य परेपनि आज भारतमा १५ राज्यमा भारी वर्षा र आँधीको चेतावनी दिइएको छ । नेपालमा देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

आज काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको छ।

हिजो बुधबार यो बेला ९.८ डिग्री सेल्सियस देखिएको थियो। बंगालको खाडीमा विकसित ’अक्वान’ चक्रवात थप शक्तिशाली बन्दै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । भारतका विभिन्न राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढाइरहेको यो चक्रवातले नेपालमा कस्तो असर पार्ला भन्ने प्रश्न उठेको छ।

भारतीय मौसम विभागका अनुसार नोभेम्बर १६ को साँझ न्यून चापीय प्रणालीबाट विकसित भएको यो चक्रवात बुधबार बिहानसम्म थप शक्तिशाली बनेको हो।चक्रवात नोभेम्बर २० अर्थात् शुक्रबार दिउँसो आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

भारतीय मौसम विभागले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चक्रवात प्रतिघन्टा करिब ३ किलोमिटर गतिमा उत्तर–पश्चिमतर्फ बढिरहेको छ। यो शुक्रबार दिउँसो आन्ध्र प्रदेशको नेल्लोर र विशाखापट्टनमबीचको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने अनुमान छ।

त्यति बेला चक्रवातको हावाको गति प्रतिघन्टा १०० देखि ११० किलोमिटर र झोक्कासहित १२० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ। चक्रवातको शक्ति र सम्भावित बाटोबारे भारतीय मौसम विभागले निरन्तर पूर्वानुमान अद्यावधिक गरिरहेको छ।

यसअघि चक्रवात तटमा पुग्दा हावाको गति प्रतिघन्टा १४५ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको थियो। बुधबार बिहानको पूर्वानुमानमा भने सम्भावित गति घटाइएको छ।चक्रवातका कारण आन्ध्र प्रदेशका तटीय क्षेत्रमा नोभेम्बर १९ र २० मा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

तमिलनाडु, पुडुचेरी र कराइकलका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ । तेलंगाना र पश्चिम बंगालका केही भागमा नोभेम्बर १९ देखि २१ सम्म वर्षाको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भारतका तटीय राज्यहरूले पूर्वतयारी थालेका छन्।

उडिसा सरकारले उद्धार तथा राहतका लागि ७४ टोली परिचालन गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी समेत गरिएको छ । उडिसाको रायगडा जिल्लामा पहिरोको जोखिम रहेका ५५ गाउँ पहिचान गरिएको छ।

ती गाउँका बासिन्दालाई सम्भावित विपदअघि नै सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।भारतमा मौसम विभागले पुनः वर्षा र आँधीबेहरीको चेतावनी जारी गरेको छ। विभागको पूर्वानुमानअनुसार आज झारखण्ड, ओडिशासहित १५ राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको छ।

यस क्रममा प्रतिघण्टा ८५ देखि ९० किलोमिटरको गतिमा हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। यसैगरी पहाडी राज्यहरूमा पनि मौसम प्रतिकूल बन्न सक्ने भएकाले यात्रा गर्नुअघि मौसमसम्बन्धी जानकारी लिन सुझाव दिइएको छ।

दक्षिण भारतमा सक्रिय चक्रवाती तूफानका कारण उत्तर र पूर्वी भारतका राज्यहरूमा चिसोको प्रभावसमेत बढ्न सक्ने अनुमान गरिएको छ। दक्षिण तथा त्यससँग जोडिएको पश्चिम–मध्य बंगालको खाडीको मध्य भागमा बनेको शक्तिशाली चक्रवाती तूफान ‘अकवान’ नोभेम्बर २०, २०२६ को दिउँसोसम्म उत्तरी आन्ध्र प्रदेश, यनम र दक्षिणी ओडिशाको तटीय क्षेत्रमा (मछलीपट्टनम र पुरीबीच) प्रवेश गर्न सक्ने सम्भावना छ।

यस क्रममा हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटर रहने र झोक्कासहित ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। उक्त प्रणालीको प्रभावले नोभेम्बर १९ र २० मा तटीय आन्ध्र प्रदेश, यनम र ओडिशाका केही स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

मौसम विभागका अनुसार आज झारखण्ड, बिहार, ओडिशा, आन्ध्र प्रदेश, केरल, तेलंगाना, तमिलनाडु, कर्नाटक, छत्तीसगढ, पश्चिम बंगाल, मध्य प्रदेश, अरुणाचल प्रदेश, असम, मेघालय र त्रिपुरामा भारी वर्षा तथा आँधीबेहरीको चेतावनी जारी गरिएको छ।

ओडिशा, आन्ध्र प्रदेश, तमिलनाडु, झारखण्ड, पश्चिम बंगाल, तेलंगाना र कर्नाटकमा चक्रवाती तूफानको प्रभाव बढी देखिन सक्ने अनुमान गरिएको छ। यस क्षेत्रमा हावाको गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। भारी वर्षापछि तापक्रममा ४ देखि ५ डिग्री सेल्सियससम्म गिरावट आउन सक्ने मौसम विभागको पूर्वानुमान छ।

त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top