७ मंसिर , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विकास, ऊर्जा, पूर्वाधार, सुरक्षा, स्वास्थ्य तथा प्रविधिसहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सहमति र समझदारी भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र विकासका लागि २४ हजार करोड अर्थात् करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गरेका छन्।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकासमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो। सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने बताएका छन्।

उनले नेपाल–भारत सम्बन्धलाई छिमेकीको सम्बन्धमा मात्र सीमित नराखी अटुट विश्वास, आपसी सहयोग र साझा सांस्कृतिक सभ्यतामा आधारित सम्बन्धका रूपमा व्याख्या गरेका छन्। भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रलाई समेटेर समझदारी गरिएको हो। यसले दुई देशबीच सुरक्षा, प्रशासन, प्रविधि, स्वास्थ्य र कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा गुजरातस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य हुनेछ। त्यस्तै, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ।
भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण दिनेछन्। आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन्।
प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरो र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ। यसैगरी, दिगो सहरी विकास, स्वास्थ्य सेवा, पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासमा पनि सहकार्य गरिनेछ।
ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरिएको छ। सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको विकास भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनीमार्फत निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण अर्थात् बुट ढाँचामा गरिनेछ।
आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ भने २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ। आयोजनाबाट नेपालले विद्युत्, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।
साथै, रोजगारी सिर्जना र स्थानीय पूर्वाधार विकासमा पनि योगदान पुग्ने विश्वास गरिएको छ। यसैगरी, भारतको सहयोगमा अघि बढाइएका चारवटा परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरिएको छ।
भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासामा एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र तल्लो अरुण आयोजनाको शिलान्यास गरिएको हो। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको भने उद्घाटन गरिएको छ।
यस परियोजनाबाट भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ल्याउन थालिएको छ। नेपाल–भारत पेट्रोलियम पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिइएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माण गर्ने योजना अघि बढाइएको छ भने मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण विस्तार गरिएको छ।
त्यस्तै, बनबासा–दोधारा चाँदनी क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणको काम अघि बढाइने भएको छ। सीमा तथा सडक सम्पर्क विस्तारका विषयमा बोल्दै मोदीले उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासामा पूर्वाधार विकासका काम अघि बढिरहेको बताए।
बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न प्रदेशलाई नेपालसँग जोड्ने सडक तथा रेल सञ्जाल विस्तार गर्ने योजना पनि उनले सुनाए। यी परियोजनाले दुई देशबीच व्यापार, पारवहन तथा नागरिकको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुरधाम र अयोध्या जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको पनि प्रधानमन्त्री बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका छन्। नयाँदिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरिएको रेल सेवाले भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्नेछ।
यसबाट नेपाल र भारतका तीर्थयात्री तथा पर्यटकलाई दुवै धार्मिक स्थलमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसले अयोध्या र मिथिलाबीचको शताब्दीयौँ पुरानो सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनलाई भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे पनि जानकारी गराएका छन्। सन् २०२१ मा सुरु गरिएको उक्त योजनाले सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर तथा विद्यार्थीका लागि नयाँ सम्भावनाका रूपमा पुग्नुपर्ने उनको भनाइ थियो।
उद्यमीले बजार र लगानी विस्तार गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा पनि उनले जोड दिएका छन्। प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। मोदीले पनि नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन विकास, समृद्धि र आपसी सहयोगका नयाँ सम्भावनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



