एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो, निर्वाचन गराउन फिफा सहमत

५ मंसिर २०८३, शनिबार
Share this
744shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् ।

Advertisement

निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ । ‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ’, मन्त्री पोखरेलले भने ।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको उनले बताए । ‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुङ्गिन बाँकी छ’, मन्त्री पोखरेलले भने ।

उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’का रूपमा बुझेको थियो । तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।

‘राज्यले गर्ने काम आफैँ गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले केही हस्तक्षेप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो’, मन्त्री पोखरेलले भने। सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएको जानकारी दिए ।

यसैबीच नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । एनएफएलका कमिश्नर राजु घिसिङले भने, ‘आठ सहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ।

पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाको आधारमा तीन टोली छनोट गरिनेछ।’ नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो ।

घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित नेपाल सुपरलिग (एनएसएल) छाडेका ७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन् ।

यी सात क्लब र नयाँ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’को आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top