सीसंगको वार्तापछि पनि फेरिएन ट्रम्पको रवैया, चीनसहितका देशहरुमा नयाँ ट्यारिफ

१० मंसिर २०८३, बिहीबार
Share this
747shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै अमेरिका भित्रिने विदेशी वस्तुहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । यो नयाँ कर नीतिबाट अमेरिकाका ठूला व्यापारिक साझेदारहरू– चीन, युरोपेली संघ (ईयू) का साथै जापान, दक्षिण कोरिया, ताइवान, भारतसहित १४ वटा देश तथा क्षेत्रहरू प्रभावित हुनेछन् ।

प्रस्तावित नयाँ शुल्कअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनाममाथि ३५ प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ । यस्तै, अन्य देशहरूले २० वा २५ प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । यस सूचीमा चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत समावेश छन् ।

Advertisement

यद्यपि, राष्ट्रपति ट्रम्पले यसअघि सहमति जनाएका केही सीमाहरूका कारण कतिपय देशका लागि यो दर व्यवहारमा केही कम हुन सक्ने बताइएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि अन्य देशका व्यापारिक अभ्यासहरूमाथि अनुसन्धान थालेको थियो ।

अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले ती देशहरूको व्यापार नीतिले अमेरिकी वाणिज्य क्षेत्रमा पारेको भनिएको प्रभावसम्बन्धी विस्तृत प्रतिवेदनसहित यो प्रस्ताव सार्वजनिक गरेको हो । यूएसटीआरका जेमिसन ग्रिरका अनुसार, नयाँ शुल्कले अमेरिकी कामदारहरूका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो बाटोमा लैजानेछ।

उनले दशकौँदेखि अमेरिकाका व्यापारिक साझेदारहरूले उत्पादन क्षेत्रलाई लक्षित गर्ने, ज्याला दबाउने र बजारलाई विकृत पार्ने नीति अपनाएर अमेरिकाको उत्पादन आधार कमजोर बनाएको आरोप लगाएका छन् । अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् ।

उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन् । आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा आयातकर्ता व्यवसायीले सरकारलाई तिर्ने यो नयाँ भन्सार शुल्क तत्काल लागू हुनेछैन । सार्वजनिक परामर्श र सम्भावित सुनुवाइका विभिन्न चरणहरू पार गरेपछि आगामी वर्षदेखि मात्र यो कार्यान्वयनमा आउन सक्नेछ ।

यता सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी अर्थशास्त्रकी प्राध्यापक चाङ पाओ–लीका अनुसार सन् २०२५ को अप्रिलमा आपत्कालीन राष्ट्रपतीय शक्ति प्रयोग गरी लगाइएको शुल्कको तुलनामा यसपटकको कदम अमेरिकी कानुनअन्तर्गत बलियो कानुनी आधारमा टेकेर चालिएको छ ।

यूएसटीआरको ‘सेक्सन ३०१’ अधिकार प्रयोग गरिएकाले कानुनी चुनौती आए पनि यस्ता शुल्कहरू कायमै रहने ऐतिहासिक नजिर रहेको उनले बताइन् । यता, क्यापिटल इकोनोमिक्सका प्रमुख उत्तर अमेरिका अर्थशास्त्री स्टेफन ब्राउनले भने यो घोषणा हेर्दा जति डरलाग्दो देखिए पनि व्यवहारमा त्यति नभएको टिप्पणी गरेका छन् ।

उनका अनुसार नयाँ शुल्कले गत ग्रीष्मयाममा घोषित शुल्कलाई प्रतिस्थापन मात्र गर्ने भएकाले मूल्यवृद्धिमा यसको असर सामान्य मात्र रहनेछ। यद्यपि, अन्य अर्थशास्त्रीहरूले आयातित वस्तुमा लाग्ने करको भार व्यवसायीले उपभोक्तामा सारेमा मुद्रास्फीति बढ्ने र विश्वव्यापी व्यापार खुम्चिने चेतावनी दिएका छन् ।

यसैबिच, अमेरिकाले छुट्टै अनुसन्धानअन्तर्गत ब्राजिलबाट आयात हुने चिनी र तयारी विमानमा १० प्रतिशत भन्सार शुल्क प्रस्ताव गरेको छ। डिजिटल व्यापारजस्ता नियम परिवर्तन गर्न दबाब दिने उद्देश्यले यो कदम चालिएको भन्दै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले यसको कडा विरोध गरेको छ ।

युरोपेली आयोगले पनि नयाँ शुल्क अस्वीकार गर्दै यसअघि सहमति भएको १५ प्रतिशतको सीमा स्मरण गराएको छ। भियतनामका उपप्रधानमन्त्री बुई थान्ह सोनले नयाँ दर दुई देशबीचको आर्थिक सहकार्यको यथार्थसँग मेल नखाने प्रतिक्रिया दिएका छन् ।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी वेन्डी कटलरले धेरै साझेदार मुलुकहरूले अमेरिकी कारबाहीको निशाना आफूहरू नभई चीन हुनुपर्ने ठान्ने गरेको उल्लेख गरिन् । उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले आफ्नो खपतभन्दा बढी उत्पादन गर्छ भन्ने अमेरिकी दाबी झूटो रहेको बताउँदै नयाँ शुल्कलाई ‘राजनीतिक हेरफेर’ को संज्ञा दिएका छन् ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको कमजोर नतिजाका बाबजुद ट्रम्पले व्यापार घाटा कम गर्ने र स्वदेशी रोजगारी बढाउने लक्ष्यसहित आफ्नो नीतिलाई निरन्तरता दिएका हुन् । गत साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भए पनि आगामी जनवरी १० मा सकिन लागेको व्यापार युद्धविरामबारे कुनै घोषणा नहुँदा विश्वका दुई ठुला अर्थतन्त्रबिच तनाव अझै बढ्ने देखिएको छ ।

यसैबीच यता ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न भने आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताएका छन् । तर, कंग्रेस डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उनले दिए ।

‘न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन् । डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएर प्रशासनको सैन्य उद्देश्य हासिल गर्ने क्षमतामा सीमा लगाउन सक्ने उनको भनाइ छ ।

ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु सैन्य अभियानको मुख्य उद्देश्य रहेको बताए। तेहरानमा शासन परिवर्तन आफ्नो प्रमुख लक्ष्य नभएको उल्लेख गर्दै उनले कूटनीतिक समाधानलाई प्राथमिकता दिने बताए।

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताएका थिए । इरानको वरिष्ठ नेतृत्वमाथि भएको आक्रमणलाई महत्त्वपूर्ण घटनाक्रमका रूपमा उल्लेख गर्दै उनले नयाँ नेतृत्वलाई पहिलेभन्दा बढी तर्कसङ्गत भने पनि वार्ताप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाए ।

इरानले विगतमा सम्झौता गरेर पछि उल्लङ्घन गरेको आरोप पनि उनले लगाए । चीन भ्रमणपछि शुक्रबार बोल्दै ट्रम्पले इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पारेको आरोप लगाएका थिए । वासिङ्टनले वास्तविक सम्झौता चाहेको उल्लेख गर्दै उनले इरानले ५१ वर्षदेखि नक्कली सम्झौताको अभ्यास गर्दै आएको टिप्पणी गरेका थिए ।

इरानसँगको सम्झौताको स्वरूपले पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित पार्न सक्ने उनको भनाइ थियो । ट्रम्पले द्वन्द्वका क्रममा भएको क्षतिको लागतसमेत इरानले व्यहोर्नुपर्ने तर्क गरेका छन् । यसैबीच, पश्चिम एसियामा तनाव जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्ध थप सैन्य कारबाही गर्न अमेरिकी प्रशासनलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top