९ मंसिर , काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी समेटिएका छन् । १० फ्रेन्चाइज टोलीमा जम्मा ६६ खेलाडीको स्थान खाली रहेकाले अक्सनमा प्रतिस्पर्धा कडा हुने देखिएको छ । खाली स्थानमध्ये २५ विदेशी खेलाडीका लागि छुट्याइएको छ । त्यसैले नाम दर्ता गराएका धेरै विदेशी खेलाडीले टोलीमा स्थान नपाउने सम्भावना छ । बीसीसीआईका अनुसार १० टोलीले अक्सनअघि नै १८४ खेलाडीलाई टोलीमा कायम राखेका वा अनुबन्ध गरिसकेका छन्। ती खेलाडीमध्ये ५५ विदेशी छन् । फ्रेन्चाइज टोलीहरूले खेलाडी अनुबन्ध गर्न कुल १ हजार ४ करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरिसकेका छन्। अब उनीहरूसँग खेलाडी खरिदका लागि २९५ करोड ६० लाख रुपैयाँ बजेट बाँकी छ ।
विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया पहिलो स्थानमा छ । अस्ट्रेलियाबाट ५३ खेलाडीले नाम दर्ता गराएका छन् । दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडी दर्ता भएका छन् । त्यस्तै, श्रीलंकाबाट २१, इंग्ल्यान्डबाट १६, बंगलादेशबाट १२, अमेरिकाबाट १३, यूएईबाट १० र नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका छन् । आयरल्यान्डबाट सात, जिम्बाब्वेबाट ६, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडी दर्ता भएका छन् । प्रारम्भिक दर्ता सूचीमा १८४ क्याप्ड, ९९४ अनक्याप्ड र एसोसिएट राष्ट्रका ४२ खेलाडी रहेका छन्। अनक्याप्ड खेलाडीमध्ये ९२५ जना भारतीय छन् । उनीहरूमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् भने ७९८ जना पहिलोपटक प्रतियोगितामा अवसर पाउने आशामा छन् ।त्यस्तै, विदेशी खेलाडीमध्ये ६९ जना अन्तर्राष्ट्रिय खेलमा क्याप नपाएका खेलाडी छन् । अक्सनका लागि नाम दर्ता गराउँदैमा सबै खेलाडी अन्तिम सूचीमा पर्ने छैनन् । प्रारम्भिक सूचीबाट फ्रेन्चाइज टोलीहरूले आफूलाई आवश्यक खेलाडीको नाम छनोट गरी बीसीसीआईलाई पठाउनेछन् । बीसीसीआईका अनुसार अन्तिम अक्सन सूची र खेलाडीको समूह डिसेम्बर ४, २०२६ मा सार्वजनिक गरिनेछ । त्यसपछि मात्र १० टोलीले अक्सनमा कुन–कुन खेलाडीका लागि बोली लगाउन पाउनेछन् भन्ने टुंगो लाग्नेछ ।यसैबीच यत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफीसहित आफ्नै प्रदेशमा भव्य ‘ट्रफी टुर’ गर्ने भएको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा उपाधि चुमेपछि टोलीले उक्त ट्रफी सुदूरपश्चिमका विभिन्न सहरहरूमा समर्थकमाझ पु¥याउने तयारी थालेको हो । अघिल्ला दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा सानदार प्रदर्शन गर्दै पहिलोपटक एनपीएलको उपाधि हात पारेको हो । उपाधि जितेर इतिहास रचेपछि टोलीले ट्रफीसहितको तस्बिर सार्वजनिक गर्दै स्थानीय डोटेली लवजमा सुदूरपश्चिमवासीलाई खुसीयाली मनाउन र ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।
टोलीले सामाजिक सञ्जालमा लेखेको छ– ‘काठमाडौ मि सुदुरकी गुंज गज्जब सुणियो! आब ट्रफी सुदुर औन्नछ, सुदुरकी गुंज बिश्व ले सुण्या छ । एकफेर आजि धेखाइदिनु पुइ सुदुर–शक्ति !!! सुदूरपश्चिम गेट रेडी दिस ईज गोइङ टू बी बिग !’(अर्थात काठमाडौमा सुदूरको गूँज गज्जब सुनियो! अब ट्रफी सुदूर आउँदैछ, सुदूरको आवाज विश्वले सुनेको छ। फेरि एकपटक सुदूर–शक्ति देखाइदिनुप¥यो! सुदूरपश्चिम तयार रहू, अब ठूलो उत्सव हुँदैछ!) । रोयल्स व्यवस्थापनका अनुसार च्याम्पियन ट्रफीलाई कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका मुख्य सहरहरूमा बाजागाजा र ¥यालीसहित प्रदर्शन गरिनेछ। ट्रफी टुरमार्फत टोलीलाई निःस्वार्थ साथ दिँदै आएका स्थानीय समर्थकहरूसँग ऐतिहासिक जितको उत्सव मनाइने बताइएको छ । सुदूरपश्चिमको पहिचान र क्रिकेट क्रेजलाई विश्व मञ्चमै पु¥याएको भन्दै रोयल्सको यस आह्वानपछि स्थानीय क्रिकेटप्रेमीहरू ट्रफीलाई भव्य स्वागत गर्न उत्साहित बनेका छन्। ट्रफी टुरको औपचारिक तालिका र रुट भने सार्वजनिक भएको छैन । यसैबीच एनपीएलको अबको संस्करण दुई वा त्यो भन्दा धेरै मैदानमा ‘होम एन्ड अवे’ लागू गर्ने तयारीसहित छलफल भएको छ । खेलकुदमन्त्री सस्मित पोखरेलले एनपीएलको अब हुने चौथो संस्करणदेखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने गरी क्रिकेट रङ्गशाला निर्माणको तयारी अघि बढाउन फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलवार छलफल गरेका थिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठ वटै फ्रेन्चाइज टोलीका आफ्नै सुविधासम्पन्न रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयनबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो । छलफलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए । छलफलमा मन्त्री पोखरेलले एकै पटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा व्यावहारिक योजना बनाएर चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानबाट घरेलु तथा बाह्य मैदानमा खेल सञ्चालनको अभ्यास शुरु गरी पाँचौँ र छैटौँ संस्करणसम्म आठवटै टोलीका घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
बैठकमा क्यानका सचिव खड्काले त्रिवि मैदान र मूलपानी मैदानको विस्तृत परियोजना प्रतिवेदन परिमार्जन गरी कम लागतमा कीर्तिपुर, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्र तयार गर्न सकिने प्रस्ताव प्रस्तुत गरे । अबको सिजनमा बिहानका खेल मूलपानी र बेलुका हुने खेल फ्लडलाइटमा कीर्तिपुर मैदानमा सञ्चालन गर्न सकिने व्यावहारिक विकल्प पनि प्रस्तुत गरिएको छ । त्यसका लागि कीर्तिपुर मैदानलाई व्यवस्थित बनाउँदै मूलपानी र चितवनका रङ्गशाला निर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव थियो ।



