९ मंसिर , काठमाण्डौ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पेसी तोकियो ।
उनको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानद्वारा सर्वोच्च अदालतमा रिट निवेदन दायर ।

आनिको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको भन्दै अभियानले त्यसको वैधानिकतामाथि प्रश्न उठायो।
सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार नभएको दाबी ।
अभियानका अभियन्ता अजय सोडारीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि कानुनी वैधता परीक्षणका लागि सर्वोच्च अदालत पुगेको बताए ।
मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयअनुसार आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी थिइन्। उनले मंसिर २ गते पदबहालीसमेत गरिसकेकी छन्।



