४ मंसिर , काठमाण्डौ।
सुनको भाउ आज एकै दिन १२ हजार रुपैयाँ भन्दा धेरैले घट्यो । योसँगै सुन २ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ । हिजो बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ३५०० डलरसम्म झर्न सक्ने प्रक्षेपण गरिएको थियो ।

यता नेपालमा यो मूल्य प्रतितोला २ लाख ५० हजार हाराहारीमा झर्ने प्रक्षेपण थियो । यो गिरावटले विश्व बजारको मनोवैज्ञानिक रेखाको नजिक सुनको मूल्यलाई ओराल्यो भने नेपाली बजारको विन्दु तोडियो । अन्तर्राष्ट्रिय बजारमा सुन ३५०० डलरको नजिक आइसकेपछि आज बजारले केही सुधारको सङ्केत देखाएको छ ।
योसँगै अव सुनको मूल्य कता जाला भन्ने चासो देखिएको छ । अन्तर्राष्ट्रिय बजारका विभिन्न आर्थिक र राजनीतिक सूचकका कारण सुनको मूल्यमा लगातार चाप परेको छ । सुनको भाउ घटेपछि बजारमा गहना किन्नेको भीड बढ्न थालेको छ। पहिले महँगो भएकाले सुन नकिनी बसेकाहरू पनि अहिले पसल पुग्न थालेका छन्।
अझ मंसिर लागेसँगै बिहेका लागि गहना किन्नुपर्ने परिवारदेखि सस्तोमा सुन किनेर भविष्यका लागि राख्न चाहनेहरूलाई समेत अहिलेको मूल्यले आकर्षित गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले बजारमा दैनिक करिब ४० किलो सुनको कारोबार भइरहेको छ।
यसअघि गत वर्ष माघ १५ गते सुन तोलाको ३ लाख ३९ हजार ३०० रूपैयाँ पुगेको थियो। यही अहिलेसम्मको धेरै मूल्य हो।त्यसपछि भाउ घटे पनि पहिलेको तुलनामा मूल्य उच्च नै थियो। त्यसैले ग्राहकले खरिद घटाउँदै लगेका थिए।सामान्यतया सुन बजारको अफसिजनमा दैनिक चार–पाँच किलो मात्रै कारोबार भइरहेको थियो। कतिपय दिन त्योभन्दा पनि कम हुन्थ्यो।
अहिले भने मूल्य घट्नु र बिहेको सिजन सुरू हुनु दुवै कारणले कारोबार ह्वात्तै बढेको छ। माघ १५ को तुलनामा बिहीबार सुनको मूल्य ८१ हजार ७०० रूपैयाँ कम हो।कात्तिक २० गतेसम्म पनि सुन प्रतितोला २ लाख ८३ हजार रूपैयाँ थियो। मंसिर ३ गते आइपुग्दा घटेर २ लाख ५७ हजार ६०० रूपैयाँ भएको छ।
यस अवधिमा प्रतितोला २५ हजार ४०० रूपैयाँ घटिसक्यो। विवाहका लागि पाँच–दस तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिने शाक्य बताउँछन्। पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ।
शाक्यका अनुसार दैनिक करिब ४० किलो सुनको कारोबार भइरहे पनि बैंकमार्फत हुने दैनिक आपूर्ति २५ किलो मात्रै छ। यो पनि सिजन भएकाले हो। नभए दैनिक २० किलो आउँछ। हाल बजारमा भइरहेको कारोबार र नयाँ आपूर्तिबीच दैनिक करिब १५ किलोको अन्तर छ।
यो अन्तर बजारमा पहिलेबाट रहेको मौज्दातबाट पूर्ति भइरहेको छ। तर पुरानो सुन बिक्री भएर बजारमा नफर्किएकाले नयाँ सुनको माग र आपूर्तिबीचको अन्तर गम्भीर विषय बन्दै गएको छ। एकै पटक पाँच सयदेखि एक हजार किलोसम्म सुन उपलब्ध गराउन सकिए बजारको तत्कालीन माग व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि सुनको मूल्य दबाबमा देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुन प्रतिऔंस ३७३०.६१ डलरमा कारोबार भयो। यो सन् २०२५ को सेप्टेम्बरयताकै कम मूल्य हो। सुनको मूल्य घट्नुमा अमेरिकी डलर बलियो हुनु र सरकारी ऋणपत्रमा पाइने ब्याज बढ्नुले पनि भूमिका खेल्छ।
त्यस्तै, केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अनुमानले पनि सुनको मूल्यमा दबाब पार्छ। ब्याजदर बढ्दा लगानीकर्ताले सुनमा भन्दा ब्याज पाइने क्षेत्रमा पैसा लगाउन रूचाउँछन्। किनभने, सुन राख्दा ब्याज पाइँदैन, तर सरकारी ऋणपत्रमा लगानी गर्दा ब्याज आम्दानी हुन्छ।
त्यसैले ब्याजदर बढ्दा सुनप्रतिको आकर्षण घट्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि सामान्यतया घट्छ। तर दुवै बजारमा मूल्य समान अनुपातले घट्दैन। नेपालमा सुनको भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर, आयातमा लाग्ने कर र अन्य लागत पनि जोडिन्छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंसमा तोकिन्छ। एक ट्रोय औंसमा ३१.१०३५ ग्राम सुन हुन्छ भने एक तोलामा करिब ११.६६३८ ग्राम। त्यसैले अन्तर्राष्ट्रिय मूल्यलाई डलर–नेपाली रूपैयाँ विनिमय दर अनुसार रूपान्तरण गरी एक तोलाको मूल्य निकालिन्छ।
त्यसपछि आयातमा लाग्ने कर र अन्य लागत जोडिन्छन्। यस कारण अन्तर्राष्ट्रिय बजारमा सुन सस्तिए पनि डलरको भाउ बढे नेपालमा मूल्य घट्ने दर कम हुन सक्छ। तर अब सुनको बजारमा मूल्यसँगै माग र आपूर्तिको अवस्था पनि महत्वपूर्ण हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घटे ग्राहकले थप सस्तोमा किन्न पाउनेछन्। मूल्य फेरि बढ्न थाल्यो भने अहिलेको मूल्यमा सुन किन्न चाहने ग्राहकको संख्या झन् बढ्न सक्छ। यस्तो अवस्थामा बजारमा सुनको माग अझै बढ्नेछ।
अमेरिकामा महँगी दर अझै नियन्त्रणमा नआएकाले आगामी डिसेम्बरमा बस्ने अमेरिकी केन्द्रीय बैङ्कको बैठकले ब्याजदर पुनः बढाउने करिब ९५ प्रतिशत सम्भावना देखिएको छ । यद्यपि ब्याजदर ०.२५ प्रतिशत विन्दुले मात्रै बढ्छ कि ०.५० प्रतिशतले बढ्छ अनुमानको विषय बनेको छ ।
ब्याजदर बढ्दा सुनमा भन्दा सरकारी बन्ड र डलरमा लगानी गर्दा बढी प्रतिफल मिल्ने भएकाले लगानीकर्ताहरू सुनबाट बाहिरिएका छन् । यसैगरी, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर सूचकाङ्क १९ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
डलर बलियो हुँदा अन्य मुद्रा भएका देशहरूका लागि सुन महँगो पर्न गई माग घटेको हो । यता भारतीय मुद्रा बलियो भएसँगै नेपालमा अमेरिकी डलरको विनिमय दर करिब १५२ बाट घटेर १४९ रुपैयाँ आसपास झरेको छ, जसले नेपालमा सुन आयात लागत घटाउन मद्दत गरेको छ ।
बिहीबार चीनको सेञ्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिङपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको भेटवार्ता खासै सफल भएन । यदि भेटवार्ताले मूर्त रुप लिएर युक्रेन तथा पश्चिम एसियाको समस्या समाधानोन्मुख भएको थियो भने यसले सुनको मूल्यमा सुधार देखिन सक्थ्यो, किनकी यसले विश्व बजारमा महँगी घटाउन मद्दत गथ्र्यो ।
तर, वार्ता त्यति सकारात्मक देखिएन । रुसी राष्ट्रपति पुटिनले त सार्वजनिक रूपमै भेटवार्ता सोचे जति सफल नभएको बताएका थिए । विश्व शक्ति राष्ट्रहरूबिच भइरहेका पछिल्ला संवादहरू पूर्णतः आशावादी नदेखिएकाले भाउ घट्नुपर्ने ठोस कारण नहुँदा पनि मूल्य ओरालो लाग्नुले बजार अनिश्चित बनेको विश्लेषण छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रममा केही सुधार देखिए पनि तत्काल मूल्य बढ्ने सम्भावना भने कम रहेको विश्लेषण गरिएको छ । आगामी डिसेम्बर ८–९ मा हुने अमेरिकी फेडरल रिजर्भको अल्पकालीन ब्याजदरलाई घटाउने प्रक्षेपण गरिएको छ ।
यो सम्भावना ९५ प्रतिशत रहेको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी अनुसन्धान संस्थाहरूले जनाएका छन् । यो निर्णय नआउन्जेल सुनको मूल्य अस्थिर र दबाबमै रहने देखिन्छ । त्यो समयमा फेडले ब्याजदर एकै पटक ०.५० प्रतिशतले ब्याज बढायो भने यसले सुनमा अझै दबाब पर्न सक्छ ।
यद्यपि, युबिएस र गोल्डम्यान स्याक्स जस्ता ठुला अन्तर्राष्ट्रिय बैंकहरूले सन् २०२७ को मध्यतिर विभिन्न देशका केन्द्रीय बैङ्कहरूको खरिदका कारण सुनको मूल्य पुनः उकालो लाग्न सक्ने प्रक्षेपण गरेका छन् । यसले अल्पकालीन रूपमा मूल्य घटे पनि दीर्घकालमा मूल्य माथि जान सक्ने सम्भावना समेत देखाउने विश्लेषण गरिएको छ ।



