५ मंसिर , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ। लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् ।
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यसअघि लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । तर, पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई कायम राख्यो ।
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । १० अंकसहित लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो । यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो ।

त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने क्रम तोड्ने लक्ष्यमा हुनेछ । लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् ।
कप्तान रोहितले फाइनलका लागि तयार रहेको बताएका छन् । यता दीपेन्द्रले लुम्बिनीको बलिङ लाइनअप राम्रो रहेको र त्यसलाई खेल्नेबारेमा टिममा छलफल भइसकेको बताएका छन् । रोहितले शुक्रबार भनेका थिए, हामीले तीन दिनको आराम पाएका छौं ।
शुक्रबार हामीले राम्रो अभ्यास गर्ने मौका पायौं । जुन पक्षमा काम र सुधार गर्नु थियो, त्यो ग¥यौं । फाइनललाई लिएर हामी उत्साही छौं । तयार पनि छौं । टिम खेलमा लय निकैे महत्त्वपूर्ण हुन्छ । यसले कुनै पनि स्थितिमा पनि जित्न सक्छौं भन्ने हुन्छ । लुम्बिनीमा यो अनुभव भइरहेको छ ।
हामी लिग चरणमा शीर्षमा रह्यौं र राम्रो गरिरहेका छौं । तर यसो भनेर मात्र केही हुन्न, फाइनलमा राम्रो गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम रोयल्स पनि एकदमै राम्रो टिम हो । हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने हामी जित्ने छौं । फाइनलमा जुन टिमले राम्रो खेल्छ, त्यसैले जित्छ । सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेका छौं, तर यसअघिका दुई खेल पनि गुमाएका छौं । क्रिकेट हो, जे पनि हुनसक्छ ।
यता सुदूरपश्चिमका कप्तान दीपेन्द्र भन्छन्, हाम्रो तयारी तपाईहरूले हेरिसक्नुभएको छ, खेलकै क्रममा । हामी पनि फाइनलका लागि तयार छौं । लुम्बिनीको बलिङ आक्रमण राम्रो छ । त्यसलाई कसरी खेल्ने हो भनेर योजना बनाइसकेका छौं । विदेशी खेलाडीले छाडेर जाँदा टिमको सन्तुलन बिग्रिन्छ ।
अरू टिममा जस्तै हाम्रोमा पनि यस्तो भएको छ । त्यसैले ब्याटिङ क्रममा तल–माथि गरिरहेका छौं । फाइनलमा कुन क्रम ठीक हुन्छ, त्यो हेर्छौं । विराटनगर किंग्सविरुद्धको खेल इतिहास भइसकेको छ, पुरानो कुरा गरेर काम छैन, अब अगाडि बढ्ने हो । अहिले टिममा कुनै समस्या छैन, सबै ठीक छ ।

यसैबीच यता एनपीएलको तेस्रो संस्करणमा ब्याट्सम्यानको प्रदर्शनसँगै बलरहरूको प्रभावशाली प्रदर्शन पनि चर्चामा छ । प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै विपक्षी टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्ने खेलाडीमध्ये सर्वाधिक विकेट लिने सूचीको शीर्ष पाँचमा छन् ।
यस सूचीको शीर्ष स्थानमा चितवन राइनोजका नेपाली तीव्र गतिका बलर रिजन ढकाल छन् । उनले प्रतियोगितामा ८ खेल खेल्दै १७ विकेट लिएका छन् । त्यस्तै, चितवनकै कमलसिंह ऐरी र सुदूरपश्चिम रोयल्सका न्युजिल्यान्डका बलर स्कट कुगेलेइन समान १३ विकेटसहित दोस्रो स्थानमा छन् ।
जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव र काठमाडौं गोर्खाजका पाकिस्तानी बलर जहान्दाद खानले समान १२ विकेट लिएका छन् । यी पाँचै बलरको प्रदर्शन र पृष्ठभूमि हेर्दा एनपीएलको तेस्रो संस्करणमा नेपाली युवा प्रतिभादेखि अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीसम्मले बलिङमा आफ्नो प्रभाव जमाएको देखिन्छ ।
यसैबीच एनपीएल अब उपाधिको अन्तिम मोडमा छ । यससंगै व्यक्तिगत पुरस्कारको दौड पनि उत्तिकै रोचक छ । यस संस्करणको सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पाउँदा उत्कृष्ट र उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
नेपाली खेलाडीको प्रदर्शन आधार मान्दा कारका बलिया दाबेदारमध्ये सबैभन्दा अगाडि देखिन्छन्, चितवन राइनोजका रिजन ढकाल । १७ विकेट लिएका रिजनले ८ इनिङ्समा २७ ओभर बलिङ गर्दै ६.२ को इकोनोमीमा मात्र १६८ रन खर्चिएका छन् ।
इलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध १६ रन दिएर ४ विकेट लिनु उनको टी–२० करियरकै उत्कृष्ट प्रदर्शन हो । चितवन उपाधि दौडबाट बाहिरिए पनि व्यक्तिगत प्रदर्शनका आधारमा रिजनको दाबेदारी कमजोर छैन । विगतका संस्करणमा ब्याटरले मात्र कार जितेको इतिहास हेर्दा कम्तीमा मोटरसाइकल भने उनीबाट कसैले खोस्न सक्ने देखिँदैन ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शनले कारको प्रतिस्पर्धा रोचक बनाएको छ । ९ इनिङ्समा ३ अर्धशतकसहित २१७ रन बनाएका दीपेन्द्रले बलिङमा पनि ५.२९ को इकोनोमीमा ६ विकेट लिएका छन् । उत्कृष्ट अलराउन्डर दीपेन्द्रले फाइनलमा पनि आफ्नो लय कायम राख्दै सुदूरपश्चिमलाई उपाधि दिलाउन सके कारको दाबेदारीमा उनलाई उछिन्न कठिन हुनेछ ।
पहिलो संस्करणमा पनि उनले कार जितेका थिए । विराटनगर किंग्सका लोकेश बम पनि बलिया प्रतिस्पर्धी हुन् । ७ खेलमा ३४.५७ को औसत र १४२ माथिको स्ट्राइक रेटमा २४२ रन बनाएका लोकेश सर्वाधिक रन बनाउने नेपाली खेलाडी तथा समग्रमा दोस्रो स्थानमा छन् ।
१६ चौका र १८ छक्का प्रहार गरेका उनको आक्रामक ब्याटिङले प्रतियोगितामा छुट्टै रोमाञ्च थप्यो । कारको दौडमा पछि परे मोटरसाइकलका लागि उनको दाबेदारी बलियो छ । उदीयमान खेलाडी पुरस्कारका लागि जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादव बलिया दाबेदार हुन् ।
ट्यालेन्ट हन्टमार्फत जनकपुरमा आबद्ध राहुलले ७ खेलमा ६.८६ को इकोनोमीमा १२ विकेट लिएका छन् । काठमान्डुविरुद्ध ३१ रन खर्चेर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । लगातार दुई सिजन पुछारमा रहेर लिग टुंग्याएको जनकपुरबाट राहुलजस्ता प्रतिभालाई अवसर दिनु यस संस्करणको सकारात्मक पक्ष बनेको छ ।
सुदूरपश्चिमका बायाँहाते स्पिनर अनिल खरेल पनि उदीयमान खेलाडीको पुरस्कारका दाबेदार हुन् । टोलीलाई फाइनलसम्म पु¥याउने क्रममा उनले ९ खेलको ७ इनिङ्समा १० विकेट लिएका छन् । फाइनलमा प्रभावशाली प्रदर्शन गर्न सके मोटरसाइकल उनको हुनसक्छ ।
लुम्बिनीका अभिषेक गौतमले ५ खेलमा ७ विकेट लिएर टोलीलाई उपाधिसामु पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । कर्णाली याक्सका युनिशविक्रम सिंह ठकुरी र विराटनगरका इमरान शेखले पनि युवा प्रतिभाका रूपमा आफ्नो उपस्थिति देखाएका छन् ।



