३ मंसिर , काठमाण्डौ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।
घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।

त्यस्तै, चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगजनी गरेको छ । ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ । बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् ।
विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ । हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको ¥यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ । अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । त्यसयता देशमा राजनीतिक तनाव बढ्दै गएको छ ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो । बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
मंगलबार राति संसदमा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनासहित फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए । द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन् ।
बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् । गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् ।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए ।
पछिल्लो हिंसाले बंगलादेशको राजनीतिक अस्थिरता पुनः चर्किएको संकेत गरेको छ । हिंसा नियन्त्रण गर्न ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख फ्लाइओभरहरूमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने राजधानी प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधन जाँच भइरहेको छ ।
संवेदनशील जिल्लाहरू, विशेषगरी गोपालगञ्जमा सीमा सुरक्षा बल (बिजिबी) का हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच प्रधानमन्त्री तारिक रहमानले बीएनपीका सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर पार्टी कार्यकर्ता र समर्थकसँग सक्रिय रहन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई आतंकवादी संगठन र फासीवादी शक्ति भन्दै उसको पुनरुत्थानको विरोध गरेका छन् । उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर सन् २०२४ मा जस्तै त्यस्ता शक्तिलाई निर्णायक रूपमा पराजित गर्न आह्वान गरेका छन् ।
उनले बीएनपीका नेताहरूलाई सरकारी संयन्त्रमा मात्रै निर्भर नभई तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न पनि निर्देशन दिएका छन् । सन् २०२४ अगस्ट ५ मा हसिना सरकार ढलेपछि मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए ।
उनको सरकारले अवामी लिगलाई विघटन गर्नुका साथै पार्टीका हजारौँ नेता तथा कार्यकर्तालाई जेल पठाएको थियो । त्यही अवधिमा बङ्गलादेशका संस्थापक नेता तथा हसिनाका पिता शेख मुजिबुर रहमानको ढाकास्थित धनमन्डीको घरमा पटकपटक आगजनी र तोडफोड गरिएको थियो ।
अन्ततः उक्त घर ध्वस्त पारिएको थियो । अहिले युनुसको पैतृक घर र ग्रामीण बैंकका शाखामाथि भएका आक्रमणले बङ्गलादेशको राजनीतिक हिंसालाई थप जटिल बनाएको छ । गृहमन्त्री सलाहुद्दिन अहमदले आगजनी र हिंसामा संलग्न व्यक्तिहरूको पहिचान श्रव्यदृश्य प्रमाणका आधारमा गरिने र दोषीमाथि कडा कानुनी कारबाही हुने बताएका छन् ।
यता हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा सार्वजनिक गरेकी छन् । यसै तयारीका लागि उनले नयाँ दिल्लीस्थित बंगलादेशी कूटनीतिक नियोगमार्फत आफ्नो नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन अनुरोध गरेकी छन् ।
उनका लन्डनस्थित कानुन व्यवसायीले नोभेम्बर ९ मा यससम्बन्धी निवेदन दिएका थिए । हसिनाको पुरानो राहदानी र परिचयपत्र रद्द गरिएको बताइएको छ । तर उनको स्वदेश फिर्ती सहज देखिँदैन । बंगलादेश सरकारले भने भारतसँग उनको सुपुर्दगी माग गरेको छ ।
सत्तारूढ बीएनपीले हसिनाले राहदानी र राष्ट्रिय परिचयपत्र माग्नु राजनीतिक प्रदर्शन भएको टिप्पणी गरेको छ । पार्टीका संयुक्त महासचिव खैरुल कबिर खोकोनले हसिनाले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
उनले हसिनामाथि सामूहिक हत्या, मानवताविरुद्धको अपराध, अपहरण र हत्याजस्ता गम्भीर आरोप रहेको उल्लेख गर्दै बंगलादेशको राजनीतिमा उनको पुनरागमन सम्भव नरहेको दाबी गरेका छन् ।
हसिनाको सम्भावित स्वदेश फिर्ती, उनीमाथिको कानुनी कारबाही र अवामी लिगसँग जोडिएका गतिविधिले बंगलादेशको आन्तरिक राजनीतिक तथा सुरक्षा वातावरणलाई थप संवेदनशील बनाएको छ । पछिल्ला आगजनी र हिंसाका घटनाले त्यसमा थप चुनौती सिर्जना गरेका छन् ।



