प्रधानमन्त्रीको भ्रमण टोलीमा स्वर्णिम र शिशिरसहित २५ जना, उद्योगीको सानो टोली लैजाने

३ मंसिर २०८३, बिहीबार
Share this
700shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने दुईदिने भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित करिब २५ सदस्यीय प्रतिनिधिमण्डल रहने तय भएको छ । सरकारले भ्रमणबारे बिहीबार औपचारिक निर्णय गर्दै छ ।

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबार परराष्ट्रसचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भारत भ्रमणको समग्र कार्यतालिका र एजेन्डा सार्वजनिक गर्ने तयारी छ । भ्रमणमा सूचना प्रविधिलगायत एक दर्जनभन्दा बढी क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह ६ र ७ मंसिरमा भारतको राजकीय भ्रमणमा जाँदै छन् । यद्यपि, दुवै सरकारले भ्रमणको कार्यतालिका सार्वजनिक गर्न बाँकी छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार भ्रमणबारे नेपाल र भारत दुवै पक्षले भ्रमणबारे औपचारिक वक्तव्यसमेत जारी गर्नेछन् ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा दुई मन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्रसचिव अमृतबहादुर राई, ऊर्जा, वाणिज्य तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव एवं पदाधिकारी, प्रमुख शिष्टाचार महापाल कुमार खरेल, परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख गेहेन्द्रराज भण्डारी, प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीलगायत रहनेछन् ।

भ्रमण टोलीमा निजी क्षेत्रका प्रतिनिधिमण्डलसमेत सहभागी हुनेछन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णयसँगै भारतसँग सम्झौतामा हस्ताक्षर गर्ने विषयसमेत स्वीकृत गर्नेछ । प्रधानमन्त्री शाह आफैँले परराष्ट्रमन्त्री खनालसँग नेपाल–भारत सम्बन्ध एवं भ्रमणका एजेन्डाबारे जानकारी लिइरहेका छन् ।

प्रधानमन्त्री शाह आइतबार अपराह्न दिल्ली पुग्नेछन् । सोमबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरसहितको स्वागत समारोहमा सहभागी हुनेछन् । त्यसै दिन प्रधानमन्त्री मोदीसँग दिवाभोजसहितको औपचारिक द्विपक्षीय वार्तामा सहभागी भएर सोही साँझ स्वदेश फर्किनेछन् ।

भारत भ्रमणमा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग शिष्टाचार भेट गर्ने तयारी छ । भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलमार्ग, नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी, निर्माण सम्पन्न भएका परियोजनाको उद्घाटन हुनेछ ।

अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनालगायत महत्वपूर्ण आयोजनाको शिलान्यास हुनेछ । सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्यबारे समझदारीपत्रमा हस्ताक्षर हुनेछ। समग्रमा एक दर्जनभन्दा बढी नयाँ परियोजना सुरु हुनेछन्  ।

भारतबाट नेपालमा हवाई रुट अनुमतिबारे बुधबार साँझसम्म सहमति भइसकेको छैन । तर, भारतले नेपाललाई सकारात्मक संकेत दिएको छ । नेपाललाई करिब दुई अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहायता (सहुलियतपूर्ण ऋण र अनुदानसमेत) उपलब्ध गराउन भारत लगभग तयार देखिएको सम्बद्ध अधिकारीले बताएका छन् ।

भ्रमणको अन्तिम समयमा आएर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भ्रमण रद्द भएको हो । ऊर्जा मन्त्रीसँगै उद्योगमन्त्री पनि भ्रमण टोलीमा सहभागी हुनेछैनन् । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालय अत्यन्तै महत्त्वपूर्ण र प्रत्यक्ष सरोकार राख्ने मुख्य मन्त्रालयहरू हुन् ।

अब यी दुवै मुख्य मन्त्रालयका मन्त्रीहरूको अनुपस्थितिमा ऊर्जासम्बन्धी एजेन्डाहरू अर्थ मन्त्रीमार्फत उठाउने तयारी गरिएको हो ।

भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापार सम्झौताको कार्यान्वयन, थप जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत तथा बंगलादेश निर्यातका लागि सहमति, इनरुवा–पूर्णिया र न्यु लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर तथा सप्तकोसी उच्च बाँध र बाढी नियन्त्रण जस्ता महत्त्वपूर्ण विषयहरू उठाउने तयारी गरिएको छ ।

नेपालका प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदा केही सम्झौता–सहमतिसहित नेपाल–भारत संयुक्त वक्तव्य जारी हुने गरेको छ । यस्तो संयुक्त वक्तव्यमा दुई देशबिच छलफल तथा सहमति र समझदारी भएका विषयहरू मात्रै उठाइँदैन, कतिपय बेला क्षेत्रीय र विश्व भूराजनीतिबारे समान धारणा समेत सार्वजनिक गर्ने परम्परा छ ।

यसपाली प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा कतिपय विषयमा क्रमभंग हुँदै छ । तीमध्ये एक हो, यसपाली संभवतः पहिलो पटक नेपाल र भारत ‘जोइन्ट भिजन पेपर’ (संयुक्त भिजन पेपर) सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।

संभवतः प्रधानमन्त्री शाहको भारत भ्रमणको अन्तिम दिन मंसिर ७ गतेको साँझ पहिलो पटक दिल्लीबाट नेपाल र भारतको संयुक्त भिजन पेपर सार्वजनिक हुनेछ । अधिकारीहरुले दुई देशले यसअघि जारी गर्दै आएको संयुक्त वक्तव्यलाई यसपाली यो भिजन पेपरले विस्थापित गर्ने बताएका छन् भने कतिपयले दिल्लीबाट संयुक्त वक्तव्य र भिजन पेपर दुवै जारी हुने उल्लेख गरेका छन् ।

सम्भवतः नेपाल–भारत संयुक्त भिजन पेपर १० बुँदे हुनेछ । भिजन पेपर तयारीका लागि नेपाली पक्षबाट औपचारिक नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन् । तर संयुक्त भिजन पेपर तयार गर्ने कार्यमा नेपालको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले संलग्न भएका छन् ।

भारतीय पक्षबाट प्रधानमन्त्रीका प्रिन्सिपल सेक्रेटरी शक्तिकान्त दास, विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी मनु महावर र काठमाडौँस्थित भारतीय राजदूत सुधाकर दलेलाले संयुक्त भिजन पेपर तयारीमा योगदान गरिरहेका छन् ।

यस्तै यो भ्रमण दलमा उद्योगी व्यवसायीलाई समावेश गर्न परराष्ट्र मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग प्राथमिकता क्रम निर्धारण गरी नामावली माग गरेको थियो । मन्त्रालयको आग्रहअनुसार सबै छाता सङ्गठनहरूले आ–आफ्नो तर्फबाट उद्योगी व्यवसायीको नाम पठाइसकेका छन् ।

तर, प्रधानमन्त्री शाहको भारत भ्रमण जम्मा दुई दिनको मात्रै हुने भएकाले सिफारिस गरिएका मध्येबाट परराष्ट्रले छनोट गरी सानो टोली मात्रै लैजाने तयारी गरेको छ । प्रधानमन्त्रीसँगको विदेश भ्रमण दलमा सहभागी हुँदा उद्योगी व्यवसायीहरू सरकारी खर्चमा नभई आफ्नै निजी खर्चमा जाने गर्दछन् ।

यस पटक पनि निजी खर्चमै भ्रमण दलमा सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले निजी क्षेत्रसँग नाम मागेको छ । निजी क्षेत्रले उच्चस्तरीय भ्रमणलाई राजनीतिक विषयमा मात्र सीमित नराखी आर्थिक कूटनीति, व्यापार सहजीकरण र लगानी प्रवद्र्धनको मुख्य माध्यम बनाउन सरकारलाई सुझाव दिइरहेका छन् ।

तर, भ्रमणमा सहभागी गराइने व्यवसायीहरूका लागि भारतमा कस्ता कार्यक्रम तय गरिएका छन् भन्नेबारे परराष्ट्र मन्त्रालयले केही पनि बताएको छैन । विगतमा प्रधानमन्त्रीको भारत भ्रमणमा भारत र नेपालका निजी क्षेत्रबिच लगानी सम्मेलन हुने अभ्यास छ ।

तर प्रधानमन्त्री शाहको भ्रमणमा भने प्रधानमन्त्रीले दुई देशका लगानी सम्मेलन हुने र सम्बोधन गर्ने कार्यक्रमको अहिलेसम्म टुङ्गो लागेको छैन । सम्भवतः दुई देशका व्यवसायीबिच छलफल हुने छ जसलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ । प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । भ्रमणको तयारी अवस्था बुझ्न परराष्ट्र मन्त्रालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोली यसै साता नयाँदिल्ली जानेछ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने भ्रमणको तयारीमा संलग्न अधिकारीहरूले जनाएका छन् । त्यस वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको भ्रमणबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top