७ मंसिर , काठमाण्डौ । नेपाली राजनीतिमा सरकार फेरिए पनि प्रधानमन्त्रीका विदेश भ्रमणका शैली र अभ्यासमा खासै परिवर्तन देखिँदैनथ्यो । भ्रमणमा पत्नी वा परिवारका सदस्यको सहभागिता, विमानस्थलमा तामझामसहितको बिदाइ, सेनाको सलामी, राष्ट्रपतिसँगको भेटघाट र पूर्वप्रधानमन्त्री तथा विज्ञहरूसँगको परामर्श नियमित अभ्यासजस्तै बनेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यीमध्ये धेरै परम्परागत अभ्यासलाई तोड्दै आफ्नो छुट्टै शैली प्रस्तुत गरेका छन् । दुईदिने राजकीय भारत भ्रमणका क्रममा बालेनले देखाएको कार्यशैली अहिले चर्चाको विषय बनेको छ । उनले न त भ्रमण टोलीमा पत्नी वा परिवारका सदस्यलाई समेटे, न विमानस्थलमा गार्ड अफ अनर र सलामी लिए । सीमित सदस्यीय प्रतिनिधिमण्डलसहित भारत पुगेका उनले औपचारिकता र तामझामभन्दा फरक शैली अपनाएका छन् ।
दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह आज भ्रमणको निर्णायक तथा अन्तिम दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । मोदीसँग ‘वन अन वन’ भेटवार्ता सँगै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनालगायत क्षेत्रमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । बालेनको भारत भ्रमणबाट हुने उपलब्धिसगै उनले भ्रमणमा गरेका क्रमभंगता अहिले चर्चामा छन् । प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै पत्नी वा परिवारका महिला सदस्यलाई लैजाने विगतको अभ्यासमा क्रमभंग गरेका छन् । यस्तै विगतका परम्परा तोड्दै प्रधानमन्त्री बालेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी)मा ‘गार्ड अफ अनर’ (सम्मान गारत) तथा सलामी लिएनन् । उनले गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाको न्युयोर्क जाँदा पनि गार्ड अफ अनर लिएका थिएनन् ।यसअघिका हरेक प्रधानमन्त्रीले कुनै पनि देशको औपचारिक भ्रमणमा जाँदा पत्नी लैजान छुटाउँथेनन् । पत्नी नभएकाहरुले छोरी लैजाने गरेका थिए । प्रधानमन्त्री शाहले भने त्यस्तो पारिवारिक मोह देखाएका छैनन् । उनले अहिलेसम्म गरेका दुई विदेश भ्रमणमा पत्नी वा परिवारका अन्य सदस्यलाई स्थान दिएका छैनन् । विगतका अभ्यास हेर्ने हो भने गिरिजाप्रसाद कोइरालाको पालादेखि नै परिवारका सदस्य साथमा लैजाने गरिएको देखिन्छ । २०४६ सालपछि कोइराला ५ पटक नेपालको प्रधानमन्त्री बने ।हरेकपटक प्रधानमन्त्री बन्दा उनले प्राय विदेश भ्रमणमा आफ्नी छोरी सुजाता कोइरालालाई साथै लैजान्थे ।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी सादगीपनका लागि चिनिन्छन् । २०५१ सालमा प्रधानमन्त्री बनेका उनले भारत, चीन र जर्मनीको भ्रमण गरेका थिए । भारत भ्रमणमा जाँदा उनकी पत्नी साधना अधिकारीपनि साथमा थिइन् । अर्का कम्युनिष्ट प्रधानमन्त्री माधवकुमार नेपालले सन् २००९ मा भारत भ्रमण गर्दा पत्नी गायत्री नेपाललाई सँगै लगेका थिए । यस्तै डा. बाबुराम भट्टराईले सन् २०११ मा भारतको औपचारिक भ्रमण गर्दा पत्नी हिसिला यमी पनि टोलीमा थिइन् । कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले भारत भ्रमण गर्दा हरेकपटक पत्नी आरजु राणा देउवालाई सहभागी गराएका थिए । केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा भारत र चीन भ्रमण गर्दा पत्नी राधिका शाक्यलाई सँगै लगेका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा पत्नी र छोरी दुवै सहभागी भए । अविवाहित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशील कोइराला रहेका छन् ।

यस्तै विगतका प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणबारे संसद् अनि राष्ट्रपतिलाई भेटेरै जानकारी गराउने गरेका थिए। तर प्रधानमन्त्री शाहले त्यसो गरेनन्। प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण हुनुअघि पूर्वप्रधानमन्त्री, परराष्ट्र मामिलाका जानकार, विज्ञ लगायतसँग भेट्ने, छलफल गर्ने र सुझाव लिने नेपाली परम्परा छ। तर प्रधानमन्त्री शाहले यसमा क्रमभंग गरेका छन्। पूर्वप्रधानमन्त्रीसँग सामूहिक र एक्लाएक्लै भेटेर भ्रमणमा उठाउने विषयबारे जानकारी लिन पनि शाहले चाहेनन्। यसअघि विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरू छलफल गर्ने गरेका थिए। विदेशमा उठाउनुपर्ने विषयमा सुझाव माग्ने गरेका थिए। प्रधानमन्त्रीले सुझाव नमागेपछि विभिन्न माध्यामबाट प्रचण्ड, बाबुराम भट्टराइृ लगायतले सुझाव दिए । प्रचण्डले त बालेन सुझाव सल्लाह माग्ने खालको प्रधानमन्त्री नभएको भन्दै राम्रो कामलाई आफूले सधै समर्थन गर्ने बताएका छन् ।
यस्तै पहिलो विदेश भ्रमण भारत गरेनन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्युयोर्क गए। त्यो उनको राजकीय भ्रमण नभए पनि प्रधानमन्त्री बनेपछि गरेको पहिलो विदेश भ्रमण थियो। प्रधानमन्त्री शाहले भारत भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गरेनन्। प्रधानमन्त्रीले विदेश जाँदा र फर्किँदा राष्ट्रप्रमुखलाई ‘ब्रिफिङ’ प्रचलन छ। अघिल्ला सबै प्रधानमन्त्रीले भ्रमणमा निस्किनुअघि राष्ट्रपतिसँग भेट गर्थे। तर, शाहले त्यो अभ्यासलाई निरन्तरता दिएनन। यसलाई राप्रपा नेतृ खुश्बु ओलीले भने राजसंस्थाको बहसको सान्दर्भिकतासँग जोडेकी छन् ।उनले प्रधानमन्त्रीको उक्त व्यवहारले राजसंस्थाको औचित्यबारे बहसलाई पुनः सान्दर्भिक बनाएको दाबी गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले विदेश भ्रमणअघि राष्ट्रप्रमुखलाई भेट्ने परम्परा तोडिएको विषय उठाएकी हुन् । उनले राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई उचित सम्मान र मर्यादा दिन नसक्ने व्यवस्थाबारे प्रश्नसमेत गरेकी छन् । ओलीले गणतन्त्रले निर्माण गरेको संस्थागत संरचनामाथि प्रश्न उठाउँदै देशलाई शक्तिशाली प्रधानमन्त्री मात्र नभई राज्यका सबै संस्थालाई मर्यादामा राख्ने अभिभावकीय राजसंस्था पनि आवश्यक रहेको बताएकी छन् । उनले राजा भएको भए प्रधानमन्त्रीले राष्ट्रप्रमुखको गरिमा बेवास्ता गर्दै यसरी अघि बढ्न सक्ने थिए कि थिएनन् भन्ने प्रश्नसमेत गरेकी छन् ।
यस्तै भ्रमणका क्रममा समस्या नपरोस् भनेर प्रधानमन्त्रीले परराष्ट्र मामिलाका जानकारहरू, विज्ञलगायतसँग पनि छलफल गर्ने प्रचलनलाई शाहले अगाडि बढाएनन्। भारत भ्रमणमा जाँदा उठानुपर्ने विषयबारे उनले सामूहिक छलफल नै गरेनन्। प्रधानमन्त्री विदेश भ्रमणमा निस्किँदा विमानस्थलमा नेपाली सेनाले सलामी दिने प्रचलन छ। तर, शाहले यसमा रुचि देखाएनन् । विमानस्थलमा विदाइमा हुने लावालस्करसहितको लाइन पनि उनको भ्रमणमा देखिएन । विमानस्थलमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवत्ता जगदिश खरेलले मात्रै बिदाइ गरेका थिए । उता भारतले दिने सम्मान ‘गार्ड अफ अनर’मा भने प्रधानमन्त्री शाह सहभागी हुने कार्यक्रम छ। यस्तै प्रधानमन्त्रीको भारत भ्रमण दल पनि यसपटक सानो देखिएको छ। उनको भ्रमण दलमा जम्मा ३५ सदस्य मात्रै रहेका छन् ।
विगतका प्रधानमन्त्रीहरूले भारतको राजकीय भ्रमणमा जाँदा कम्तीमा ४७ जना लाने गरेका थिए। त्यसमा मन्त्रीहरूको संख्या पनि धेरै हुने गरेको थियो। तर यसपटक प्रधानमन्त्री शाहले अर्थ र परराष्ट्रमन्त्री मात्र साथमा लगेका छन् । शाह भारत भ्रमणमा सबैभन्दा छोटो समय बिताउने मुलुकको पहिलो प्रधानमन्त्री हुँदै छन्। किनकि विगतका प्रधानमन्त्री ३ देखि ६ दिनसम्म राजकीय भ्रमण तय गरेर तीर्थाटनसमेत गर्ने गर्थे। तर, हिजो अपरान्ह दिल्ली ओर्लिएका प्रधानमन्त्री आज साझ स्वदेश फर्किनेछन् । यस्तै प्रधानमन्त्री बनेको अहिलेसम्मकै लामो समयपछि मात्र उनले राजकीय भ्रमण गरेका छन् । प्रधानमन्त्री बनेलगत्तै छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली अभ्यास पनि शाहले तोडेका छन्। २०८२ चैत १३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका उनी ८ महिनापछि मात्र राजकीय भ्रमण गरेका छन् । यसअघिका प्रधानमन्त्रीले पद सम्हालेको बढीमा ४ महिनाभित्रै भारत भ्रमण गरेका थिए। बालेन भने एक वर्षसम्म विदेश भ्रमणमा नजाने अडानमा थिए ।



