६ मंसिर , काठमाण्डौ । प्रहरीको मूलमन्त्र भित्रै पर्दछ, ‘मुस्कानसहितको सेवा’। तर आफ्नै सन्तान हराएको पीडामा खोजी तथा उद्धारका लागि फोन गर्ने प्रहरी कर्मचारीले समेत सहकर्मीबाट गालीगलौज र अपमान सहनुपर्ने अवस्था आउँछ भने सर्वसाधारणले प्रहरीबाट कस्तो व्यवहारको अपेक्षा गर्ने ? ‘जय नेपाल’ नभनेको भन्दै दर्जाको धाक देखाएर तथानाम गाली गरेको भन्दै प्रहरी कर्मचारीको व्यवहारले संगठनकै छविमाथि प्रश्न उठाएको सार्वजनिक अडिओ खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।
छठ पर्व मनाउन र घर आएका छोरा अचानक हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारलाई ‘जय नेपाल’ नगरेको भन्दै अर्का प्रहरीले आफूलाई सई भएको बताउदै गरेको गाली गलौजले अहिले प्रहरी नै लज्जित हुनु पर्ने अवस्था आएको छ । प्रहरीले आफ्ना सहकर्मीकै गुनासोलाई यसरी लिन्छन् भने सर्बसाधारणको अवस्था के होला भन्ने प्रश्न सामाजिक संजालमा उठेका छन् । शुक्रबार मात्रै प्रहरी महानिरीक्षण मनोज केसीले देशभरका कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १ सय २२ जना प्रहरी कर्मचारीहरूका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेको अवस्थामा यो बाहिरिएको प्रहरीको अडिओले केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको अपरिहार्यतालाई थप बल पुर्याएको छ । प्रहरी प्रमुखले प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाउनुका साथै एक जना प्रहरी कर्मचारीको टेलिफोन मार्फत गुनासो सुनेर उक्त डेस्कको औपचारिक शुभारम्भ गर्दै गर्दा जय नेपाल भन्ने शब्दलाई लिएर प्रहरी नै आफ्नै सहकर्मीबाट कसरी गालीगलौचमा परिरहेका छन् भन्ने यर्थात देखिएको छ ।यता छोरा हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई सई बताउँदै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि यस्तो आरोप लागेको हो । घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्य तथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ । सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए । सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत महतोले आफूलाई सई बताउँदै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ ।
फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सङ्गठनभित्रै घटना आलोचित बनेको छ । सार्वजनिक अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि आफूलाई सई बताउने महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ ।महतोले सई भएको परिचय दिएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा महतोले गालीगलौज गरेको अडियोमा सुनिन्छ । छोरा सम्पर्कविहीन भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि फोन गरेका कर्मचारीमाथि नै दुव्र्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ ।अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबिच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

अडियोमा सुनिएको संवाद प्रहरी आचरण विपरीत रहेको भन्दै घटनाको वास्तविकता र कसको लापरबाही रहेको हो भन्ने विषयमा सत्य तथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ । छानबिनबाट दोषी देखिएका प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरी यथाशीघ्र नतिजा प्रदेश प्रहरी कार्यालयमा जाहेर गर्नसमेत निर्देशन दिइएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए । घटनाबारे बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका थिए । डीएसपी शाहीका अनुसार महतोले गल्ती गरेको भए विभागीय कारबाही अघि बढाउनुपर्ने भए पनि हवल्दार यादवले अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि उठेको छ ।
अनुसन्धानमा रहेकाले अडिओ र घटनाको पूर्ण वास्विकता भने अझै आइसकेको छैन् । शुक्रबार मात्रै प्रहरी प्रमुख केसीले प्रहरी संगठनको जगको रूपमा रहेका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका कर्मचारीहरूको पेशागत जीवनलाई अझ सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउन तथा कार्यक्षेत्रमा भोग्नु परेका समस्या, कठिनाई, विभेद र गुनासाहरूलाई उचित सम्बोधन गर्ने उद्देश्यले डेस्कको स्थापना गरेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासो, पीरमर्काहरू विभिन्न तहहरू पार गरेर नेतृत्व तहसम्म आइपुग्न कठिन भएको कुरालाई मनन गर्दै ती गुनासो तथा पीरमर्काहरू अझ द्रुत र छिटो गतिमा सम्बोधन गर्ने गरी यो डेस्क स्थापना गरिएको बताए।
आधारभूत तह प्रहरी संगठनको आधारभूत स्तम्भ हुनुका साथै सडकदेखि सीमा सम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले देख्ने र महसुस गर्ने असली अनुहार भएको चर्चा गर्दै आधारभूत तह सन्तुष्ट नभए सम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिनाई हुने उनले बताए। प्रहरी महानिरीक्षक केसीले प्रहरी कर्मचारीहरूको गुनासोको प्रभावकारी सम्बोधन समग्र कार्यसम्पादनसँग जोडिएको हुनाले यो डेस्क केबल गुनासो दर्ता गर्ने ठाउँ मात्र नभई नेतृत्व तह र आधारभूत तह बीचको विश्वासको सेतु भएको उल्लेख गर्दै गुनासोकर्ताहरूको गोपनीयतालाई विशेष प्राथमिकतामा राखी हरेक गुनासोहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै डेस्कको प्रभावकारी संचालन गर्न डेस्कको जिम्मेवारीमा खटिएका प्रहरी कमर्चारीहरूलाई निर्देशन दिए।
प्रहरी संगठनलाई अनुशासन, मर्यादा र जिम्मेवारीको प्रतीकका रूपमा हेरिन्छ। तर यही संगठनभित्र तल्लो दर्जामा कार्यरत तथा दुर्गम जिल्लामा खटिएका प्रहरी अधिकारीहरूले माथिल्लो दर्जाका अधिकारी र केन्द्रमा रहेका नेतृत्वबाट विभेद, अपमान तथा मर्यादाविपरीतका व्यवहार सहनुपर्ने अवस्था देखिनु गम्भीर विषय हो। यस्ता समस्यालाई सम्बोधन गर्दै प्रहरी कर्मचारीका पीरमर्का, विभेद र गुनासाहरू निष्पक्ष रूपमा सुनुवाइ तथा समाधान गर्ने उद्देश्यले गुनासो सम्बोधन डेस्क स्थापना गर्नु सकारात्मक पहल हो। संगठनभित्रै अन्याय र विभेद भोग्नुपर्ने अवस्था कायम रहेमा प्रहरीमाथि सर्वसाधारणको भरोसा, विश्वास र संगठनको आचरणमाथि समेत प्रश्न उठ्न सक्छ। त्यसैले प्रहरीभित्रै न्याय, समानता र सम्मानको संस्कृति स्थापित गर्नु आजको आवश्यकता हो।



