३ मंसिर , काठमाण्डौ।
नेपाल विद्युत प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै मंसिर ३ गतेदेखि १४ गतेसम्म विभिन्न मितिमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिका अनुसार बलम्बु र थानकोट फिडर अन्तर्गतका बल्खु खोला पुल र नैकाप क्षेत्रमा मंसिर ३, ६ र ८ गते विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, सोही फिडर अन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म मंसिर ११ गते र थानकोट फिडर अन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्म मंसिर १३ गते बत्ती जानेछ ।
यसैगरी, कालिमाटी र बाफल फिडर अन्तर्गत पर्ने स्युचाटार पुल क्षेत्रमा मंसिर ५ गते विद्युत कटौती हुने सूचनामा उल्लेख छ ।
यता धोबीखोला र बत्तीसपुतली फिडर अन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म मंसिर ४ गते तथा शिफल ग्राउण्डदेखि कालोपुलसम्म मंसिर १० र १४ गते विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, कोटेश्वर र इमाडोल फिडर अन्तर्गतको ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा मंसिर ७ गते बत्ती जानेछ भने कोटेश्वर फिडर अन्तर्गतकै ईडीटीआर २६ए र ईडीटीआर ४ मा मंसिर ९ गते तथा ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा मंसिर १२ गते विद्युत सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले मौसम प्रतिकूल रहेमा उल्लेखित सम्पूर्ण कार्यतालिका रद्द हुने स्पष्ट पारेको छ ।
विकास निर्माण तथा लाइन भूमिगत गर्ने कार्यका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।



