दानबहादुरलाई सर्वाेच्चले किन आईजीपीमा फर्किन दिएन ?(भिडिओसहित)

१० मंसिर २०८३, बिहीबार
Share this
733shares

१० मंसिर , काठमाण्डौ ।  बालेन्द्र सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम उनका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दानबहादुर सरकारविरुद्धको रिट लिएर सर्वाेच्च पुगेपछि बहुप्रतिक्षित बनेको यो रिटमाथि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार चार मुख्य आधार देखाउँदै कार्कीका पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। इजलासले अन्तरिम आदेश नदिनुको पहिलो आधारमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीले कात्तिक १८ गते नै बढुवा भई नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको तथ्यलाई औँल्याएको छ।

Advertisement

अदालतले मिसिल अध्ययनका क्रममा प्रत्यर्थीमध्येका डा. केसी नेपाल सरकारको गत कात्तिक १८ को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको देखिएको आदेशमा उल्लेख गरेको छ ।दोस्रो आधारमा प्रहरी सङ्गठनको नेतृत्व देशको शान्ति सुरक्षासँग जोडिएको सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको उल्लेख गरिएको छ। सार्वजनिक महत्त्व र शान्ति सुरक्षाको संवेदनशीलताको विषय अदालतले उल्लेख गरेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको इजलासको ठहर छ ।अन्तिम सुनुवाइमा मात्र निरूपण हुने कानुनी प्रश्न उठाइएको छ । रिट निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशको मागसँग अन्तर्निहित कानुनी प्रश्नहरू तत्काल अन्तरिम आदेशबाट नभई रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएको अदालतले स्पष्ट पारेको छ । त्यस्तै, तेस्रो आधारमा निवेदकले उठाएका कानुनी प्रश्नहरूको निरूपण अन्तिम सुनुवाइबाटै हुने प्रकृतिको देखिएको र सुविधा सन्तुलनको दृष्टिकोणबाट पनि हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा भनिएको छ। त्यस्तै, सुविधा सन्तुलनको विषयलाई अर्को आधार बनाएको छ । उल्लिखित अवस्था र तथ्यहरूको विश्लेषण गर्दै सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत निवेदन मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्षमा इजलास पुगेको हो ।अन्तरिम आदेश अस्वीकार गरे पनि अदालतले रिट निवेदनको गाम्भीर्यलाई ध्यानमा राख्दै अग्राधिकारका साथ सुनुवाइ गर्न आदेश दिएको छ। आदेशमा विपक्षीहरूबाट लिखित जवाफ पेस भएपछि वा जवाफ पेस गर्ने अवधि नाघेको सात दिनभित्रै पेसी चढाउन र उक्त पेसी स्थगित गर्न नपाउने पूर्वसूचना दुवै पक्षलाई दिन भनिएको छ। गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी नेतृत्वबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की कात्तिक १९ गते सर्वोच्च अदालत पुगेका थिए। सरकारको यो कदमलाई विसं २०५३ चैत २१ गते तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले आईजीपी अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई नियुक्त गरेको घटनासँग तुलना गरेर हेरिएको छ ।

अन्तरिम आदेश जारी नगरे पनि अदालतले मुद्दालाई उच्च प्राथमिकता दिँदै छिटो किनारा लगाउने बाटो खोलेको छ । रिट निवेदन राज्यको शान्ति सुरक्षा तथा प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित भई विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको आदेशमा उल्लेख छ । सोहीबमोजिम प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा लिखित जवाफ पेस गर्ने अवधि व्यतित भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ । निवेदक कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय र डा. केसी. समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । यसअघि कात्तिक २० गते दर्ता भएको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमै सुनुवाइ भएको थियो। पौडेलको इजलासले अन्तरिम आदेश बारे निर्णय गर्नु पहिले दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै ७ गतेका लागि पेसी तोकेका थिए। तर ७ गतेसम्म पनि आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेपछि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। उक्त दिन न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको थियो। तर दुई दिनपछि धकेलिएर बुधबार सुनुवाइ हुँदा केसीले नै निरन्तरता पाउने गरी आदेश भएको हो।

Advertisement

महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट नहटाएको दाबी गरेका थिए । सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्त कँडेलले मूल्यांकन गरेर सरकारले झन महत्त्वपूर्ण जिम्मेवारी दिएको जिकिर गरे। ‘कारबाही गरिएको होइन, उच्च मूल्यांकन गरेर झन् महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो,’ महान्यायाधिवक्ता कँडेलले थपे, ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनु पर्ने हो।’ उनले कार्कीलाई विशेष भूमिका दिएको जिकिर गरे। सर्वोच्चमा बहस गर्दै उनले भने, ‘दानबहादुर कार्कीलाई बर्खास्त गरिएको होइन, सरकारले विशेष परिस्थितिका कारण विशेष भूमिका दिएको हो।’ कार्कीको विशेष अनुभवको सरकारले उपयोग गर्न खोजेको उनको भनाइ थियो। ‘सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व हुँदैन। त्यहि भएर सरकारलाई उहाँजस्तो अनुभवि सुरक्षा सल्लाहकार आवश्यक प¥यो,’ कँडेलले भने, ‘अहिले पनि उहाँको सेवा सुविधा आईजीपीकै छ।’

बहसका क्रममा महान्यायाधिवक्ता कँडेलले कार्कीको प्रसंशा पनि गरेका थिए । कार्कीसँग विभिन्न आन्दोलनमा काम गरेको अनुभव रहेको उल्लेख गरे। यसमा पुरानो नजिर लागू नहुने उनको तर्क थियो । ‘उहाँसँग जेनजी आन्दोलन, मधेसमा भएको आन्दोलनमा काम गरेको अनुभव छ, सरकारले त्यो हिसाबले पनि उहाँको भूमिका सल्लाहकारमा चाहएको हो,’ उनले थपे, ‘हितेन्द्र र अच्युतकृष्ण खरेल र यो अवस्था फरक छ । त्यो नजिर लागू हुँदैन ।’ कार्कीले सर्वोच्चमा मुद्दा हाल्नु ठीक नभएको उनको जिकिर थियो। ‘अहिले मुद्दा लिएर आउनु भनेको सरकारलाई शान्ति सुरक्षा स्थापित गर्न पाउँदैनस् भनेको जस्तै हो,’ उनले जिकिर गरे।रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन् । उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो । प

त्रमा कात्तिक १८ देखि नै लागु हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख छ । सोही पत्रमा कार्यक्षेत्रगत सर्त पनि तोकिएका छन्। जसमा भनिएको छ, ‘प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने।’ पारिश्रमिक र सेवाका सर्त भने नेपाल प्रहरीको प्रहरी महानिरीक्षकसरह हुने भनिएको छ । ‘मलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जारी मिति २०८२ कात्तिक २६ को पत्रमा नेपाल प्रहरीको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको थियो। तर मलाई यो पत्रमा नेपाल सरकारको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको छ। यसरी पत्रले मलाई नेपाल प्रहरीको कमान्ड र जिम्मेवारीबाट अलग गरी केवल सल्लाह दिने भूमिकामा सीमित गरेको छ। मेरो पारिश्रमिक र सेवाका सर्त प्रहरी महानिरीक्षक सरह हुने भनिएबाटै म अब प्रहरी महानिरीक्षक नरहेको सरकार स्वयंले स्वीकार गरेको देखिन्छ’, रिटमा लेखिएको छ।

प्रहरी महानिरीक्षक पदबाट अलग गर्ने निर्णयमा कुनै ऐन, नियम वा कानुनी प्रावधान उल्लेख नगरिएको र कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे कुनै कमजोरी वा आरोपसमेत उल्लेख नगरिएको दाबी कार्कीले रिटमा गरेका छन् । ‘निर्णयको भाषाबाटै देखिन्छ कि नयाँ पद सिर्जना गर्ने, त्यसमा मलाई खटाउने र रिक्त हुने प्रहरी महानिरीक्षक पदमा अर्का व्यक्तिलाई सोही दिनदेखि बढुवा गर्ने तीनवटै प्रकरण एउटै शृंखलाका अंग हुन् र तिनको वास्तविक परिणाम प्रहरी महानिरीक्षक पद खाली गराई प्रत्यर्थी नं ४ (मनोज केसी) लाई बढुवा गर्नु मात्र हो’, निवेदनमा भनिएको छ । उनले सरकारको निर्णय र त्यसको आधारमा गरिएका पत्राचार काम कारबाही उत्प्रेषणको आदेशले बदर भई आफ्नो कार्यकालभरि पदमा काम गर्न दिनु भनी परमादेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् ।
उनले आफ्नो रिटमा यसअघि २०५३ सालमा महानिरीक्षकबाट हटाइएका अच्युतकृष्ण खरेल र २०८२ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाइएको प्रकरण पनि उल्लेख गरेका छन् ।

यी दुवै जनालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो । अच्युतकृष्ण खरेललाई हटाउँदा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अधिकृत पदमा प्रहरी अधिकृतलाई नियुक्त गर्न सकिने कानुनी व्यवस्था थियो । सरकारले पनि खरेललाई अनुसन्धान विभागको प्रमुखमै सरुवा गरेको थियो। तर सर्वोच्च अदालतले बहालवाला प्रहरी महानिरीक्षकलाई हटाउने निर्णयलाई वस्तुनिष्ठ आधारविहीन र बदनियतपूर्ण ठहर गरिएको थियो। तर अहिले त्यस्तो कानुनी आधार समेत नरहेकाले खरेलको मुद्दाभन्दा पनि स्पष्ट रूपमा अधिकार क्षेत्रविहीन रहेको दाबी उनले गरेका छन्। अब अन्तरिम आदेश नआएकाले अन्तिम फैसलामा मात्रै कार्कीलाई हटाउने निर्णय बदर हुने वा त्यसलाई सदर नै गर्ने भन्ने टुंगो लाग्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top