७ मंसिर , काठमाण्डौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो तथा अन्तिम दिन आजको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ। भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्। समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ भने जलविद्युत आयोजनाको शिलान्यासदेखि जनकपुरदेखि अयोध्यासम्मको रेल सेवाको उद्घाटन गर्ने तालिका छ ।
सार्वजनिक कार्यतालिका अनुसार बिहान १०ः०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै उनी बिहान १०ः४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रम अन्तर्गत बिहान ११ः०० बजे ‘हैदराबाद हाउस’ मा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तय भएको छ। दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२ः२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ। त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४ः५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ। आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।भारतीय पक्षसँगको छलफलमा नेपालले नयाँ ‘एयर रूट’ पाउनु पर्ने एजेण्डालाई ‘बटमलाइन’ बनाएको छ। नेपालको प्रस्तावअनुसार नयाँ एयर रूट दिन भारत सहमत भएमात्रै यो भ्रमणमा ‘ब्रेक थ्रु’ भएको मानिने प्रधानमन्त्री शाहको टिमको भनाइ छ। आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्दा नेपाली टिमले नयाँ एयर रूटलाई ‘बटमलाइन’ बनाएको छ। जसमा विदेशमन्त्री जयशंकर सकारात्मक देखिएका छन्। विदेशमन्त्री एयर रूट दिनेबारे सकारात्मक देखिएको छन्, जुन विषय आज प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने वार्तामा टुंगिने छ।
प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट लगत्तै जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए, जहाँ आज प्रधानमन्त्री तहमा हुने दुई पक्षीय भेटवार्तामा टुङग्याउनु पर्ने एजेण्डालाई अन्तिम रुप दिन छलफल भएको थियो। प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरले करिब २५ मिनेट शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसपछि होटल ताजमै भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री खनालबीच छुट्टै भेटवार्ता भएको थियो। दुई मन्त्रीबीचको भेटमा भने प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डाबारे विस्तृतमा कुराकानी भएको थियो। जसमा नेपाली पक्षले हवाई प्रवेश बिन्दु (एयर रूट) लाई विशेष प्राथमिकता दिएर कुराकानी भएको भारतीय दूताबासका अधिकारीहरुले बताएका छन् । भारतीय पक्ष महेन्द्रनगरबाट ‘एयर रूट’ दिन सकरात्मक भए पनि अन्तिम सहमति भने भइसकेको छैन। दिल्लीमा भ्रमण दलमा रहेको प्रधानमन्त्री शाहको टिमले भारतले ‘एयर रूट’ लाई प्रमुख एजेन्डाका रुपमा अघि सारिरहेको छ। एयर रूट उपलब्ध गराए मात्रै यो भ्रमण ब्रेक थ्रु भएको मान्न सकिने उनीहरूले बताएका छन्। भारतले महेन्द्रनगरको एयररुट दिँदा त्यसको सट्टामा नेपालको पूर्वी सीमा नजिक पर्ने पश्चिम बंगाल राज्यको दार्जिलिङस्थित बागडोगरा विमानस्थलबाट नेपाली आकाश हुँदै उडान गर्न दिनुपर्ने प्रस्ताव राखेको भनिएको छ । नेपालले करिब १२ वर्षदेखि पश्चिमतर्फबाट काठमाडौंमा आउने अन्तर्राष्ट्रिय उडान महेन्द्रनगरको एयर रूटबाट प्रवेश पाउनुपर्ने माग गर्दै आएको छ। तर, भारतले भने सधैं यस विषयलाई टार्दै आएको छ। नेपाली पक्षले महेन्द्रनगरबाट नै एयर रुट चाहिनेमा जोड दिँदै आएको छ। यो रुटबाट अन्तर्राष्ट्रिय उडान प्रवेश गर्न पाउँदा पश्चिम नेपालको सीमानादेखिको नेपाली आकाश प्रयोग गर्न सकिन्छ।
यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणकै बेला आज ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले यो आयोजनामा लगानी गर्दै छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने कार्यक्रम भ्रमणको महत्त्वपूर्ण एजेन्डा हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शालिग्राम भण्डारीका अनुसार, तल्लो अरुणको शिलान्याससँगै अन्तरदेशीय प्रसारणलाइन निर्माण, जलविद्युत् आयोजनाले भारतबाट बर्सेनि नवीकरण गर्नुपर्ने स्वीकृतिसम्बन्धी समस्या समाधान, बंगलादेशमा विद्युत् निर्यात विस्तार र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने एजेन्डा छन् । उनका अनुसार, नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ ।
संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९२ अर्ब ६८ करोड रुपैयाँ छ । अर्थात् भारतीय ५ हजार ७९२ करोड ३६ लाखको अनुमान कम्पनीको छ ।तल्लो अरुणको सबैभन्दा महत्त्वपूर्ण प्राविधिक विशेषता यो माथिल्लो तटीय क्षेत्रमा निर्माण भइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनासँग जोडिएर सञ्चालन हुनेछ । तल्लो अरुण आयोजनाको जडित क्षमता ६६९ मेगावाट हो । यसलाई युनिटमा गणना गर्दा वार्षिक करिब दुई अर्ब ९० करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको कुल उत्पादनमध्ये २१ प्रतिशत विद्युत् नेपाल सरकारले निःशुल्क प्राप्त गर्ने परियोजना विकास सम्झौतामा व्यवस्था छ । यस आधारमा डिजाइन उत्पादनअनुसार नेपालले वार्षिक करिब ६०९ गिगावाट आवर अर्थात् ६० करोड ९० लाख युनिट विद्युत् निःशुल्क प्राप्त गर्नेछ । आयोजना २५ वर्षपछि नेपाललाई हस्तान्तरण गरिनेछ ।
यस्तै भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवाको समेत आज दिल्लीबाटै उद्घाटन हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रुपमा अयोध्यादेखि जनकपुरधामसम्म चल्ने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै दार्चुलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिनेछ । त्यस्तै, भारततर्फ उत्तराखण्डको बनवासामा एकीकृत जाँच चौकीको शिलान्यास तथा नेपालतर्फ दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण प्रगतिको अवलोकन दुवै प्रधानमन्त्रीले गर्नेछन् । झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनल निर्माणको शुभारम्भसमेत दुवै प्रधानमन्त्रीले गर्नेछन् । त्यस्तै, निर्माण सम्पन्न भएको दोस्रो चरणको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ । त्यसपछि दुवै प्रधानमन्त्रीले हैदरावाद हाउसमै प्रेसलाई सम्बोधन गर्नेछन् ।
शाह र मोदीबीचको भेटवार्ताका लागि ११ बजेर ५ मिनेटदेखि ११ बजेर ३० मिनेटसम्मको समय छुट्याइएको छ । दुई प्रधानमन्त्रीबीच हुने बैठकलाई ‘रेस्ट्रिकेटेड मिटिङ’ भनिएको छ । त्यसमा प्रधानमन्त्रीसँग सीमित अधिकारीको सहभागिता रहन सक्छ । उक्त भेटवार्ता हैदरावाद हाउसको नीलगिरी हलमा हुने भारतले निर्धारण गरेको कार्यतालिकामा उल्लेख छ । उक्त कार्यतालिका नेपाली पक्षलाई उपलब्ध गराइएको छ । नीलगिरी हलमै दुई प्रधानमन्त्रीको एक्लाएक्लै वार्ताका लागि समय तोकिएको छ । साढे ११ देखि ११ बजेर ४५ मिनेट समय त्यसका लागि निर्धारण गरिएको छ ।

हैदरावाद हाउसकै गिरनार रुममा १२ बजेदेखि १२ बजेर २० मिनेटसम्म प्रतिनिधिमण्डल तहको वार्ता हुनेछ । उक्त वार्ताको नेतृत्व नेपालका तर्फबाट प्रधानमन्त्री शाहले र भारतका तर्फबाट प्रधानमन्त्री मोदीले गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीका तर्फबाट हैदरावाद हाउसमै नेपालका प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोलीका लागि दिवा भोज राखिएको छ । दुवै पक्षले उपहार आदानप्रदान गरेपछि प्रधानमन्त्री शाह अपराह्न २ बजेर २५ मिनेटमा हैदरावाद हाउसबाट बाहिरिनेछन् । दिल्लीको मानसिंह रोडमा रहेको ताजमहल होटलमा केहीबेरको ‘रिफ्रेसमेन्ट’ पछाडि प्रधानमन्त्री शाह ३ बजेर १५ मिनेटमा राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुग्नेछन् । राष्ट्रपति भवनमा आधा घण्टा व्यतित गरेपछि त्यहीँबाट नेपाली भ्रमण टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणको सिलसिलामा हिजो नयाँ दिल्ली पुगेका हुन् ।
आइतबार दिउँसो काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवत्ता जगदिश खरेलले बिदाइ गरेका थिए । विगतका परम्परा तोड्दै प्रधानमन्त्री बालेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी)मा ‘गार्ड अफ अनर’ (सम्मान गारत) तथा सलामी लिएनन् । उनले गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाको न्युयोर्क जाँदा पनि गार्ड अफ अनर लिएका थिएनन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमा काठमाडौंबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्य सचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत छन् । प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्लीस्थित इन्दिर गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा त्यहाँ उनलाई भारतका बाणिज्य तथा उद्योगमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री बालेन नयाँ दिल्ली पुगेलगत्तै भारतीय विदेश मन्त्रालयले यो भ्रमण दुई देशबीचको साझेदारीलाई सुदृढ पार्ने अवसर भएको जनाएको थियो । प्रधानमन्त्री बालेन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सिधै आफू बस्ने होटल ताज महल पुगेका थिए ।
भारतका विदेशमन्त्री एस जयशंकरले होटल ताज महलमा आइतबार साँझ ६ः१५ बजे प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्ता करिब २५ मिनेट भएको थियो । “नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ,” विदेशमन्त्रीले शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री बालेनको सचिवालयले आइतबार साँझ जारी गरेको प्रेस नोटमा भनिएको छ । उनीहरूबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो ।



